०५ साउन २०८३, मंगलबार
इरान आणविक सम्झौता

इरान आणविक सम्झौता ब्युँतिने सम्भावना : अमेरिका लचिलो बन्दा इजरालयको मुटुमा ढ्यांग्रो

भदौ १२, २०७९
इरान आणविक सम्झौता ब्युँतिने सम्भावना : अमेरिका लचिलो बन्दा इजरालयको मुटुमा ढ्यांग्रो
REUTERS Photo

इरानले अमेरिका तथा युरोपेली मुलुकहरूसँग गरेको आणविक सम्झौता सन् २०१८ मा तत्कालीन डोनल्ड ट्रम्प प्रशासनले धुजाधुजा बनाएको भए पनि अमेरिका त्यसमा पुनः जोडिन लागेको खबरहरू आएका छन् । 

गत १६ महिनादेखि उक्त सम्झौताको दोस्रो संस्करणलाई मूर्त रूप दिनका लागि युरोपेली संघका प्रतिनिधिहरू इरानी प्रतिनिधिसँग अस्ट्रियाको राजधानी भिएनामा वार्ता गरिरहेका छन् । इरानले अमेरिकासँग सोझै वार्ता गर्न नमानेकाले अमेरिकाको प्रतिनिधित्व युरोपेली संघले गरिरहेको छ । 

वार्तामा बेलायत, फ्रान्स, जर्मनी, रुस र चीनका कूटनीतिकर्मीहरू पनि सहभागी छन् । नयाँ सम्झौताको अन्तिम पाठ तयार पार्नका लागि घनीभूत वार्ता चलिरहेको बताइएको छ । 

जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन नाम दिइएको आणविक सम्झौता (विद्युत् उत्पादन लगायत नागरिक प्रयोजनका लागि मात्र आणविक भट्टीको उपयोग) लाई ब्युँताउनका लागि इरानले तेर्स्याएका विभिन्न शर्तहरू फिर्ता लिएको बताइएको छ । 

सीएनएनले दिएको खबरअनुसार, इरानले आफ्नो रिभोल्युसनरी गाड्रस कोर्प्सलाई अमेरिकी परराष्ट्र मन्त्रालयको विदेशी आतंकवादी संगठनको सूचीबाट हटाउन राखेको माग फिर्ता लिएको छ । 

त्यससँगै उक्त संगठनसित जोडिएका विभिन्न कम्पनीहरूलाई कालोसूचीबाट हटाउने माग पनि इरानले फिर्ता लिएको छ । अनि सन् २०१९ मा इरानी भट्टीहरूमा भेटिएका अघोषित आणविक सामग्रीको अनुसन्धान इन्टरनेसनल एटमिक इनर्जी एजेन्सीले गरिरहेकोमा त्यो रोक्नुपर्ने भनी इरानले माग राखेकोमा त्यसबाट पनि पछि हटेको छ । अमेरिकी अधिकारीहरूले यसरी इरान लचिलो बन्दै जाँदा आणविक सम्झौता ब्युँतिन सक्ने आशा गरेका छन् । 

आफ्ना मागहरूमा लचिलो बनेको इरान आर्थिक प्रत्याभूति तथा प्रतिबन्धबाट राहतका लागि राखेको मागमा चाहिँ अडिग छ । त्यस मागका विषयमा अमेरिकी अधिकारीहरूले सार्वजनिक टिप्पणी गरेका छैनन् तर उनीहरू लचिलो बनेको देखिन्छ । 

सन् २०१५ मा आणविक सम्झौता हुँदा इरानले पाएको राहतकै अनुपातमा अहिले पनि राहत दिइन सक्ने बताइएको छ । त्यसका लागि अमेरिकी र इरानी पक्षले सुदृढ निर्णय लिएमा सबै कुरा मिल्न सक्ने युरोपेली संघका परराष्ट्रनीति प्रमुख जोसेफ बोरेल बताउँछन् । चार चरणमा गरी आणविक सम्झौता ब्युँताइने बताइएको छ ।

