
महाभियोग सिफारिश समितिको प्रतिवेदन बुझ्न सभामुख अग्नि सापकोटा राति सवा ९ बजेसम्म सिंहदरबारस्थित कार्यकक्षमा बसिरहेका छन् । प्रतिनिधि सभाको अधिवेशन सकेर सिंहदरबार आएका सापकोटा कार्यकक्षमा प्रतिवदेन कुरेर बसिरहेका हुन् । सिफारिश समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउनु पर्ने सुझाव सहितको प्रतिवेदन बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको कार्यकाल सकिन तीन घण्टा बाँकी रहदा समितिले बहुमतले प्रतिवेदन तयार गरेको हो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने समितिको निर्णयमा नेकपा एमाले र लोसपाले फरक मत राखेका छन् । समितिका ११ सदस्य मध्ये ६ जनाले महाभियोग लगाउनु पर्ने र ५ जनाले लगाउनु नपर्ने राय राखेका हुन् ।
अदालतमा भ्रष्टाचारलाई संरक्षण गरेको, मन्त्रिपरिषद्मा भागवण्डा गरेको, न्यायिक विचलन आएको जस्ता आरोप लगाउँदै चोलेन्द्र विरुद्ध सत्ता गठबन्धनले गत फागुन १ गमे महाभियोग दर्ता गरेको थियो । फागुन १ देखि चोलेन्द्र निलम्बित अबस्थामा थिए ।
प्रतिनिधि सभाको कार्यकाल शनिवार मध्यरातमा सकिने भएपनि महाभियोग निष्क्रिय रहने वा नरहने भन्नेमा अन्यौल कायम छ ।