२५ जेठ २०८३, सोमबार
प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी

मसालको पुरानो किल्ला प्यूठानको चुनाव– दुर्गा पौडेलदेखि सूर्य थापासम्म को कति बलियो ?

साउन ३, २०७९
मसालको पुरानो किल्ला प्यूठानको चुनाव– दुर्गा पौडेलदेखि सूर्य थापासम्म को कति बलियो ?

कम्युनिस्ट ‘गढ’ मानिएको प्यूठानमा आसन्न चुनावको रस्साकस्सी शुरू भएको छ । पुराना कम्युनिस्ट नेताहरू मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, वामदेव गौतम लगायतको गृहजिल्ला हो प्यूठान ।

प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेको प्यूठानमा गत निर्वाचनमा एमाले र माओवादीको साथले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजयी भएकी थिइन् । पौडेलले कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन् ।

पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए । पौडेल मोहनविक्रम सिंहकी पत्नी हुन् । प्रदेश सभातर्फ एमालेका हरि रिजाल र माओवादी केन्द्रबाट कृष्णध्वज खड्का निर्वाचित भएका थिए । रिजाल प्रदेशका पूर्व मन्त्री हुन् भने खड्का बहालवाला आर्थिक मामिला मन्त्री छन् ।

आगामी निर्वाचनमा प्यूठानमा पुरानो समीकरण नरहने अवस्था देखिएको छ । यसपटक सत्ता गठबन्धन निर्वाचनसम्म रहिरहे गठबन्धनबाट पौडेल र नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाबीच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धन नभएर छुट्टाछुट्टै उम्मेदवार बन्ने अवस्थामा एमालेबाट सूर्य थापा, कांग्रेसबाट डा. पोखरेल र जनमोर्चाबाट पौडेलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने जिल्लास्तरीय नेताहरू बताउँछन् ।

दुर्गा पौडेल

एमालेबाट प्यूठानका प्रभावशाली नेता मणिचन्द्र थापा पनि टिकटको आंकाक्षी रहेका जिल्लास्तरीय नेताहरू बताउँछन् । केपी ओली प्रधानमन्त्री रहेका बेला प्रेस सल्लाहकारको भूमिका निभाएका नेता सूर्य थापा विगत लामो समयदेखि जिल्लामा सक्रिय छन् । 

सूर्य भूगोलको राजनीतिमा अहिले भिजेर लागेका छन् । भूमिका र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने सूर्यको विशेषता छ । जतिसुकै आलोचना गरे पनि उनी सत्य कुरामा कहिल्यै डगमगाउँदैनन् ।

माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का प्रतिनिधि सभातर्फ आकांक्षी छन् । स्थानीय निर्वाचनमा जिल्लामा कांग्रेसले ३, माओवादी केन्द्रले ३, एमालेले २ र जनमोर्चाले १ क्षेत्रमा जीत निकालेका छन् ।

प्यूठानमा २०४८ देखि २०७४ सम्मका निर्वाचन कसले जिते ?

बहुदल आएपछि नेपालमा ७ निर्वाचन भए । प्यूठानमा शुरूका २ निर्वाचनमा कांग्रेसले जिते पनि त्यसपछिका सबै निर्वाचन कम्युनिस्टले जितेका छन् । २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसले जीत हासिल गर्‍यो । १ नम्बर क्षेत्रबाट कांग्रेसका शिवराज सुवेदी र २ नम्बर क्षेत्रबाट मुक्ति शर्माले जीत निकालेका थिए । 

२०५१ सालको मध्यावधि निर्वाचनमा १ नम्बर क्षेत्रबाट पुनः सुवेदी र २ नम्बर क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जिते । २०५६ सालको निर्वाचनमा भने दुवै क्षेत्रमा जनमोर्चाले जित्यो । १ नम्बर क्षेत्रबाट हरि आचार्य र २ नम्बर क्षेत्रबाट नवराज सुवेदी नै दोहोरिए । २०६२/०६३ को परिवर्तनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा २ वटा क्षेत्रमा नेकपा माओवादी केन्द्रले जीत निकाल्यो ।