इरान आणविक सम्झौता ब्युँतन लाग्दा इजरायलको मुटुमा चाहिँ ढ्यांग्रो ठोकिएको छ । यस सम्झौतामार्फत इरानले आणविक हतियार बनाउन वस्तुतः छुट पाउने र इजरायलको अस्तित्व नै खतरामा पर्ने इजरायलीहरूको बुझाइ छ । त्यसैले इजरायलका प्रधानमन्त्री याइर लापिडले अमेरिकाको बाइडन प्रशासनलाई सम्झौता वार्ता त्याग्न अनुरोध गरेका छन् । 

यसबाहेक इरानले आणविक सम्झौताबाट भविष्यको अमेरिकी प्रशासन पुनः एकपक्षीय रूपमा ननिस्किने प्रत्याभूति खोजिरहेको छ । बाइडन प्रशासनले सम्झौताबमोजिमका दायित्व आफूले पालन गर्ने तर आफूपछिका प्रशासनले यसलाई पालन गर्नैपर्छ भन्ने विषयमा कानूनी प्रत्याभूति दिलाउन नसक्ने बताएको छ । 

सम्झौता कसैगरी भविष्यमा पुनः भंग भएछ भने त्यसले आफ्नो अर्थतन्त्रलाई असर नपार्ने प्रत्याभूति इरानले खोजिरहेको छ ।  

इरान आणविक सम्झौता ब्युँतन लाग्दा इजरायलको मुटुमा चाहिँ ढ्यांग्रो ठोकिएको छ । यस सम्झौतामार्फत इरानले आणविक हतियार बनाउन वस्तुतः छुट पाउने र इजरायलको अस्तित्व नै खतरामा पर्ने इजरायलीहरूको बुझाइ छ । त्यसैले इजरायलका प्रधानमन्त्री याइर लापिडले अमेरिकाको बाइडन प्रशासनलाई सम्झौता वार्ता त्याग्न अनुरोध गरेका छन् । 

सम्झौता ब्युँतिएपछि इरानले लगभग १०० अर्ब डलर बराबरको सहयोग पश्चिमबाट प्राप्त गर्नेछ । त्यस रकममार्फत इरानले पश्चिम एसियामा अस्थिरता जन्माउने गतिविधि गर्न सक्ने चेतावनी इजरायलले दिएको छ । 

तर इजरायलको यो आशंका निराधार रहेको इरानले बताएको छ । इरानलाई आणविक हतियार कार्यक्रम सञ्चालन गर्ने कुनै आवश्यकता नरहेको इरानी अधिकारीहरू बताउँछन् । आणविक हतियारविरुद्ध इरानी आयातोल्लाह खमेनीले फतवा जारी गरेका छन् । 

अनि इरानले इजरायल जस्ता शत्रुबाट आफ्नो सुरक्षाका लागि परम्परागत हतियार काफी रहेको बताउने गरेको छ । इरानका सटीक प्रहार गर्ने क्षमता भएका क्षेप्यास्त्रहरूले इजरायलको कुनै पनि स्थानलाई तारो बनाउन सक्ने युरोपेली पत्रकार एलिजा जे म्याग्नियर लेख्छन् । 

तर इजरायलले यस सम्झौतालाई भंग गराउनका लागि प्रयास जारी राखेको छ । त्यहाँका रक्षामन्त्री बेन्नी गान्ज यसै साता अमेरिकाको भ्रमणमा जाँदैछन् । त्यहाँ उनले अमेरिकी अधिकारीहरूसँग पछिल्लो घटनाक्रमका विषयमा कुराकानी गर्नेछन् । 

अमेरिकामा विपक्षी रिपब्लिकनहरूले यस सम्झौताको विरोध गरेको भए पनि यसलाई रोक्नका लागि उनीहरूसँग दुवै सदनमा बहुमत पुग्दैन । अनि बाइडनलाई मध्यावधि निर्वाचनअघि आफ्नो परराष्ट्रनीतिले एउटा मात्र भए पनि सफलता प्राप्त गरेको देखाउनुछ । त्यसैले इजरायली पैरवीका बावजूद सम्झौता ब्युँतन सक्ने सम्भावना छ ।

