११ साउन २०८३, सोमबार

शान्ति विद्यागृहको हीरक महोत्सवको तयारी पूरा

शान्ति विद्यागृहको हीरक महोत्सवको तयारी पूरा

देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औँ वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिए । शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो ।

विद्यालयको हीरक महोत्सव गत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको भण्डारीले बताए । हीरक महोत्सवअन्तर्गत भदौ १६ गते प्रभातफेरी र हाल अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम छ । 

१७ गते पूर्वविद्यार्थी, शिक्षक, सल्लाहकार, अक्षय कोषदाता र अन्य सहयोगीलाई सम्मान मायाको चिनो र सम्मान गर्ने कार्यक्रम तय भएको छ । १८ गते शनिवार स्मारिका र शान्ति कविता विमोचन, संस्थापकहरू, पूर्वप्रधानाध्यापकहरू, संस्थापक शिक्षकहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, कवि, एवं अन्य व्यक्तित्वलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम छ ।

१६ गतेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल, १७ गते त्रिभुवन विश्वविद्यालयका पूर्वउपलकुलपति शंकरराज पाठक र १९ गते पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी हुने विद्यालय व्यवस्थापनले जनाएको छ ।

शान्ति विद्यागृह गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीको घरबाट शुरु भएको थियो । एक वर्षपछि ठमेलस्थित भगवान बहालमा भाडाको घरमा सारियो । त्यहाँ करिब ३ वर्ष पठनपाठन चल्यो । त्यसपछि अहिले भवन भएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धरले बताए । 

शान्ति विद्यागृहमा स्थापनाको दिन बिहान साढे ६ बजे जनकविकेशरी धर्मराज थापाबाट सरस्वती वन्दना वाचन गर्दै प्रथम कक्षा शुरु गरिएको थियो । शुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रका करिब ३ सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्ति विद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्ति विद्यागृह कन्या प्राथमिक स्कुलपट्टि राखेर पढाइयो । २०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भयो । 

अहिले विद्यालयमा पूर्वप्राथमिक ‘ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमा अहिले ६ सय २ छात्र र ५ सय १८ छात्रा अध्ययन गरिहेका छन् । उनीहरूलाई पढाउन ७ जना शिक्षक र ३२ जना शिक्षिका छन् ।

पद्मशमशेरका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयमध्येको एक पनि हो । 

विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ । यो विद्यालयबाट निस्केका विद्यार्थी देश÷विदेशका साथै विभिन्न क्षेत्रमा स्थापित भएका छन् ।

स्थापनादेखि २०३० सालसम्म सामुदायिक रूपमा चलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालन गरियो । २०४६ सालयता भने विद्यालय पूरै सरकारी अवधारणाअनुसार चल्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्