१ नम्बर क्षेत्रबाट नारायण अधिकारी र २ नम्बर क्षेत्रबाट दीपक केसीले जिते । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाका २ वटै क्षेत्र एमाले जित्यो । १ नम्बर क्षेत्रबाट तत्कालीन एमालेका प्रभावशाली नेता वामदेव गौतम र २ नम्बर क्षेत्रबाट हिरा केसीले जितेका थिए ।

‘गठबन्धनलाई पराजित गर्ने गरी निर्वाचनमा केन्द्रित हुन्छौं’

नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले प्रतिनिधि सभातर्फ सूर्य थापा र मणि थापामध्ये १ जना सर्वसम्मत रूपमा उम्मेदवार बन्ने बताए ।

‘एक्लाएक्लै प्रतिस्पर्धा भए हामी प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ सहज जीत निकाल्छौं,’ अध्यक्ष विष्टले भने, ‘स्थानीय तहको मतपरिणाम हेर्दा हामी गठबन्धनभन्दा करीब ९ हजार मतले पछाडि छौं । अहिले हामी संगठन सुदृढीकरण र समीक्षा गर्दै पार्टीलाई निर्माणमा जुटेका छौं । आउँदो निर्वाचनसम्म हामी अहिले पछाडि भएको मत पूर्ति गरी गठबन्धनभन्दा बलियो बनेर जीत निकाल्नेमा ढुक्क छौं ।’ 

सूर्य थापा

उनले थपे, ‘स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध हामीले ९ पालिकामध्ये २ पालिकामा जीत निकालेका छौं । ६४ वडामा २० वडा हामीले जितेका छौं । हामी जिल्लामा बलियो छौं ।’

‘हामी केन्द्रको निर्देशन कुर्नुपर्ने अवस्थामा छौं’

नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले स्थानीय तह निर्वाचन सकिएपछि कांग्रेस सांगठनिक कार्यमा जुटेको बताए । केन्द्रको निर्देशनअनुसार अगाडि बढ्नुपर्ने अवस्था रहेको गिरी बताउँछन् ।

‘झण्डै २५ वर्ष भयो कांग्रेसले संसदीय निर्वाचन जिल्लाबाट जितेको छैन,’ सभापति गिरी भन्छन्, ‘अहिलेको स्थानीय निर्वाचनबाट हामी जिल्लामा पहिलो शक्ति बनेका छौं । संगठन पनि अहिले राम्रो बनेको छ । अब गठबन्धन भए पनि जिल्लाको टिकट हामीले पाउनुपर्छ । गठबन्धनका नाममा जनमोर्चालाई छाड्न सकिँदैन । जिल्लामा जनमोर्चा धेरै कमजोर भइसकेको छ ।’

सभापति गिरीले थपे, ‘जिल्लाबाट संघीय निर्वाचनका लागि आधा दर्जन नेताहरू आकांक्षी हुनुहुन्छ । अहिले सभापतिले यो नेता दाबेदार हो भनेर भन्न मिल्दैन ।’

‘चुनाव संगठनले जित्ने अवस्था हराउँदै गयो’

राष्ट्रिय जनमोर्चाका प्यूठानका अध्यक्ष कृष्ण खड्काले अहिलेको गठबन्धन निर्वाचनसम्म रहेमा प्यूठान जनमोर्चाले पाउने र उम्मेदवारमा पनि पौडेलकै सम्भावना बढी रहेको बताए । 

‘विगतको जीतको आधारमा प्यूठान जनमोर्चाले पाउनुपर्ने हुन्छ,’ खड्काले भने, ‘केन्द्रले के निर्णय गर्छ हामी त त्यही निर्णयानुसार अगाडि बढ्ने हो ।’ 

संगठन हेरेर निर्वाचनको परिणाम आउने अवस्था हराउँदै गएको खड्का बताउँछन् । उनी भन्छन्, ‘संगठन हेर्दा जिल्लामा राम्रो छ तर जसले आर्थिक रूपमा यताउता गर्न सक्छ, उसैले चुनाव जित्ने अवस्था आयो । हाम्रो पार्टीसँग पैसा पनि हुँदैन । उनीहरूलाई जित्न गाह्रो हुन थाल्यो । अहिले स्वच्छ राजनीति हराउँदै गयो ।’

salt training

कमेन्ट गर्नुहोस्