
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विक्रम संवत् २०७४ सालमा फरार अभियुक्तहरू खोजी गर्ने क्रममा एउटा पुरानो मुद्दामा आँखा लगायो ।
करीब १६ वर्षअघि भएको एउटा घटना, जसका मुख्य अभियुक्त फरार थिए । जसको एउटा पुरानो फोटो थियो । नाम थियो – कुमार तामाङ । घर दोलखा मात्रै उल्लेख थियो तर पूरा ठेगाना उल्लेख थिएन ।
२०६३ साउन २ गते कोटेश्वरमा भएको घटना, जसले मनोज खड्काको ज्यान लिएको थियो ।
प्रहरीसँग अर्को एउटा नाम थियो ‘मुसे’ । दोलखा घर भएका मुसेको फोटो र वास्तविक नाम प्रहरी कार्यालयसँग थिएन ।
प्रहरीले मुसेलाई खोजेर पत्ता लगाउने कुरा भएन तर कुमार तामाङ भन्ने व्यक्तिको खोजी गर्यो । १५ वर्ष अगाडिको फोटो, त्यसमा पनि त्यो समयमा सामाजिक सञ्जाल र फोनको सहजता नभएकाले उनले प्रयोग गरेका मोबाइल लगायतका कुनै पनि प्रमाणहरू थिएनन् ।
‘हामीसँग एउटा सानो फोटो र फरक नाम मात्रै थियो । त्यसलाई कसरी पत्ता लगाउने भन्ने चुनौती थियो,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले लोकान्तरसँग भने, ‘तर हामीले त्यसलाई खोज्न छाडेनौं ।’
प्रहरीले सानो पासपोर्ट साइजको फोटो लिएर दोलखा चहार्यो । त्यही क्रममा प्रहरीले दोलखाबाट कुमार तामाङका आफन्त पत्ता लगायो तर उनी नै त्यो समयका मुख्य अभियुक्त हुन् कि होइनन्, त्यही नै कुमार तामाङ हुन् कि होइनन् ? उनको वास्तविक नाम हो कि होइन ? प्रहरीलाई यकिन भएको थिएन ।
प्रहरीले गाउँबाट पाएको सूचनाका आधारमा कुमारकी उनकी पत्नी र बहिनी पत्ता लगायो । तामाङकी पत्नीले ती फोटोमा भएको व्यक्ति आफ्नो पति भएको तर नाम रामकुमार मगर भएको बताइन् । प्रहरीले त्यहाँबाट उनको वास्तविक नाम बल्ल पत्ता लगायो । उनको नाम पत्ता लगाउँदा २०७९ साल शुरू भइसकेको थियो ।
उनी वैदेशिक रोजगारीका लागि कतारमा रहेका तर कुन कम्पनीमा काम गर्ने, कहाँबाट गएको भन्ने सूचना रामकुमारकी पत्नीले दिन सकिनन् ।
उनले प्रहरीलाई २०५७ सालमा मागी विवाह भएको, लोकन्थलीमा बस्ने गरेको, रामकुमारले रक्सी र गाँजा खाने, कोठामा कहिले आउने, कहिले नआउने गर्ने गरेको बताइन् ।
‘विवाह भएको १५–२० दिनपछि माइत गएँ । ५–६ वर्षपछि मात्र मलाई लिन माइत आयो । आउने मन थिएन, बुवाआमाले जा भनेपछि आएँ । बच्चा जन्मियो । २०६३ सालमा छोरी जन्मिइन्,’ रामकुमारकी पत्नीले प्रहरीलाई दिएको प्रारम्भिक बयान उदृत गर्दै एसपी कोइरालाले लोकान्तरलाई भने ।
त्यसपछि भारतमा गएर ४ वर्ष बसेर दोलखा आएका र १० दिन बसेर फेरि भारत गएका उनले बताइन् । त्यहाँ ४–५ महिना बसेर दोलखा फेरि आएका र त्यसपछि कहाँ गए थाहा नभएको उनकी पत्नीले बताइन् ।
‘पछि साउदी पुगेर फोन गर्यो । ३ वर्ष साउदी बसेर नेपाल आयो । १५ दिन बसेर फेरि भारत गयो । ७ महिनापछि नेपाल आएर २०७५ फागुन महिनामा कतार गयो । कसरी गयो थाहा भएन,’ उनले प्रहरीलाई बयानमा भनेकी छन् ।
त्यति मात्र होइन, घटनामा संलग्न भएका व्यक्ति उनी हुन् कि होइनन् भन्ने पुष्टि गर्नका लागि प्रहरीले उनको फोटो पहिचान गर्न ४ जना व्यक्तिसँग पुष्टि गरेको थियो । प्रहरीले त्यो समयमा ठेलामा व्यापार गर्ने महिला, घटना भएको देख्ने अहिले जापान बस्ने एक जना युवा, उनकी पत्नी र ट्याक्सी ड्राइभरलाई पुष्टि गराएको थियो ।
वास्तविक नाम आइसकेपछि प्रहरीले राहदानी विभागबाट उनको पासपोर्टको तथ्यांक निकाल्यो । वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको तथ्यांकबाट प्रहरीले उनलाई पठाएको मेनपावर कम्पनीको पत्ता लगायो । मेनपावरबाट कुन कम्पनीमा गएको तथ्यांक पत्ता लगाएर प्रहरी प्रधान कार्यालयले इन्टरपोटलमा ५ डिसेम्बर १०१९ मा ‘डिफ्युजन नोटिस’ जारी गर्यो तर कतारले ‘डिफ्युजन नोटिस’कै आधारमा उनलाई दिन नमिल्ने बताएपछि अपराध महाशाखाले २०७९ साउन २४ गते इन्टरपोलमा ‘रेड कर्नर नोटिस’ जारी गर्यो । रामकुमार मगरलाई साउन ३० गते नेपाल ल्याएको अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले लोकान्तरलाई जानकारी दिए ।