पश्चिमसँग आणविक सम्झौता सफल भएछ भने पनि इरान पूर्वतर्फ नै ढल्कन खोजिरहेको विश्लेषकहरू बताउँछन् । ट्रम्पले आणविक सम्झौताबाट अमेरिकालाई हटाएपछि इरानका आयातोल्लाहले पूर्वसँग सम्बन्ध बढाउन इरानी अधिकारीहरूलाई निर्देशन दिएका दिएका थिए । फलस्वरूप, अहिले रुस र चीनसँग इरानले सम्बन्ध घनीभूत बनाउन खोज्दैछ । 

रुस र चीनको आधिपत्य रहेको शांघाई कोअपरेसन अर्गनाइजेसनको सदस्य बन्न इरान तयार छ । त्यस्तै ब्रिक्समा पनि जोडिन उसले निवेदन दिएको छ । 

पश्चिमको अडानविपरीत इरानले युक्रेन युद्धका लागि रुसको निन्दा गर्न मानेको छैन भने नेटोको आक्रामक विस्तार नै युक्रेन युद्धको कारण भएको भन्ने रुसको भाष्यलाई दोहोर्‍याएको छ । 

अझ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक महिनाअघि इरान भ्रमण गरी दुई देशबीचको आर्थिक सहकार्य बलियो बनाउने कोशिश गरेका छन् । दुवै देशले इरानमा ऊर्जा विकासका नयाँ परियोजनामा काम गर्ने सहमति गरेका छन् । 

दुई देशले एकअर्कासँग तेलमा कारोबार गर्ने सम्झौता पनि गरेका छन् । उक्त सम्झौताबमोजिम रुसको कच्चा तेल क्यास्पियन सागर हुँदै इरानको उत्तरी भेगमा पुग्छ भने इरानले आफ्नो दक्षिणी भागमा भएको तेलमार्फत त्यसको भुक्तानी गर्छ । 

त्यस्तै चीनसँगको २५ वर्षे सहकार्य सम्झौतालाई पनि इरानले उच्च महत्त्व दिएको छ । तेलको सबभन्दा ठूलो ग्राहकका रूपमा रहेको चीनलाई तेल बेच्ने अनि आफ्नो क्षेत्रमा चीनलाई रणनीतिक उपस्थिति कायम गर्नका लागि सहायता गर्ने इरानको उद्देश्य छ । 

अनि भारतसँग पनि दीर्घकालीन सम्झौता गर्नका लागि इरान इच्छुक देखिएको छ । दुई देशले इरानमा रहेको चाबहार बन्दरगाहको विकासमा दीर्घकालीन लगानी गर्न खोजेका छन् । भारतले यसरी पहिलोपटक विदेशमा बन्दरगाह परियोजनामा काम गर्न खोजेको छ । 

त्यो सञ्चालनमा आउन सकेमा भारतलाई वस्तु आयातमा मूल्य तथा समय दुवैको बचत गर्ने अवसर प्राप्त हुनेछ । त्यति मात्र नभई पाकिस्तानको बाटो छलेर अफगानिस्तानसँग सिधै सम्पर्क राख्नका लागि पनि चाबहार बन्दरगाहले भारतलाई सहज बनाउनेछ ।

अनि रुसबाट भारतसम्म आउने बृहत्तर सम्पर्क सञ्जाल इन्टरनेसनल नर्थ साउथ ट्रान्सपोर्ट कोरिडोरको केन्द्रमा पनि इरान छ । भारतलाई बहुपक्षीय सम्बन्ध विस्तारको रणनीति अपनाएर आपूर्ति शृंखलाका अवरोध छल्न पनि यस कोरिडोरले मद्दत गर्ने भएकाले इरानसँगको सुमधुर सम्बन्ध दीर्घकालीन हितमा देखिन्छ । अनि इरानका लागि भारतको ठूलो बजार पनि आर्थिक पुनरुत्थानको राम्रो माध्यम बन्नेछ । 

