०६ साउन २०८३, बुधबार
प्रहरीलाई सफलता

नक्कली नामका फरार अभियुक्तलाई १६ वर्षपछि कतारबाट पक्राउ गर्दाकाे त्यो कसरत

भदौ ३०, २०७९
नक्कली नामका फरार अभियुक्तलाई १६ वर्षपछि कतारबाट पक्राउ गर्दाकाे त्यो कसरत

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विक्रम संवत् २०७४ सालमा फरार अभियुक्तहरू खोजी गर्ने क्रममा एउटा पुरानो मुद्दामा आँखा लगायो ।

करीब १६ वर्षअघि भएको एउटा घटना, जसका मुख्य अभियुक्त फरार थिए । जसको एउटा पुरानो फोटो थियो । नाम थियो – कुमार तामाङ । घर दोलखा मात्रै उल्लेख थियो तर पूरा ठेगाना उल्लेख थिएन ।

२०६३ साउन २ गते कोटेश्वरमा भएको घटना, जसले मनोज खड्काको ज्यान लिएको थियो । 

प्रहरीसँग अर्को एउटा नाम थियो ‘मुसे’ । दोलखा घर भएका मुसेको फोटो र वास्तविक नाम प्रहरी कार्यालयसँग थिएन ।

प्रहरीले मुसेलाई खोजेर पत्ता लगाउने कुरा भएन तर कुमार तामाङ भन्ने व्यक्तिको खोजी गर्‍यो । १५ वर्ष अगाडिको फोटो, त्यसमा पनि त्यो समयमा सामाजिक सञ्जाल र फोनको सहजता नभएकाले उनले प्रयोग गरेका मोबाइल लगायतका कुनै पनि प्रमाणहरू थिएनन् ।

‘हामीसँग एउटा सानो फोटो र फरक नाम मात्रै थियो । त्यसलाई कसरी पत्ता लगाउने भन्ने चुनौती थियो,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले लोकान्तरसँग भने, ‘तर हामीले त्यसलाई खोज्न छाडेनौं ।’

प्रहरीले सानो पासपोर्ट साइजको फोटो लिएर दोलखा चहार्‍यो । त्यही क्रममा प्रहरीले दोलखाबाट कुमार तामाङका आफन्त पत्ता लगायो तर उनी नै त्यो समयका मुख्य अभियुक्त हुन् कि होइनन्, त्यही नै कुमार तामाङ हुन् कि होइनन् ? उनको वास्तविक नाम हो कि होइन ? प्रहरीलाई यकिन भएको थिएन ।
 
प्रहरीले गाउँबाट पाएको सूचनाका आधारमा कुमारकी उनकी पत्नी र बहिनी पत्ता  लगायो । तामाङकी पत्नीले ती फोटोमा भएको व्यक्ति आफ्नो पति भएको तर नाम रामकुमार मगर भएको बताइन् । प्रहरीले त्यहाँबाट उनको वास्तविक नाम बल्ल पत्ता लगायो । उनको नाम पत्ता लगाउँदा २०७९ साल शुरू भइसकेको थियो ।

उनी वैदेशिक रोजगारीका लागि कतारमा रहेका तर कुन कम्पनीमा काम गर्ने, कहाँबाट गएको भन्ने सूचना रामकुमारकी पत्नीले दिन सकिनन् । 

उनले प्रहरीलाई २०५७ सालमा मागी विवाह भएको, लोकन्थलीमा बस्ने गरेको, रामकुमारले रक्सी र गाँजा खाने, कोठामा कहिले आउने, कहिले नआउने गर्ने गरेको बताइन् ।

‘विवाह भएको १५–२० दिनपछि माइत गएँ । ५–६ वर्षपछि मात्र मलाई लिन माइत आयो । आउने मन थिएन, बुवाआमाले जा भनेपछि आएँ । बच्चा जन्मियो । २०६३ सालमा छोरी जन्मिइन्,’ रामकुमारकी पत्नीले प्रहरीलाई दिएको प्रारम्भिक बयान उदृत गर्दै एसपी कोइरालाले लोकान्तरलाई भने । 

त्यसपछि भारतमा गएर ४ वर्ष बसेर दोलखा आएका र १० दिन बसेर फेरि भारत गएका उनले बताइन् । त्यहाँ ४–५ महिना बसेर दोलखा फेरि आएका र त्यसपछि कहाँ गए थाहा नभएको उनकी पत्नीले बताइन् ।

‘पछि साउदी पुगेर फोन गर्‍यो । ३ वर्ष साउदी बसेर नेपाल आयो । १५ दिन बसेर फेरि भारत गयो । ७ महिनापछि नेपाल आएर २०७५ फागुन महिनामा कतार गयो । कसरी गयो थाहा भएन,’ उनले प्रहरीलाई बयानमा भनेकी छन् ।

त्यति मात्र होइन, घटनामा संलग्न भएका व्यक्ति उनी हुन् कि होइनन् भन्ने पुष्टि गर्नका लागि प्रहरीले उनको फोटो पहिचान गर्न ४ जना व्यक्तिसँग पुष्टि गरेको थियो । प्रहरीले त्यो समयमा ठेलामा व्यापार गर्ने महिला, घटना भएको देख्ने अहिले जापान बस्ने एक जना युवा, उनकी पत्नी र ट्याक्सी ड्राइभरलाई पुष्टि गराएको थियो ।

