
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला–जिल्लामा चुनावी माहोल तात्न थालेको छ । मंसिर ४ गतेका लागि घोषित निर्वाचनको टिकट हत्याउन नेताहरूको दौडधूप शुरू भएको छ । टिकटका आकांक्षीहरू जनताको घरदैलोमा पनि पुगिरहेका छन् ।
बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीहरूसम्मको जिल्ला सुनसरी पनि चुनावी माहोलबाट अछुतो छैन । अघिल्लोपटक वाम गठबन्धन हुँदा समेत हावी भएको कांग्रेस यसपालि गठबन्धनको साथले हौसिएको छ भने अन्य दल पनि आ–आफ्नो हिसाबले तयारीमा छन् ।
चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा अघिल्लोपटक कांग्रेसले ३ र वाम गठबन्धनले एक सीटमा जीत हात पारेका थिए । क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका एमाले उम्मेदवार जयकुमार राई विजयी हुँदा २ बाट कांग्रेसका सीताराम महतो, ३ बाट विजय गच्छदार र ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । कार्की अहिले सञ्चार मन्त्री छन् ।
क्षेत्र नम्बर १ मा अशोक राईको दाबी, एमालेबाट को ?
२०७४ मा वाम गठबन्धनले जितेको सुनसरी १ मा कांग्रेसका उम्मेदवार थिएनन् । कांग्रेसको सहयोगमा उम्मेदवार बनेका तत्कालीन संघीय समाजवादी, फोरमका अशोक राईले २२ हजार सय २३ मत ल्याउँदा विजयी एमाले उम्मेदवार जयकुमार राईले ४४ हजार ५२८ मत पाएका थिए ।
प्रदेश १ का निवर्तमान मुख्यमन्त्री समेत रहेका भीम आचार्यले निर्वाचन क्षेत्र फेर्ने हल्ला पनि छ । निर्वाचन क्षेत्र नफेरेको खण्डमा आचार्य यसपटक एमालेबाट सुनसरी १ मा टिकटका आकांक्षी हुन् । अघिल्लोपटक उनी प्रदेश सभामा बसेका थिए ।
आचार्यका अलावा प्रदेश १ का सभामुख प्रदीप भण्डारी र बहालवाला सांसद जयकुमार राई टिकटका लागि मैदानमा छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले पत्रकार सम्मेलन नै गरेर उम्मेदवारी घोषणा गरेका छन् । आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रने र गठबन्धनबाट आफू उम्मेदवार बन्ने उनले पत्रकार सम्मेलनमा बताए ।
यो क्षेत्रमा कांग्रेसबाट मीन विश्वकर्माको चर्चा छ । कांग्रेस सचेतक समेत रहेका विश्वकर्मा केन्द्रीय सदस्य समेत हुन् । अहिले उनले समानुपातिकबाट प्रतिनिधित्व गरिरहेका हुन् । अशोक राईलाई छाड्नुपर्दा उनलाई फेरि समानुपातिकमा राखिने चर्चा छ ।
क्षेत्र नम्बर २ मा युवा उम्मेदवारको चर्चा
सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसले युवा उम्मेदवारलाई अगाडि बढाउने सम्भावना छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका राजीव ढुंगानाले चुनावको तयारी थालेका छन् ।
बहालवाला सांसद सीताराम महतो पनि देउवा पक्षकै हुन् । उनले अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार डम्मरु सुवेदीलाई झण्डै ६ हजार मतान्तरले पराजित गरेका थिए । महतोले ४१ हजार ४९५ मत ल्याउँदा सुवेदीले ३५ हजार ३ सय ४९ मत पाएका थिए।
महतोलाई समानुपातिकमा राखेर ढुंगानालाई टिकट दिलाउन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत लागिपरेको चर्चा छ ।
महतो २०७० को चुनावमा पनि सुनसरीको तत्कालीन क्षेत्र ४ बाट चुनाव जितेका नेता हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको टिकट नपाएका महतोलाई देउवाले मनोनित गर्ने आश्वासन दिएका थिए, तर हालसम्म मनोनित भएका छैनन् ।
यस क्षेत्रमा एमालेबाट रेवतीरमण भण्डारीको चर्चा छ । अर्कातर्फ भीम आचार्य पनि यो क्षेत्रमा आउन चाहेको हल्ला चलेको छ । आचार्य र भण्डारी २०७४ को निर्वाचनभन्दा अगाडि एउटै समूहमा थिए । सो क्षेत्रमा माओवादीलाई टिकट दिएपछि भण्डारी आचार्यसँग रुष्ट बनेका थिए । क्षेत्र नम्बर १ मा टिकट नपाए क्षेत्र नम्बर २ बाट उठ्ने भनेर आचार्यले आफूनिकट नेताहरूलाई भनेका छन् ।
कसको पोल्टामा जाला गच्छदारको क्षेत्र ?
