१० साउन २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

खनाल र नेम्वाङको विरासत जोडिएको इलामको चुनावी हिसाब– एमाले विभाजनले उल्टिएला नतिजा ?

साउन २९, २०७९
खनाल र नेम्वाङको विरासत जोडिएको इलामको चुनावी हिसाब– एमाले विभाजनले उल्टिएला नतिजा ?

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि पूर्वी पहाडी जिल्ला इलाममा पनि चुनावी चहलपहल बढेको छ । पहाडको चिसोलाई चुनावी माहोलले तताउँदै लैजान थालेको छ । 

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको परम्परागत निर्वाचन क्षेत्र रहेको इलाममा यी दुईको भविष्यलाई लिएर नै बढी चर्चा भइरहेको हो ।

लामोसमय एउटै पार्टीबाट राजनीति गरेका दुई सहकर्मी अहिले अलग–अलग पार्टीमा छन् । एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता हुन् भने नेम्वाङ एमालेको उपाध्यक्ष छन् ।

२०४८ सालयताका ६ वटा निर्वाचनमध्ये ५ पटक चुनाव जितेका खनालको यसपटकको चुनावी यात्रालाई फरक ढंगबाट विश्लेषण गर्न थालिएको छ ।

इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका खनाल २०५६ सालमा पराजित भएका थिए । ०४८ र ०५१ म जितेका खनाल त्यसपछि ०६४, ०७० र ०७४ सालको चुनावमा लगातार जितेर ह्याट्रिक गर्न सफल भए ।

तर, परम्परागत रूपमा जित्दै आएको पार्टी र चुनाव चिह्न अहिले खनालको साथमा छैन । उनले कलम चिह्नबाट प्रतिस्पर्धा गर्दा विपक्षमा सूर्य चिह्नबाहक उम्मेदवार खडा हुनेछन् ।

सूर्य त्यही चिह्न हो, कुनैबेला खनाल जसको सर्वेसर्वा (अध्यक्ष) थिए ।

०७४ सालको निर्वाचनमा इलाम निर्वाचन क्षेत्र नम्बर १ मा एमाले र माओवादीको गठबन्धन हुँदा खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बनेका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत मात्रै ल्याए ।

यसपटक खनाल माओवादी र कांग्रेसको समर्थनमा फरक पार्टीबाट खडा हुनेछन् । 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको वडागत मतलाई नियाल्दा यो क्षेत्रबाट एमाले र कांग्रेसले हाराहारीमै मत ल्याएका छन् । झलनाथको पार्टी एकीकृत समाजवादी निकै मतान्तरले तेस्रो छ ।

यो क्षेत्रबाट एमालेले २६ हजार २३३ मत ल्याउँदा कांग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले ९ हजार ४ सय ८१, जसपाले १ हजार ८२९ र माओवादीले १ हजार २३५ मत ल्याएका छन् ।

एकीकृत समाजवादीले यस क्षेत्रमा ६ वटा वडा र सूर्योदय नगरपालिकाको मेयर जितेको छ ।

खनालका लागि एउटा सुखद् कुरा के हो भने यस क्षेत्रमा एमालेबाट 'हेभीवेट' उम्मेदवार खडा हुने सम्भावना कम छ । अर्कातर्फ कांग्रेससहित गठबन्धन सहकर्मीहरूको सहयोग उनको साथमा हुनेछ ।

यस क्षेत्रमा एमालेबाट एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र सूर्योदय नगरपालिकाको मेयरमा पराजित काजीमान कागतेको नाम चर्चामा छ । कागते यसअघि प्रदेशसभा सदस्य थिए । प्रदेशसभाबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उनी पराजित भए ।

उनलाई खनाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता रणबहादुर राईले पराजित गरेका हुन् ।

गठबन्धन हुँदा खनालले टिकट पाउने भन्दै कांग्रेसका नेताहरू भने अहिलेसम्म चुपचाप छन् । 

एमाले फुट्दा जित्ने आंकलन गरेर बसेका कांग्रेस नेताहरूका लागि दाँतमा ढुंगा लागेझैँ भएको छ, यो क्षेत्र । ०५६ सालमा खनाललाई पराजित गर्ने बेनुपराज प्रसाईं कांग्रेस उम्मेदवार बन्नुपर्ने आवाज कांग्रेसमा उठेको छ ।

हार्नै नजानेका नेम्वाङले जित्लान् चुनाव ?

इलाममा २०५६ सालदेखि लगातार चुनाव जितेर सांसद बनिरहेका सुवास नेम्वाङले यसपटक के गर्लान् भन्ने विषयमा जिल्लाव्यापी रूपमा चासो छ । २०४८ र २०५२ मा गरी दुईपटक राष्ट्रिय सभाको अध्यक्ष, २०५६ को संसदीय निर्वाचनमा विजयी भएका सुवास नेम्वाङ मन्त्री बनिसकेका छन् भने दुईपटक संविधानसभाको अध्यक्ष पनि रहिसकेका छन् ।

०६४ सालको संविधानसभा निर्वाचन, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।  उनी ०७४ को संसदीय निर्वाचनमा माओवादी र एमालेबीचको गठबन्धनबाट विजयी बनेका थिए । उनले त्यसबेला ३६ हजार ५१७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए । 

सो क्षेत्रमा अहिले कांग्रेस हौसिएको छ । एमाले फुटेको फाइदा उठाउने दाउमा कांग्रेस देखिन्छ । वाम किल्ला भनिएको यस क्षेत्रमा वामपन्थीकै मत लिएर चुनाव जित्ने रणनीतिमा कांग्रेस रहेको छ । कांग्रेसमा केशव थापा र भेषराज आचार्य उम्मेदवारका लागि चर्चामा छन् । यस्तै कांग्रेसका इलाम जिल्ला सभापति डम्बर खड्का पनि टिकटका लागि लबिङमा छन् ।

स्थानीय तह २०७९ को मत परिणाम अनुसार नेम्वाङको क्षेत्रमा वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा एमाले एक्लैले ३२ हजार ५२७ मत ल्याएको छ । यता गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एस र जसपाको मत जोड्दा ३६ हजार ५६२ मत हुन आउँछ । गठबन्धनले यो मतलाई प्रतिनिधि सभामा पनि दोहोर्‍याउन सकेमा नेम्वाङका लागि मुस्किल पर्ने देखिन्छ ।

तर, आफ्नो राष्ट्रिय छवि र एमालेको बलियो संगठन उनका बलिया पक्ष हुन् ।

त्यसो त कतिपयले इलाममा खनाल र नेम्वाङबीच अघोषित रूपमा सहकार्य हुनसक्ने चर्चा पनि गर्छन् । फरक–फरक पार्टीमा रहे पनि यी दुई नेताको सम्बन्ध खासै तिक्ततापूर्ण छैन ।

पढ्नुहोस्, यो पनि :

salt training

कमेन्ट गर्नुहोस्