२८ असार २०८३, आइतबार

कञ्चनपुर डेंगुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

कञ्चनपुर डेंगुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

कञ्चनपुर डेंगुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेंगु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । 

गत हप्ता दोधाराचाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको थियो । दोधाराचाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका ४ जनामा डेंगु देखिएको हो ।

‘३ पुरुष र १ महिलामा डेंगु देखिएको छ,’ उनले भने, ‘पुरुष भारतबाट आएका हुन् भने डेंगु देखिएका महिलाको बुवा र दाजु पनि भारतबाटै आएका हुन् ।’

दोधाराचाँदनी भारतसँग सीमा जोडिएको ठाउँ हो । यहाँ आवतजावत बढी हुने भएकाले पनि डेंगु संक्रमणको उच्च जोखिममा छ । जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने बताए ।

‘कञ्चनपुर र कैलाली डेंगुको उच्च जोखिममा छन्, पछिल्लो समय डेंगुका बिरामी बढ्न थालेका छन्,’ उनले भने, ‘स्वास्थ्य कार्यालयको प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेंगु सार्ने प्रजाति भेटिएको छ ।’

वर्षात्मा पानी जम्ने ठाउँ, पानीको ट्यांकी, पुराना टायर लगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ । यसको वृद्धिबाट डेंगुको प्रकोप बढ्छ । ‘यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन,’ भट्टले भने, ‘अहिले डेंगु परीक्षण गर्न किट अभाव छ ।’ 

डेंगुबाट बच्न विषादी छर्किन र विषादीयुक्त झुलको प्रयोग गर्नुपर्ने हुन्छ । ‘उच्च ज्वरो, हाड जोर्नी, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन्,’ उनले भने, ‘डेंगु देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्छ ।’

गत वर्ष कञ्चनपुरमा १५ जनामा डेंगु देखिएको उनले जानकारी दिए । जिल्लामा डेंगु र मलेरियाका बिरामी देखिन थाले पनि परीक्षणका लागि किटको अभाव रहेको छ । 

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले केही दिनयता अस्पतालमा मलेरिया र डेंगुका बिरामी देखिन थालेका बताए । ‘अस्पतालमा ज्वरोका बिरामी बढेका छन्, डेंगुका बिरामी अहिले अस्पतालमा भर्ना छैनन् उपचारपछि फर्किसके,’ उनले भने, ‘गत साता डेंगुका बिरामी आएका थिए, १ जनालाई धनगढीस्थित सेती अस्पताल रेफर गरेका छौं ।’ अहिले अस्पतालमा भाइरल ज्वरोका बिरामीको अत्यधिक चाप छ ।

salt training

कमेन्ट गर्नुहोस्