
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौं आउने वायु सेवालाई भैरहवा जानुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २ वटाभन्दा बढी उडान गर्ने वायु सेवाले कम्तीमा एउटा उडान भैरहवाबाट गर्नैपर्ने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन आगामी कात्तिक १५ गतेपछि उडानमा यस्तो व्यवस्था गरिएको बताए ।
उनले भने, ‘काठमाडौंमा दैनिक २ भन्दा बढी उडान गर्ने वायु सेवाले कम्तीमा एउटा उडान भैरहवामा गर्नैपर्ने हुन्छ ।’
प्राधिकरणको यस्तो निर्णयमा सबैजसो अन्तर्राष्ट्रिय उडानका वायु सेवा सहमत नै रहेको र सकारात्मक प्रतिक्रिया आएको समेत निरौलाले बताए ।
हाल काठमाडौं विमानस्थलबाट दैनिक २ वटाभन्दा बढी उडान गर्नेमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, एयर इण्डिया र कतार एयरलाइन्स छन् । यी वायुसेवाले आगामी विन्टर सिजन (नोभेम्बर १ देखि) को सेड्युल स्वीकृत गर्दा कम्तीमा एउटा उडान भैरहवामा गर्नैपर्ने हुन्छ । भैरहवामा उडान नगर्ने यस्ता वायु सेवाको काठमाडौंमा हुने उडान तालिका नै स्वीकृति नहुने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणको यस्तो निर्णयले आगामी १ महिनापछि यी ४ वटै वायु सेवा भैरहवा जानेछन् । अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा थप भएसँगै विमानस्थलमा हवाई उडानको चाप बढ्दा सबै पक्षलाई लाभ नै हुने तर्क निरौलाको छ । प्राधिकरणको यस्तो निर्णयले विमानस्थल चल्न सहयोगी हुन्छ भने सम्बन्धित वायु सेवाका लागि काठमाडौं आउनु नपर्ने, तराईका जिल्ला र आसपासबाट आउने यात्रुलाई पनि सहज हुन्छ ।
उड्डयन प्राधिकरणका अनुसार अबको १ महिनापछि नै गौतमबुद्ध विमानस्थलबाट कम्तीमा ६ वटा अन्तर्राष्ट्रिय वायु सेवाको उडान हुनेछ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरलाइन्स, एयर इण्डिया, हाल उडान गरिरहेको जजिरा र आउने तयारी गरिरहेको बिज एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट नियमित सेड्युल उडान गर्नेछन् । यो विमानस्थलमा चार्टर उडान गर्न भने जुनसुकै बेला पनि वायु सेवालाई खुला हुने विमानस्थल कार्यालयको भनाइ छ ।
यसअघि नै यो विमानस्थलमा उडान गर्ने वायु सेवाका लागि नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ सेवा) मा ५० प्रतिशत छुट दिइसकेको छ । यो विमानस्थलमा यात्रु र यात्रुको सामान जहाजसम्म पुर्याउने ल्याउने (भूमिस्थ सेवा) को काम नेपाल एयरलाइन्सले गर्छ । यस्तो सेवामा छुट दिँदा एयरबसको ए३२० वा सोसरह क्षमताको जहाजका लागि काठमाडौंको तुलनामा करीब १ लाख छुट भएको छ ।
भूमिस्थ सेवाबाहेक नागरिक उड्डयन प्राधिकरणले दिने पार्किङ, नेभिगेसन सहितको एरोनटिकल (जहाज उडाउँदा लाग्ने शुल्क) मा पूर्ण छुट दिएको छ । यस्तो छुट ए३२० सरहको जहाजका लागि १ लाख ५० हजार रुपैयाँसम्म हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
उनले भने, ‘विमानस्थल सञ्चालन गर्न र नयाँ–नयाँ वायु सेवालाई आकर्षित गर्न यस्तो छुटको सुविधा दिइएको हो । झाले भने, ‘नेपाल एयरलाइन्स र प्राधिकरणको छुट सुविधाले हरेक उडानमा सम्बन्धित वायु सेवालाई काठमाडौं अवतरण गर्नुको तुलनामा भैरहवा जाँदा लाभ हुन्छ ।’ यस्तो छुट सुविधाका कारण न्यारोबडीको जहाजलाई २ लाख ५० हजार र वाइडबडीलाई ५ लाख रुपैयाँसम्म लाभ हुने झाको भनाइ छ ।
हाल काठमाडौं आएर उड्ने यात्रु पनि तराई क्षेत्र र आसपासकै हुने भएकाले उतैबाट उडान हुँदा सहज हुन्छ । यात्रुलाई सहज हुने, एयरलाइन्स तथा उड्डयन प्राधिकरणलाई पनि लाभ हुने बुझाइ प्राधिकरणको छ ।
लाभ हुँदा समेत वायु सेवा कम्पनीको रुचि किन कम ?
