
ट्रिनिटी भूतपूर्व विद्यार्थी संगठन नेपाल (ट्रान) ले यस साताको आइतवार नुवाकोट बट्टार नगरपालिकास्थित बिदुर–४ मा पर्ने युनाइटेड आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले पारिवारको आर्थिक अवस्था नाजुक रहेको विद्यालयमा अध्ययनरत १२६ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
‘सबैको लागि शिक्षा, सधैंको लागि शिक्षा’ नाराका साथ कार्यक्रम सञ्चालन गरिएको संस्थाकी सचिव अभिवी दिक्षितले बताइन् । युनाइटेड आधारभूत विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म पढाइ हुँदै छ । सबै कक्षाका हरेक विद्यार्थीलाई एक–एक थान झोला, कक्षाअनुसार दुईदेखि सात वटा कापी, कलम, रंग, लगायतस्टेशनरी सामग्री वितरण गरिएको हो ।
सुकुम्बासी बस्ती नजिकै रहेको यो विद्यालयमा अध्ययनरत प्रायः विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर छ । ‘कतिपय विद्यार्थी हातमै कापी बोकेर विद्यालय पुग्छन्, कतिपय रित्तो झोला बोक्छन् भने केही विद्यार्थी शैक्षिक सामग्री नभएकै कारण विद्यालय नजाने अवस्था रहेछ,’ संस्थाकी सचिव दिक्षितले भनिन्, ‘त्यसैले हामीले आफ्नो तर्फबाट सक्ने सहयोग ग¥यौँ ।’
उनका अनुसार विद्यालय प्रशासन र वडासँगको समन्वयमा ट्रान विद्यालय पुगेका हुन् ।
पठनपाठनक्रम आवश्यक सामग्रीसँगै संस्थाले कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूलाई ‘विद्यालयसम्बन्धित लैंगिक हिंसा’ विषयमा प्रस्तुति र प्रशिक्षण दिएको थियो । कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरेर चित्रकला प्रतियोगितासमेत आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा विजयी विद्यार्थीहरूले भविष्यमा उपयोगी ‘स्केच बुक’ उपहार पाएका थिए ।
२०७४ मा स्थापित ट्रिनिटी भूतपूर्व विद्यार्थी संगठन नेपाल (ट्रान) एक गैर–नाफामूलक संस्था हो । स्थापनाकालदेखि नै यस संस्थाले विभिन्न समय अवधिमा विविध कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।