
बीमाको पहुँच गाउँ–गाउँका गरिब जनतासँग पुर्याउन लघु बीमा खुलाएको बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बताएका छन् । बीमा समितिले सोमवार काठमाडौंमा आयोजित गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिलवालले अहिलेसम्म लघु बीमाको पहुँच २ प्रतिशतमा मात्रै पुगेकाले यसको दायरा बढाउन खोजेको बताए ।
सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्यमा कूल बीमाको दायरामा रहेको जनसंख्यामा लघु बीमाको हिस्सा १० प्रतिशत पुर्याउनुपर्ने लक्ष्य राखेको थियो । तर, उक्त लक्ष्य पूरा हुन सकेको छैन । हाल देशको कूल सम्पत्ति तथा दायित्वको करिब २ प्रतिशत मात्र लघु बीमा भएकोले अबको वर्ष सरकारले लक्ष्य पूरा गर्न लघु बीमाको इजाजत खुला गरेको बताए ।
बीमा समितिले भर्खर सातै प्रदेशमा एक–एक कम्पनी थप गर्ने गरी नयाँ लाइसेन्स खुला गरेको पनि सिलवालले बताए । हाल नेपालमा बीमाको पहुँच ४१ प्रतिशत पुगेको छ । यसमा १० प्रतिशत दोहोरो परेको अनुमान बीमा समितिले गरेको छ ।
बीमा समितिले नया इजाजत दिँदा भएका बीमा कम्पनी मर्जरमा गएका छन् । यस्तो मर्जर बाध्यात्मक नभएको र सम्बन्धित कम्पनी स्वेच्छाले गएको पनि सिलवालले बताए । बीमा समितिले क्षमता बढाउन पुँजी वृद्धि गर्न भनेको र बीमा कम्पनीले सजिलो उपाय मर्जर खोजेको पनि सिलवालले बताए ।
बीमा समितिले ग्रामीण एवं दुर्गम भेगमा बसोबास गर्ने नागरिकले आफ्नो स–सानो रकमबाट बीमा गर्न प्रोत्साहन गरेको छ । स सानो रकमबाट आफू र आफ्नो परिवार, घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडिबुटीलगायतको बीमा गरी जोखिम बीमा कम्पनीहरूलाई हस्तान्तरणको व्यवस्था गर्नु जरूरी रहेको समितिले उल्लेख गरेको छ । यसका लागि बीमा कम्पनीहरूलाई जिल्लासमेत तोकेर निश्चित लघु बीमा गर्न समितिले पटक–पटक निर्देशन दिँदै आएको छ । तर, पनि लघु बीमा अपेक्षित रूपमा बढ्न नसकेको उल्लेख छ ।
बीमा शहरी क्षेत्रमा बसोबास गर्ने र सम्पन्न परिवारका लागि मात्र नभई ग्रामीण एवं दुर्गम क्षेत्रमा बसोबास गर्ने विपन्न वर्ग, समुदाय सबैका लागि हो सबै नागरिकले आफ्नो चाहना र आवश्यकताअनुसार बीमा गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार पनि भएको समितिले बताएको छ ।
कुल बीमाको दायरामा रहेको जनसंख्यामा उल्लेख्य मात्रामा वृद्धि भए पनि लघु बीमाको हिस्सा न्यून भएका कारण नेपाल सरकारले दुर्गम, पिछडिएका र न्यून आय भएका वर्गमा बीमाको पहुँच पु¥याउने उद्देश्यले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा लघु बीमा कम्पनी स्थापना गर्ने उल्लेख गरेको छ । सोही विषयलाई कार्यान्वयन गर्न र न्यून आय भएका तथा पिछडिएका सीमान्तकृत वर्गहरूको जीवन तथा सम्पत्तिको जोखिमविरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न उपत्यका बाहिर लघु बीमा विस्तार गर्न लागेको बीमा समितिको भनाइ छ ।
यस्तो छ बीमा समितिले एक वर्षमा गरेको काम