
सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) ले काठमाडौंको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्ट सुरु गरेको छ । एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्धो चुनले प्लान्टको उद्घाटन गरेका हुन् । नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्नका लागि एलजी ईलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आईरहेको छ ।
आफ्नो भ्रमणबाट उत्साहित हुँदै चुनले भने, 'विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्षदेखिको सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रमक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ ।'
नेपालमा नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको उनले बताए । साथै, आगामी दिनमा नयाँ अवसरहरू श्रृजना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरीय तथा सर्वसुलभ उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिइएको उनको भनाइ छ ।
निकट भविष्यमा, एलजीका होम एप्लाएन्स र इन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने भएका छन् । जसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउने कम्पनीको भनाइ छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी ईलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै भने, 'नेपालमा एलजीजस्तो विश्वस्तरीय वान्डसँग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छौं । एलजी ईलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्नेछ । यस नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरू श्रृजना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मुल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउनेछन् ।'
चुनले मिनभवनमा रहेको एलजी शपको पनि भ्रमण गरेको बताइएको छ । हालसम्म, नेपालमा एलजीका वटा शोरुमहरु छन्। चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सीजी इन्डस्ट्रियल पार्कलगायतको भ्रमण पनि गरेका छन् ।