विगत १० दिनदेखि अस्ट्रेलियाको डार्विनमा १६ वटा मुलुकका वायुसेनाले एक्सर्साइज ब्ल्याक पिच नामक सैन्य अभ्यास गरिरहेका छन् ।
अभ्यासमा अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, जापान, मलेसिया, नेदरल्यान्ड्स, न्युजील्यान्ड, फिलिपिन्स, दक्षिण कोरिया, सिंगापुर, थाइल्यान्ड, यूएई, बेलायत र अमेरिका सहभागी छन् ।
सेप्टेम्बर ८ सम्म चल्ने उक्त अभ्यासमा १०० भन्दा बढी विमान र २५ सयभन्दा बढी सैनिकहरू सहभागी छन् । अभ्यासका कमान्डर एयर कोमोदोर टिम आल्सोपले यस अभ्यासमार्फत विभिन्न देशबीचको सहयोग थप मजबूत हुने र क्षेत्रीय स्थिरता प्रवर्धन हुने अवसर प्राप्त भएको बताए भनी अस्ट्रेलियाको डिफेन्स न्युजले खबर दिएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना गरिने यो अभ्यास पछिल्लोपटक सन् २०१८ मा गरिएको थियो । बीचमा कोभिडका कारण आयोजना नगरिएको यो अभ्यास पुनः सञ्चालन गरी अस्ट्रेलियाले आफ्ना सहयोगी राष्ट्रहरूसँग अल्पकालीन रणनीति र प्रक्रिया साझा गर्ने अनि १६ देशका वायुसेनाबीच सहकारवाहीलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।
क्षेत्रीय स्थिरताका लागि यो अभ्यास गरिएको भनी अस्ट्रेलियाले हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य सक्रियतालाई इंगित गरेको हो । चीनले यस क्षेत्रमा आक्रामकता देखाइरहेको आरोप लगाउँदै अस्ट्रेलिया लगायतका मुलुकले आवागमन स्वतन्त्रता कायम राख्न मिलेर कारवाही गर्ने आफ्नो संकल्पको प्रदर्शन यस अभ्यासमार्फत गरेका हुन् ।
अस्ट्रेलियाले आयोजना गरेको यस अभ्यासमा अमेरिका पनि संलग्न छ र भरपूर समर्थन गरिरहेको छ । चीनको उदयलाई रोक्ने अमेरिकी हिन्द–प्रशान्त रणनीतिअनुकूल क्षेत्रीय मुलुकका सेनाको संयुक्त अभ्यास हुँदा अमेरिका खुशी हुनु स्वाभाविक हो ।
चीनलाई रोक्नका लागि आफ्नो मात्र प्रयास पर्याप्त नभएको कुरा अमेरिकालाई थाहा छ । आफ्नो समकक्षी प्रतिस्पर्धीलाई रोक्नका लागि उसले साझेदार तथा सहयोगीहरूको सञ्जाल निर्माण गर्नुपर्ने भएको छ ।
डिफेन्स न्युज डट्कमका रब विटम्यानका अनुसार, धेरैथरी मापदण्डमा हेर्दा हिन्द–प्रशान्त क्षेत्रमा अमेरिका भर्खर दौडन शुरू गर्दा चीन भने वर्षौंदेखि दौडिरहेको छ । चीनको अर्थतन्त्र अमेरिकाको भन्दा ठूलो हुन लाग्दा चीनले सैन्य आधुनिकीकरणलाई पनि तीव्र बनाएको छ ।
चीनसँग संसारको सबभन्दा विशाल जलसेना छ भने हिन्द–प्रशान्त क्षेत्रमा चीनबराबरको स्थल र वायुसेना कसैसँग पनि छैन । अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्रको सवालमा पनि चीन अमेरिकाभन्दा निकै अगाडि छ ।
