
भीषण गर्मीका कारण ब्रिटेनमा ताल तथा नदीहरू सुक्दै गइरहेका छन् । सुक्खापनका कारण ब्रिटेनमा करिब ७० वर्ष पहिले तालमा डुबेको एक गाउँको अवशेष देखिन थालेको छ । त्यहाँ सयौँ वर्ष पुरानो एक पुलको अवशेष पनि देखिएको छ ।
सन् १९५० को दशकमा बेटिङ्ग्स नामको एक सानो गाउँ बेटिङ्ग्स तालमा डुबेको थियो । उक्त गाउँ पश्चिम योर्कशायर पेनिन हिल्समा थियो । उक्त गाउँमा सयौँ वर्ष पुरानो एक प्याकहर्स पुल पनि थियो । उक्त पुल मध्ययुगमा निर्माण गरिएको अनुमान गरिएको छ । जब ब्रिटेनमा विकिङको कब्जा थियो, यही पुलले योर्कशायर र ल्यांकशायरलाई जोड्ने गरेको बताइन्छ ।

सन् १९५६ मा उक्त ताल वकेफिल्ड नामक शहरमा पानी लैजानका लागि बनाइएको थियो । अहिले उक्त तालमा पानीको स्तर निकै कम भइरहेको छ । उक्त तालमा पानी घटेपछि योर्कशायर वाटरले पाइपमार्फत योर्कशायरको पानी लैजान घोषणा गरेको छ । यदी उक्त तालमा योर्कशायरको पानी मिसाइएमा त्यसपछि उक्त पानी घरेलु प्रयोजनका लागि प्रयोग गर्न सकिने छैन ।
योर्कशायर पोष्टका अनुसार उक्त पानीमुनि दबेको गाउँको इतिहास निकै डरलाग्दो छ । सन् १९८९ मा उक्त इलाकामा एक शव पाइएको थियो । उक्त शवको टाउकोमा गोली लागेको थियो । तालको पानी सुकेपछि उनको मृत शरीर पाइएको थियो । परीक्षणका क्रममा उक्त शव लारेन्स विंन्स्टल भएको पत्ता लागेको थियो । हत्या गरिएको बखत उनी २३ वर्षका थिए । उक्त हत्याकाण्डको कारण हालसम्म पत्ता लागेको छैन । त्यस समय तालको पानी १२ मिटरसम्म तल गएको थियो ।
हाल उक्त तालको पानी ५० प्रतिशतभन्दा धेरै सुकेको छ । तालमा पानी सुकेपछि पुरानो गाउँ र पुलको अवशेष देखिन थालेको योर्कशायर पोष्टले जनाएको छ ।