२१ असार २०८३, आइतबार

अमेरिकाको सानफ्रान्सिस्कोमा ‘सविन राई एण्ड फारोह लाइभ ब्याण्ड कन्सर्ट’ हुँदै

अमेरिकाको सानफ्रान्सिस्कोमा ‘सविन राई एण्ड फारोह लाइभ ब्याण्ड कन्सर्ट’ हुँदै

केही सातायता अमेरिकामा पप स्टार गायक सविन राईको लाइभ कन्सर्ट आयोजना भइरहेको छ । विभिन्न स्थानमा लाइभ कन्सर्ट आयोजना भइसकेको छ भने केही स्थानमा हुने तयारीमा छ । यसैबीच आउँदो सेप्टेम्बर ४ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा कन्सर्ट आयोजना हुँदैछ । मानापाथी इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘सविन राई एण्ड फारोह लाइभ ब्याण्ड कन्सर्ट’ हुन लागेको हो । 

सानफ्रान्सिस्कोस्थित कम्प्लेक्स डाउनटाउन ओकल्याण्डमा कन्सर्ट हुन लागेको हो । ‘हरियो वन नेपालको धन’ भन्ने नाराका साथ आयोजना हुने कन्सर्टमा प्रोजेक्ट टी, सात पञ्चानब्बे र समरण ब्यान्डले पनि प्रस्तुति दिनेछन् । 

कन्सर्ट स्थानीय समयअनुसार साँझ ८ बजेदेखि शुरु हुनेछ । कन्सर्टमा स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति दिनेछन् । 

मानापाथी इन्टरटेनमेन्टले यसअघि पनि विभिन्न सांगीतिक कन्र्सट आयोजना गर्दै आएको छ । केही समयअघि राजु लामाको लाइभ कन्र्सट पनि आयोजना गरेको थियो । राजु लामाको लाइभ ब्यान्ड कन्सर्टमा ५० हजार रुपैयाँ पहाड सरसफाइको लागि मानापाथी इन्टरटेन्मेन्टले राजु लामालाई हस्तान्तरण गरेको थियो । साथै, सुमन वाइबाको मृर्गौला प्रत्यारोपणको लागी १ हजार डलर राजु लामाको लाइभ कन्सर्टबाट जम्मा गरेर सुमन वाइबालाई हस्तान्तरण गरिएको थियो । 

गोल्डेन गेट राइड बाइकका सञ्चालक विज्ञान कोइरालाले ५ सय डलर छात्रवृत्ति विद्यार्थीलाई प्रदान गरेका छन् । विज्ञान कोइरालाले दिएको उक्त छात्रवृत्ति रिङगिन लामाले पाएकी थिइन् । टिकटको मुनाफाको १० प्रतिशत नेपालमा वृक्षारोपण कार्यक्रममा खर्च गरिने जानकारी रियाल्टर राजन कँडेलले दिएका छन् । यो कन्सर्टको होस्ट सुनिता कँडेल छिन् । यसपश्चात सविन राईले अमेरिकाका अन्य स्थानमा पनि कन्सर्ट गर्नेछन् ।
 

कमेन्ट गर्नुहोस्