
बाल-गायक अशोक दर्जीको स्वरसँगै अभिनयमा नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी २’ सार्वजनिक भएको छ । यो तीन वर्षअघि सार्वजनिक लोकप्रिय गीत ‘चौरीको चाम्रो छुर्पी’ को दोस्रो भाग हो ।
टंक बुढाथोकीको संगीत रहेको यस गीतमा टंकसँगै बालगायकद्वय अशोक दर्जी, एआर बुढाथोकी र विक्रम थापाको समेत स्वर रहेको छ । एल.पी साँवा लिम्बुको शब्द रहेको गीतलाई टंक बुढाथोकी स्वयंले एरेन्ज गरेका हुन् ।
कविराज गहतराजको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा टंक बुढाथोकी, अशोक दर्जी र एआर बुढाथोकी स्वयंले अभिनय गरेका छन् । सुदीप बरालको छायाँकन रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् । गीतमा बालगायक अशोक दर्जीको स्वर परिवर्तन भएको सुन्न सकिन्छ ।
युट्युब कमेन्टमा पनि अधिकांश स्रोता एवं दर्शकहरूले अशोकको स्वरमा परिवर्तन आएको उल्लेख गरेका छन् । स्रोता एवं दर्शकहरूले अशोकको स्वर पहिलेभन्दा अझ राम्रो भएको बताएका छन् ।
गायक एवं संगीतकार टंकले अशोकको उमेरसँगै स्वरमा परिवर्तन आएकोले यस गीत रेकर्डको समयमा केही समस्या आएको बताउँछन् । उमेर बढ्दै गएसँगै अशोकको उचाइ पनि बढेको छ । उनको बोल्ने शैलीमा पनि परिवर्तन आएको पाइन्छ ।
अशोकले पछिल्लो झण्डै एक वर्ष कुनै पनि गीत गाएका थिएनन् । अशोक केही वर्षयता गायक एवं संगीतकार टंक बुढाथोकीसँग बस्दै आएका छन् । टंकले अशोकलाई पढाउनेसँगै संगीत सिकाउने गरेका छन् । ‘चौरीको चाम्रो छुर्पी २’ गीतले यतिबेला युट्युबमा राम्रो भ्युज पाइरहेको छ ।