![अल्फाबिटामा दिनभर रस्साकस्सी चल्दाको दृश्य– अनि चल्यो डोजर [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/AlfaBita_Banner_mqA79HHKsT.png)
काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीवार डोजर चलाएको छ ।
बिहीवार बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए ।
अल्फाबिटाले नक्सामा पार्किङ भनेर उल्लेख गरेको बेसमेन्टमा अनाधिकृत संरचना बनाएर फार्मेसी सञ्चालन गरिरहेको थियो ।
कम्प्लेक्समा पार्किङ नभएकाले त्यहाँ आउने सेवाग्राहीले सवारी साधन बाटोमै पार्किङ गर्ने गरेका थिए । बाटोमा सवारी पार्किङ गरिँदा बानेश्वर–बिजुलीबजार सडक खण्डमा ट्राफिक व्यवस्थापनमा समेत बाधा उत्पन्न भइरहेको थियो ।

स्वीकृत गरिएको प्रयोजनविपरीत बनाइएको संरचना हटाउन मेयर बालेन डोजरसहित पुगेका थिए । तर, शुरूमा कम्प्लेक्सका प्रतिनिधिसँग बालेनको भनाभन भयो ।
अल्फाबिटाका प्रतिनिधिले मेयर बालेनसँग नक्सा मागेपछि उनले जँगिँदै भनेका थिए, ‘तपाईंको घरको नक्सा मसित हुनुपर्छ ?’
त्यसपछि अल्फाबिटाका प्रतिनिधिले ‘नगरपालिकामा के हुन्छ त ?’ भनेर प्रतिप्रश्न गरे ।
अल्फाबिटाका प्रतिनिधिले नगरपालिकाले सूचना नदिई हठाथ संरचना भत्काउन खोजेको भन्दै प्रतिवाद गरे ।

उनले मेयर बालेन साहसँग संरचना हटाउनका लागि लिखित कागजात समेत माग गरे ।
हेर्नुहोस्, भनाभनको दृश्य [भिडियो]
त्यसपछि बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाउँदै जंगिएर भने, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? काठमाडौंमा अढाई लाख घर छन्, म सबैको घर–घरमा नोटिस लिएर पुग्न सक्छु ? त्यसैले पत्रिका सूचना प्रकाशन गरेर सबैलाई एकैचोटी जानकारी दिएको ।’

अल्फाबिटाका प्रतिनिधिले बालेनलाई तपाईं ‘डन’ हो ? भनेर समेत प्रतिप्रश्न गरेका थिए ।
दुईजनाबीचको विवाद क्षणभरमै मिडियादेखि सामाजिक सञ्जालसम्म फैलियो ।

मिडिया बोलाएर स्टन्ट गरेको आरोप ती प्रतिनिधिले लगाए । त्यसपछि उनले नक्सा र वकिल लिएर महानगरको आफिसमै आउँछु भने ।
दुईजनाको विवाद नक्सा हेर्ने बिन्दुमा पुगेर सकिएको थियो ।
अल्फाबिटाका प्रतिनिधिले आफू कानूनी प्रक्रियामा जाने बताए । उनको आशय महानगरपालिकाको कदमविरुद्ध अदालत जाने थियो ।
त्यतिबेला नक्सा नलिई गएका बालेन उक्त फार्मेसीमा सटर बन्द गर्न लगाएर यत्तिकै फर्किए ।

तत्कालै चलाइयो डोजर

बिहान विवाद गरेर फर्किएका बालेन दिउँसो २ बज्दानबज्दै फेरि डोजर लिएर अल्फाबिटा कम्प्लेक्स पुगेको थिए । त्यतिबेला उनको साथमा नक्सा पनि थियो ।
उनले अल्फाबिटाका प्रतिनिधिसहित उपस्थित सबैलाई नक्सा देखाएर अनाधिकृत रूपमा संरचना बनाइएको देखाए ।

बालेनले उक्त संरचना भत्काउन निर्देशन दिएपछि अल्फाबिटामा सञ्चालित फार्मेसीमा डोजर चलाइयो ।
दिउँसो बालेन डोजरसहित पुग्दा पनि अल्फाबिटाका प्रतिनिधिले संरचना भत्काउनका लागि केही दिन समय दिन आग्रह गरेका थिए ।
तर, बालेन कसैको आग्रह सुन्ने ‘मुड’मा देखिएनन् । अन्ततः कम्प्लेक्समा अवस्थित फार्मेसीमा डोजर चल्यो ।


मेयर बालेनले काठमाडौं महानगरपालिका भित्रका अनाधिकृत संरचना हटाउने अभियान सञ्चालन गरिरहेका छन् । उनले फूटपाथ व्यापारीलाई समेत हटाइरहेका छन् ।
महानगरले बुधवार मात्र सुन्धारास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्स लगायतमा अनाधिकृत रूपमा बनाइएको संरचनामा डोजर चलाएको थियो ।
त्यस्तै काठमाडौं महानगरपालिकाले बुधवार साँझ कोटेश्वरको फूटपाथका व्यापारीहरूलाई हटाएको थियो । अवैध संरचना हटाउन मेयर बालेन आफैँ फिल्डमा खटिएका छन् ।
अल्फाबिटाको दिनभरको तनावपछि बालेनले फेसबूकमा स्टाटस लेख्दै अवैध संरचनाहरू आफैं हटाउन अपिल गरेका छन् ।
बालेनले फेसबूकमा लेखेका छन्–
'उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?' बालेनले फेसबूकमा लेखेका छन्, 'अब उपरान्त यस्तो गर्न नपरोस् । सबैले आफैँ बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला । नक्सा जसरी पास भएको छ, त्यही अनुसार संरचना बनाइदिनुहोस् ।'