कुनै पनि वायु सेवाले नयाँ विमानस्थलमा उडान गर्ने भनेको लामो समयको तयारी र व्यापारिक योजना बनाएर गर्नुपर्ने हुन्छ । एउटा वायु सेवा नयाँ विमानस्थलमा जाने हुँदा यात्रु पाइने सुनिश्चित आधार चाहिन्छ भने व्यापारिक रूपमा लाभ हेर्नुपर्ने पनि हुन्छ । यात्रु नभए वायुसेवाको लागत मात्रै बढ्ने हुन्छ ।
लाभ नहुने अवस्थामा हरेक उडानमा घाटा हुने गरी कुनै पनि वायुसेवा नयाँ विमानस्थलमा जान नरुचाउने भएकाले पनि सरकारले गौतमबुद्ध विमानस्थललाई प्रबर्द्धन गर्न आकर्षित गरिरहेको छ ।
एयरलाइन्सले आजको भोलि नै उडान गर्ने भन्ने नभएकाले पनि कम्तीमा ६ महिनाको तयारी भने गर्नुपर्ने हुन्छ । हाल गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । यो वायु सेवाले विमानस्थल सञ्चालनमा आएकै दिन जेठ २ गतेबाट उडान शुरू गरेको छ । ४ महिनासम्म हप्तामा ३ वटा उडान गरेको यो वायु सेवाले भदौ ३१ गतेदेखि दैनिक १ वटा उडान गरिरहेको छ ।
यो विमानस्थलमा हंगेरिको बिज एयरलाइन्सले आगामी कात्तिक १३ गतेदेखि उडान गर्ने इच्छा देखाएको छ । यसले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावी–काठमाडौं हप्तामा ३ वटा उडान गर्ने भएको छ । यसले अनुमति पाइसकेको छ भने अब उडान तालिका स्वीकृति हुन मात्रै बाँकी रहेको गौतमबुद्ध विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
यसबाहेक यो विमानस्थलमा फ्लाई दुबई, एयर अरेबिया सहितका खाडी मुलुकबाट आउने वायु सेवाले पनि इच्छा देखाएको भए पनि औपचारिक रूपमा आवेदन भने नपरेको गौतमबुद्ध विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
यो विमानस्थलमा उडान अवतरण गर्न सम्बन्धित वायु सेवाले रुचि देखाएमा उड्डयन प्राधिकरणले प्रबर्द्धन गर्ने काम गरिरहेको छ । काठमाडौं आउने वायु सेवालाई पनि इमरर्जेन्सी प्लानमा भैरहवा नै राखेर आउन अनुरोध गरिएको छ ।
नेपाल आउने विदेशी वायु सेवाले हरेक उडानमा आकस्मिक अवतरणको तालिका स्वीकृत गराएका हुन्छन् । यस्तो तालिकामा कुनै प्राविधिक कारण गन्तव्यमा पुग्न नसकेमा जुन विमानस्थलमा जाने भनेर स्वीकृत गरिएको हुन्छ, त्यहीँ जानुपर्छ ।
नेपालमा आएका विदेशी वायु सेवाले काठमाडौं अवतरण गर्न नसके वा अन्य प्राविधिक कारण भए नजिकको विमानस्थल लखनउ वा अन्य छिमेकी मुलुकका विमानस्थल जाने गरेका छन् । काठमाडौंको विकल्प भैरहवा र भैरहवाको विकल्प काठमाडौं राख्न प्राधिकरणले अनुरोध गर्दै आएको छ । यसअघि काठमाडौं अवतरण गर्ने जजिरा एयरलाइन्स भैरहवामा अवतरण गर्न थालिसकेको छ ।
रुटको समस्या कायमै
यो विमानस्थलमा अवतरण गर्न भारतले लो लेबलमा रुट अनुमति दिएको छैन । यो विमानस्थलमा अवतरण गर्न रूट अनुमति नपाउँदा हरेक वायु सेवा सिमरा हुँदै आउनुपर्ने हुन्छ ।
यस्तो रुट प्रयोग गर्दा एउटा वायु सेवाले करीब २० मिनेट बढीको उडान गर्नुपर्ने हुन्छ । यो विमानस्थलबाट बाहिरिन भने भारतले अनुमति दिइरहेको छ ।
यस्तो उडानको रुट भैरहवाका लागि नभएर पोखराको लागि मात्रै उपयुक्त हुने बुझाइ पनि उड्डयन क्षेत्रका जानकारहरूको भनाइ छ ।
वायु सेवाको अनिच्छा
प्राधिकरणले भैरहवा जानुस् भनेको विषयमा अनौपचारिक जानकारी आइरहेको भए पनि औपचारिक रूपमा कुनै निर्णय नआएको सम्बन्धित वायु सेवाको भनाइ छ । ती वायुसेवाले आफूहरूको पनि तयारी नभएको बताएका छन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले नै तत्काल भैरहवाबाट उडान गर्ने कुनै योजना बनाएको छैन । यसले उडान शुरूआत गरेको अवस्थामा अरु वायु सेवालाई दबाब पर्ने भए पनि निगम नै भैरहवा जान तत्काल इच्छुक छैन ।
निगमका प्रवक्ता अर्चना खड्का जहाज अभाव भएको र काठमाडौंबाट भइरहेको उडानमा एउटा जहाज बिग्रिएकाले उडान व्यवस्थापन मिलाउन समस्या भएको हुँदा भैरहवा जाने तयारी नभएको बताउँछिन् । उनले भनिन्, ‘भैरहवाबाट निगमले नै उडान शुरू गर्नुपर्ने र प्राधिकरणले जानुपर्छ भन्ने बित्तिकै जानुपर्ने भए पनि अहिलेसम्म औपचारिक निर्णय भइसकेको छैन ।’ नेपाल एयरलाइन्स व्यवस्थापन टीमले गरिरहेको तयारी हो भने जानकारी नआएको पनि उनले बताइन् ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सको पनि हालसम्म भैरहवा जाने कुनै तयारी छैन । एयरलाइन्सकी ब्राण्ड म्यानेजर तथा प्रवक्ता उज्ज्वला दलीले भैरहवाबाट उडान गर्ने विषयमा नियामकबाट बाध्यात्मक गर्ने जानकारी नआएको र आफूहरू पनि तत्कालै गइहाल्ने विषयमा तयारी नभएको बताइन् ।
उनले पनि व्यवस्थापनले गरिरहेको तयारीको विषयमा भने आफूसमक्ष जानकारी नआएको बताइन् ।