ती क्षेप्यास्त्रलाई अमेरिकाको मौजुदा क्षेप्यास्त्रनिरोधी प्रणालीले रोक्न सक्दैनन् । त्यसबाहेक चीनले अमेरिकी जहाजहरूलाई खतरामा पार्नका लागि एन्टी–शिप क्षेप्यास्त्रहरू पनि तैनाथ गरेको छ ।
यी सबै कारणले गर्दा हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई एकछत्र राज गर्नबाट रोक्न अमेरिका एक्लै समर्थ नरहेको देखिन्छ । त्यस प्रयोजनका लागि उसलाई सहयोगीहरूसँग समन्वय जरूरी छ ।
त्यही समन्वयको खोजीमा युरोपेली मुलुकहरूलाई समेत अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा सशक्त उपस्थितिका लागि प्रेरित गरिरहेको छ । अमेरिका नेतृत्वको पश्चिमी सैन्य गठबन्धन नेटोले केही महिनाअघि सार्वजनिक गरेको दस्तावेजमा चीनलाई पनि नेटोका लागि खतराका रूपमा चित्रण गर्नु नै हिन्द–प्रशान्त क्षेत्रमा नेटोको विस्तारको बाटो खन्नका लागि हो ।
त्यही सिलसिलामा जर्मनीले हिन्द–प्रशान्त क्षेत्रमा सैन्य उपस्थिति जनाउन खोजेको देखिएको छ । पिच ब्ल्याक अभ्यासमा सहभागी हुन जर्मनीका १३ वटा युरोफाइटर जेट विमानहरू लगातार २४ घन्टा उडेर डार्विन पुगेको खबर छ ।
अनि सन् २०२२ को आरम्भमा जर्मन युद्धपोत बायर्न फ्रिगेट सात महिनाका लागि हिन्द–प्रशान्त क्षेत्रमा खटिएको पनि हो । पिच ब्ल्याक अभ्यास सकिएपछि जर्मन विमानहरू ताइवान नजिकैको वायुक्षेत्र हुँदै आउने बताइएकाले चीनलाई सन्देश दिने उद्देश्य पनि जर्मनीले लिएको देखिन्छ जबकि जर्मनीको सुरक्षाका लागि चीन जोखिम हुँदै हैन । रुस–युक्रेन द्वन्द्वमा युक्रेनलाई चाहेजति सहयोग गर्न नसकी पश्चिमलाई लज्जान्वित गराएको आरोप जर्मनीलाई लागेपछि शायद त्यसको क्षतिपूर्ति गर्न पनि ऊ हिन्द–प्रशान्त क्षेत्रमा सक्रियता बढाउन खोज्दैछ ।
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्समा तङ स्याओचीले तयार पारेको सामग्रीमा जर्मनीलाई अमेरिकाको पछि लागेर चीनविरुद्धको खेलमा सहभागी नहुन भनिएको छ । त्यसले पनि यस अभ्यासमा अन्य युरोपेली मुलुकहरूको तुलनामा जर्मनीको सहभागितालाई चीनले बढी चासो दिएर नियालिरहेको देखिन्छ ।
यस अभ्यासमा सहभागी अन्य मुलुकका पनि आ–आफ्नै स्वार्थ छन् । भारत पनि आफ्ना चारवटा सुखोई विमान लिएर अभ्यासमा भाग लिन पुगेको छ । हिमालय क्षेत्रमा चीनको चरम रणनीतिक दबाब खेपिरहेको भारतलाई आफू कमजोर नरहेको र आफ्ना सहयोगीहरूसँगको समन्वय प्राप्त रहेको सन्देश चीनलाई दिन यस अभ्यासले सहयोग गरेको भारतीय विश्लेषकहरू बताउँछन् ।
यस अभ्यासले हिन्द–प्रशान्त क्षेत्रका साथै युरोपेली मुलुकहरूलाई पनि सँगै आउने अवसर दिएकाले चीनसँग संघर्ष भएको खण्डमा यस क्षेत्रका मुलुकलाई पश्चिमको एकताबद्ध समर्थन प्राप्त गरिने आशा जगाएको देखिन्छ । चीनको सैन्य गतिविधिमा वृद्धिका कारण आफूहरूको सुरक्षामा जोखिम आइलागेको अनुभव गर्ने मुलुकहरूले अभ्यासलाई सकारात्मक रूपमा लिइरहेका छन् ।