इरान पूर्वतर्फ ढल्कनु तर्कसम्मत पनि छ किनकि उससँग कारोबार गर्न युरोपेली कम्पनीहरू भन्दा पनि एसियाली कम्पनीहरू इच्छुक देखिएका छन् । जेनेभा सेन्टर फर सिक्योरिटी पोलिसीका फेलो अली अहमदीका अनुसार, चीन, भारत, टर्की, मलेसिया र कतार जस्ता मुलुकहरू इरानी बजारमा प्रवेश पाउन इच्छुक देखिन्छन् । युरोपेली कम्पनीहरू चाहिँ इरानमाथिको प्रतिबन्ध हटेपछि पनि इरानी कम्पनीहरू त्यहाँको सेनासँग जोडिएका छन् कि छैनन् भन्ने विषयमा माथापच्ची गरिरहनेछन् । 

बाइडन उपराष्ट्रपति छँदा ओबामा प्रशासनले गरेको आणविक सम्झौतामा फर्किन बाइडनलाई मन लाग्नु स्वाभाविक हो । त्यसमाथि रुस–युक्रेन द्वन्द्वका कारण रुसमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि विश्व बजारमा गैररुसी तेलको प्रवाहका लागि पनि इरानसँग सम्झौतालाई बाइडन प्रशासनले उच्च महत्त्व दिएको छ । 

सम्झौता अन्तिम चरणमा पुगेको भए पनि सफल नै हुन्छ भन्नेमा विभिन्न शंका गरिएका छन् । 

अघिल्लोपटक अमेरिका आणविक सम्झौताबाट बाहिरिएपछि इरानले आणविक हतियार बनाउन सकिने गरी युरेनियम संवर्धन गर्न थालेको थियो । इजरायलले त अबको दुई वर्षभित्र इरानसँग आणविक हतियारको भण्डार नै हुने बताएको छ । 

त्यसैले आणविक सम्झौताको आडमा प्रतिबन्ध पनि फुकुवा हुने अनि इरानले आणविक हतियार पनि बनाउने स्थिति नआओस् भन्नेमा अमेरिका सचेत रहेकाले सम्झौतालाई अन्तिम रूप दिन गाह्रो परिरहेको हो । 

तर बाइडन उपराष्ट्रपति छँदा ओबामा प्रशासनले गरेको आणविक सम्झौतामा फर्किन बाइडनलाई मन लाग्नु स्वाभाविक हो । त्यसमाथि रुस–युक्रेन द्वन्द्वका कारण रुसमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि विश्व बजारमा गैररुसी तेलको प्रवाहका लागि पनि इरानसँग सम्झौतालाई बाइडन प्रशासनले उच्च महत्त्व दिएको छ । 

अनि प्रतिबन्धले इरान सरकार धराशायी नभएको यथार्थले पनि अमेरिकालाई पिरोलिरहेको छ (उत्तर कोरियाको हकमा पनि त्यही कुरा लागू हुन्छ) । उता इरानलाई पनि आफूमाथि लागेको कठोर प्रतिबन्धबाट राहत चाहिएको छ । 

यसरी दुवै पक्षका लागि आणविक सम्झौतामा फर्किने आफ्नै स्वार्थ छन् । त्यसैले अनेकौं कठिनाइका बावजूद यो सम्झौता ब्युँतिने आशा गर्न सकिन्छ । त्यसमा असफलता प्राप्त भएमा ती दुई देश मात्र नभई सम्पूर्ण विश्व नै सुरक्षा खतरा तथा महंगीको मारमा पर्न बाध्य हुनेछ । 

पढ्नुहोस् यो पनि :


 

salt training

कमेन्ट गर्नुहोस्