
हरियाणाकी गायिका तथा बिग बोस फेम सपना चौधरीले केही महिनादेखि अदालतको चक्कर काट्दै आएकी छन् । उनले मंगलवार अदालतमा आत्मसमर्पण गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्राप्त जानकारीअनुसार सपना चौधरी सोमवार साँझ लखनउ पुगेकी छन् । अक्टोबर १३, २०१८ मा सब–इन्स्पेक्टर फिरोज खानले लखनऊको आशियाना पुलिस स्टेशनमा सपनासहित अन्यविरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।
सुनुवाइमा उपस्थित नभएको भन्दै अदालतले सपनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सपनालाई सुनुवाइका लागि अगस्ट २२ अदालतमा उपस्थित हुन भनिएको थियो । तर, त्यो अवधिमा उनको तर्फबाट कुनै निवेदन दिइएन, न त उनी अदालत पुगिन् । त्यसपछि अदालतले सपना चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो ।
गत वर्ष नोभेम्बर २०२१ मा पनि सोही मुद्दामा उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरे पनि सपना अदालतमा हाजिर भएर धरौटीमा छुटेकी थिइन् ।
के थियो घटना ?
रिपोर्ट अनुसार यो घटना ४ वर्ष अघिको हो । सपना विगत चार वर्षदेखि कानूनी समस्यामा छिन् । १३ अक्टोबर २०१८ मा हरियाणाकी डान्सर सपनाको नृत्य प्रस्तुति हुने कार्यक्रम तय गरिएको थियो । जसको लागि मानिसहरू पहिले नै टिकट किनेर कार्यक्रममा पुगिसकेका थिए ।
तर, सपना त्यहाँ पुगिनन् । त्यसपछि कार्यक्रम सथलमै ठूलो हँगामा भएको थियो । यति धेरै कोलाहलपछि, जब मानिसहरूले टिकटको पैसा फिर्ता मागे, उनीहरूले त्यो पनि पाएनन् । त्यसपछि उनीसहित कार्यक्रम आयोजकविरुद्ध ठगी मुद्दा दर्ता गरिएको हो ।