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि सुनसरी– ३ बाट निर्वाचित सांसद विजय गच्छदार निलम्बित अवस्थामा छन् । उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।
मुद्दा विचाराधीन रहँदा वा दोषी करार हुँदा गच्छदारलाई पुनः उम्मेदवार बन्न बाटो खुल्ने छैन । उम्मेदवारी मनोनयन अघि नै फैसला भएर सफाइ पाएको खण्डमा मात्र गच्छदार उम्मेदवार बन्न सक्छन् ।
गच्छदार उम्मेदवार बन्न पाउने सम्भावना नगन्य रहेकाले यो क्षेत्रबाट कांग्रेसको संस्थापनइतर पक्षलाई समेटिन सक्ने चर्चा छ । चर्चामा रहेको नाम हो, प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता रहेका राजीव कोइराला ।
मुख्यमन्त्री पाएको खण्डमा प्रदेशमा बस्ने मनस्थितिमा रहेका कोइराला मुख्यमन्त्री पक्का नहुँदा प्रतिनिधि सभामा उम्मेदवार बन्न तयार छन् ।
क्षेत्र नम्बर ३ मा एमालेले भने भगवती चौधरीलाई नै उम्मेदवार बनाउने लगभग पक्का छ । पटक–पटक गच्छदारसँग पराजित भएकी उनी यसपटक गच्छदारको अनुपस्थितिमा बाजी मार्ने विश्वासमा छिन् ।
अघिल्लोपटक चौधरी गच्छदारसँग झिनो मतले पराजित भएकी थिइन् । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् ।
यो क्षेत्र गच्छदारले लगातार ६ पटक चुनाव जितेको क्षेत्र हो । उनी २०४८, २०५१, र २०५६ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम र २०७० सालको संविधान सभा निर्वाचनका मधेसी जनअधिकार अधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव जितेका थिए । फेरि कांग्रेसमा फर्किएर उनले २०७४ सालमा पनि बाजी मारे ।
ज्ञानेन्द्रबहादुर कार्कीले फेरि मार्लान् बाजी ?
सुनसरी क्षेत्र नम्बर ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्ने लगभग पक्का छ । यसअघिको चुनावमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत कार्कीलाई सहयोग गरेको आरोप एमालेकै नेताहरूले लगाउने गरेका छन् ।
उनीहरू फुपू र मामाका छोराछोरी हुन् । कार्कीलाई सहयोग गर्नकै लागि गत चुनावमा एमालेले राप्रपाबाट पार्टी प्रवेश गरेका नेतालाई टिकट दिएको भन्दै एमाले सुनसरीमा खैलाबैला भएको थियो । राप्रपा छाडेर एमाले प्रवेश गरेका रमेश श्रेष्ठले टिकट पाएका थिए । कार्कीलाई जिताउनकै लागि भण्डारीकै पहलमा श्रेष्ठलाई टिकट दिएको आरोप अहिले पनि लाग्ने गरेको छ ।
कार्कीले ३२ हजार ३४७ मत प्राप्त गर्दा तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार रमेश श्रेष्ठले २५ हजार ७५० मत मात्रै पाएका थिए । तत्कालीन अवस्थामा चुनाव हुँदा कार्की बहालवाला अर्थमन्त्री रहेका थिए ।
स्थानीय चुनावमा संस्थापनइतर पक्षलाई कमजोर पार्न भूमिका खेलेको आरोप कार्कीमाथि लागेको छ । संस्थापनइतर पक्ष उनीसँग रुष्ट छ ।
एमालेबाट भने यो क्षेत्रमा प्रदेश सांसद जगदीश कुसियतले टिकट पाउने चर्चा छ । उनी संविधान सभामा सदस्य समेत रहेका थिए ।
गठबन्धन हुँदा सुनसरीमा माओवादीले पनि एक क्षेत्र दाबी गर्न सक्छ । माओवादीले क्षेत्र नम्बर १ र २ मध्ये एउटामा दाबी गरेको छ ।
माओवादीबाट तीनजना आकांक्षी छन् । प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेल, बहालवाला सांसद रामकुमारी चौधरी र माओवादीका प्रदेश कमिटी उपाध्यक्ष शिव डाँगीको नाम चर्चामा छ । डाँगी र पोख्रेल श्रीमान् श्रीमती हुन् ।
पढ्नुहोस्, यसअघिको भागहरू :