‘हामीले रेड कर्नर नोटिस जारी भएको ६ दिनमा उस (रामकुमार) लाई नेपाल ल्याउन सफल भयौं,’ डीएसपी रिजालले लोकान्तरसँग भने, ‘उनलाई नेपाल ल्याउन ४ वर्ष लामो संघर्ष गर्नुपर्यो ।’
जिल्ला अदालत काठमाडौंले भदौ २६ गते पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको छ ।
के थियो घटना ? कुमार तामाङ भन्ने रामकुमारको बयान
२०६३ साउन साँझ अभियुक्त रामकुमार मगर र रमेश राउत (ट्याक्सी चालक) खाजा खान कोटेश्वर चोकमा गएका र त्यहाँ ठेलामा व्यापार गर्दै आएकी महिलालाई ठेलामा चाउचाउ बनाउन लगाएका थिए ।
‘रमेश राउत मान्छे पुर्याउन जान्छु भन्दै जडिबुटीतिर गयो । चाउचाउ बनाएर सक्दा समेत राउत नआएपछि गाली गरें । सार्वजनिक ठाउँमा जथाभावी बोल्न लाज लाग्दैन भनेपछि विवाद भयो । त्यसै क्रममा मनोजले कलर समाएर मुखमा हिर्कायो, अर्को केटाले हान्यो । त्यसपछि त्यहाँबाट रमेश राउत र मुसे भन्ने व्यक्तिलाई फोन गर्दै अलि पर गएँ,’ रामकुमारले प्रहरीलाई दिएको बयान उदृत गर्दै अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालले लोकान्तरसँग भने ।
उनले बयानमा थप भनेका छन्, ‘मुसेले केहीबेरमा ट्याक्सीमा ६–७ जना केटा ल्याएर आयो । मनोज खड्काका केटाहरूसँग झगडा भयो । घटना भएको ३ दिनपछि थाहा पाएँ । मुसेले ‘अप्ठ्यारो पर्ने भो, भाग्नु’ भनेपछि झापा गएर बसें, त्यसपछि भारतको सिक्किम गएर बसें ।’
नेपाल आएको समयमा बुवाआमासँग मात्रै सम्पर्क गर्ने गरेको र आफूलाई अन्य व्यक्तिले कुमार तामाङ भनेर चिन्ने र रामकुमार मगर भनेर कसैले नचिन्ने प्रहरीलाई बताएका छन् ।
‘प्रहरीको प्रारम्भिक बयान उनले आफ्नो कारणले झगडा भएको तर हत्याको विषयमा थाहा नभएको कुरा बताएका छन्,’ एसपी कोइरालाले लोकान्तरसँग भने ।
ट्याक्सी चालकले दिएको बयान
प्रहरीलाई ट्याक्सी चालक रमेश राउतले दिएको बयानमा ‘म जर्नेल हुँ, सबलाई हनुमान ढोका लगेर थुनिदिन्छु’ भनेपछि विवाद भएको बताएका छन् ।
‘कोटेश्वर चोकमा चाउचाउ बनाउन लगायौं । एक जना जर्नेल भन्ने मान्छेसँग विवाद भयो । ती व्यक्तिले मैले गल्ती गरेको भए पो जाने नभए किन जाने भन्ने विवाद शुरू भएको हो,’ राउतले प्रहरीलाई दिएको बयानमा भनेका छन् ।
‘जर्नेललाई अरु व्यक्तिले लगेर गए । त्यहाँ भएका अन्य व्यक्तिहरूले मिलन चक्रेलाई हामी पनि चिन्छौं भन्ने विवाद भयो । मनोज खड्का भन्ने व्यक्तिले कुमार तामाङको निधार हिर्कायो । झगडा भएपछि कुमार तामाङले ‘मेरा केटाहरू छन् भनेर केटाहरू बोलायो । म प्रहरीलाई खबर गर्न गएँ, २० मिनेटपछि आउँदा कोही थिएनन् । चिया बिक्री गर्ने दिदीले तीनकुनेतर्फ भएको जानकारी दिइन्,’ उनले भने, ‘तीनकुने चोकमा पुग्दा मनोज घाइते अवस्थामा थिए । हामी ट्याक्सीमा राखेर वीर अस्पताल पुर्यौं । अस्पताल छाडेर कोटेश्वर आउँदा मनोजको मृत्यु भएको खबर पाएको हुँ ।’
तर त्यो समयमा प्रहरीलाई नाम नखुलाउने शर्तमा मनोज र ट्याक्सी ड्राइभरको चिनजान थियो । उसले भन्न नचाहेको होला भन्दै बयान दिएका थिए । किन चिन्दिनँ भन्यो त्योबारे थाहा भएन तर कुमार तामाङ भन्ने व्यक्ति पहिलादेखि झगडा गर्दै हिँड्ने, चक्कु बोक्ने व्यक्ति भएको बयान दिएको प्रहरीले जनाएको छ ।
रघु शाहीको नाम खुलेको ती व्यक्तिले कुमारको फोटो दिए । प्रहरीले त्यो फोटोलाई सनाखत गर्यो । श्रीमतीले सनाखत गरिन् ।