चीनले चाहिँ यस अभ्यासलाई स्पष्ट रूपमा आफ्नो घेराबन्दीका लागि चालिएको रणनीतिक कदम मानेको छ । ताइवानमा अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले भ्रमण गरी तनाव चर्काएलगत्तै यो अभ्यास गरिनु चीनका लागि आक्रोशित बनाउने विषय भएको छ ।
अमेरिका र चीनबीचको तनाव बढिरहेको बेलामा चीनलाई लक्षित गर्दै पिच ब्ल्याक बाहेक अन्य अभ्यास पनि अमेरिका र उसका साझेदारहरूले गरिरहेका छन् ।
अमेरिकाले जापान र दक्षिण कोरियासँग मिलेर ब्यालिस्टिक क्षेप्यास्त्र खोजी तथा पहिचान अभ्यास अमेरिकाको हवाईमा सम्पन्न गरेको थियो । पसिफिक ड्रागन नामक उक्त अभ्यास अगस्ट ८ देखि १४ सम्म आयोजना गरिएको थियो ।
त्यस्तै अगस्ट २२ देखि सेप्टेम्बर १ सम्म अमेरिका र दक्षिण कोरियाले उल्ची फ्रीडम शील्ड अभ्यास गरिरहेका छन् । दक्षिण कोरियामा भइरहेको यस अभ्यासमा सैन्य विमान, युद्धपोत, ट्यांक र हजारौं सैनिकहरू समेत संलग्न रहेको अमेरिकी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
यी अभ्यासहरूमार्फत अमेरिकाले चीन (र उत्तर कोरिया) लाई उत्तेजित बनाउन खोजिरहेको चिनियाँहरूको बुझाइ छ । ग्लोबल टाइम्समा छापिएको एक सामग्रीअनुसार, अमेरिका र उसका साझेदारहरूका यस्ता अभ्यासले कोरियाली प्रायद्वीपको परिस्थिति थप बिगार्नेछ । अनि यस क्षेत्रमा हतियारको होड पनि बढाउनेछ ।
खासमा चीनलाई मनोवैज्ञानिक रूपमा दबाब दिन पश्चिमले यी अभ्यासहरू गरिरहेको देखिन्छ । यसबाट उत्तेजित भई चीनले प्रतिकारवाही गरेमा उसलाई दोषी ठहर गर्दै उसमाथिको आक्रमणलाई जायज ठहर्याउने पश्चिमको मनसुबा हुन सक्छ । तर चीनले युद्ध नभई ग्रे जोन कारवाहीमार्फत यसको जवाफ फर्काउन सक्ने विश्लेषकहरू बताउँछन् । हुन पनि चीन युद्धका लागि तयार भइसकेको भए पलोसीको भ्रमणलगत्तै ताइवान नजिक सैन्य अभ्यास मात्र नगरी युद्धै गर्थ्यो होला ।
रुससँग मिलेर चीनले पश्चिम तथा उसका साझेदारहरूलाई पनि रणनीतिक रूपमा उत्तेजित बनाउन सक्ने अनुमान कतिपयले गरेका छन् । त्यसरी उत्तेजित बनाएर कुनै गलत कदम चाल्न बाध्य पार्ने अनि त्यसविरुद्ध आफ्नो कठोर कारवाही चाल्नका लागि जायज ठहर्याउने योजना चीनले बनाउन सक्ने बताइएको छ ।
चीन र पश्चिम (अनि उसका क्षेत्रीय साझेदार) बीचको यो ‘माइन्ड गेम’ अझै केही समय चलिरहने देखिन्छ । यसमा दुवै पक्षले स्पष्ट जीत हासिल गर्न गाह्रो भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय हितलाई सम्बोधन गरेको सन्देश दिन चाहिँ उनीहरू सफल हुनेछन् ।
तर यसमा हुन सक्ने सानो गल्तीले पनि हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा संरचनालाई चाहिँ तहसनहस बनाउन सक्ने जोखिम छ ।