वास्तविक नाम आइसकेपछि प्रहरीले राहदानी विभागबाट उनको पासपोर्टको तथ्यांक निकाल्यो । वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको तथ्यांकबाट प्रहरीले उनलाई पठाएको मेनपावर कम्पनीको पत्ता लगायो । मेनपावरबाट कुन कम्पनीमा गएको तथ्यांक पत्ता लगाएर प्रहरी प्रधान कार्यालयले इन्टरपोटलमा ५ डिसेम्बर १०१९ मा ‘डिफ्युजन नोटिस’ जारी गर्‍यो तर कतारले ‘डिफ्युजन नोटिस’कै आधारमा उनलाई दिन नमिल्ने बताएपछि अपराध महाशाखाले २०७९ साउन २४ गते इन्टरपोलमा ‘रेड कर्नर नोटिस’ जारी गर्‍यो । रामकुमार मगरलाई साउन ३० गते नेपाल ल्याएको अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले लोकान्तरलाई जानकारी दिए ।

‘हामीले रेड कर्नर नोटिस जारी भएको ६ दिनमा उस (रामकुमार) लाई नेपाल ल्याउन सफल भयौं,’ डीएसपी रिजालले लोकान्तरसँग भने, ‘उनलाई नेपाल ल्याउन ४ वर्ष लामो संघर्ष गर्नुपर्‍यो ।’

जिल्ला अदालत काठमाडौंले भदौ २६ गते पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको छ ।

के थियो घटना ? कुमार तामाङ भन्ने रामकुमारको बयान

२०६३ साउन साँझ अभियुक्त रामकुमार मगर र रमेश राउत (ट्याक्सी चालक) खाजा खान कोटेश्वर चोकमा गएका र त्यहाँ ठेलामा व्यापार गर्दै आएकी महिलालाई ठेलामा चाउचाउ बनाउन लगाएका थिए । 
‘रमेश राउत मान्छे पुर्‍याउन जान्छु भन्दै जडिबुटीतिर  गयो । चाउचाउ बनाएर सक्दा समेत राउत नआएपछि गाली गरें । सार्वजनिक ठाउँमा जथाभावी बोल्न लाज लाग्दैन भनेपछि विवाद भयो । त्यसै क्रममा मनोजले कलर  समाएर मुखमा हिर्कायो, अर्को केटाले हान्यो । त्यसपछि त्यहाँबाट रमेश राउत र मुसे भन्ने व्यक्तिलाई फोन गर्दै अलि पर गएँ,’ रामकुमारले प्रहरीलाई दिएको बयान उदृत गर्दै अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालले लोकान्तरसँग भने ।

उनले बयानमा थप भनेका छन्, ‘मुसेले केहीबेरमा ट्याक्सीमा ६–७ जना केटा ल्याएर आयो । मनोज खड्काका केटाहरूसँग झगडा भयो । घटना भएको ३ दिनपछि थाहा पाएँ । मुसेले ‘अप्ठ्यारो पर्ने भो, भाग्नु’ भनेपछि झापा गएर बसें, त्यसपछि भारतको सिक्किम गएर बसें ।’

नेपाल आएको समयमा बुवाआमासँग मात्रै सम्पर्क गर्ने गरेको र आफूलाई अन्य व्यक्तिले कुमार तामाङ भनेर चिन्ने र रामकुमार मगर भनेर कसैले नचिन्ने प्रहरीलाई बताएका छन् । 

‘प्रहरीको प्रारम्भिक बयान उनले आफ्नो कारणले झगडा भएको तर हत्याको विषयमा थाहा नभएको कुरा बताएका छन्,’ एसपी कोइरालाले लोकान्तरसँग भने ।

ट्याक्सी चालकले दिएको बयान

प्रहरीलाई ट्याक्सी चालक रमेश राउतले दिएको बयानमा ‘म जर्नेल हुँ, सबलाई हनुमान ढोका लगेर थुनिदिन्छु’ भनेपछि विवाद भएको बताएका छन् ।

‘कोटेश्वर चोकमा चाउचाउ बनाउन लगायौं । एक जना जर्नेल भन्ने मान्छेसँग विवाद भयो । ती व्यक्तिले मैले गल्ती गरेको भए पो जाने नभए किन जाने भन्ने विवाद शुरू भएको हो,’ राउतले प्रहरीलाई दिएको बयानमा भनेका छन् । 

‘जर्नेललाई अरु व्यक्तिले लगेर गए । त्यहाँ भएका अन्य व्यक्तिहरूले मिलन चक्रेलाई हामी पनि चिन्छौं भन्ने विवाद भयो । मनोज खड्का भन्ने व्यक्तिले कुमार तामाङको निधार हिर्कायो । झगडा भएपछि कुमार तामाङले ‘मेरा केटाहरू छन् भनेर केटाहरू बोलायो । म प्रहरीलाई खबर गर्न गएँ, २० मिनेटपछि आउँदा कोही थिएनन् । चिया बिक्री गर्ने दिदीले तीनकुनेतर्फ भएको जानकारी दिइन्,’ उनले भने, ‘तीनकुने चोकमा पुग्दा मनोज घाइते अवस्थामा थिए । हामी ट्याक्सीमा राखेर वीर अस्पताल पुर्‍यौं । अस्पताल छाडेर कोटेश्वर आउँदा मनोजको मृत्यु भएको खबर पाएको हुँ ।’

तर त्यो समयमा प्रहरीलाई नाम नखुलाउने शर्तमा मनोज र ट्याक्सी ड्राइभरको चिनजान थियो । उसले भन्न नचाहेको होला भन्दै बयान दिएका थिए । किन चिन्दिनँ भन्यो त्योबारे थाहा भएन तर कुमार तामाङ भन्ने व्यक्ति पहिलादेखि झगडा गर्दै हिँड्ने, चक्कु बोक्ने व्यक्ति भएको बयान दिएको प्रहरीले जनाएको छ ।

रघु शाहीको नाम खुलेको ती व्यक्तिले कुमारको फोटो दिए । प्रहरीले त्यो फोटोलाई सनाखत गर्‍यो । श्रीमतीले सनाखत गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्