
यतिबेला उत्साह र ‘नर्भसनेश’ दुवै छ उनमा । यद्यपि उत्साहभन्दा ‘नर्भसनेस’ले मुटुको चाल थप बढाएको छ । कुरा हो अभिनेत्री अदिति बुढाथोकीको ।
केही वर्षको अन्तरालपछि उनको करिअरको दोस्रो फिल्म प्रदर्शनको संघारमा छ । दशैंको अवसर पारेर असोज १४ गते (आउँदो शुक्रवार) देखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘बाबरी’ अदितिको आफ्नै होम प्रोडक्सनको पहिलो फिल्म पनि हो ।
फिल्मको प्रदर्शन मिति नजिकिँदा अदितिमा यतिबेला उत्साहभन्दा पनि ‘नर्भसनेश’ बढी देखिएको हो । फिल्मको प्रचारप्रसारमा दिनरात नभनी खटिइरहेकी अदिति सुनाउँछिन्, ‘केही वर्षको ग्यापपछि दोस्रो फिल्म रिलिज हुन लागेको छ । दर्शक, फ्यानहरूको एक खालको अपेक्षा हुन्छ । कस्तो क्यारेक्टर गरेको छ होला अदितिले भन्ने । पहिलेभन्दा राम्रो गरेको होला भन्ने उहाँहरूमा अपेक्षा छ । त्यसैले होला फिल्म रिलिज मिति नजिकिँदा अलि बढी नर्भस छु ।’
यद्यपि फिल्म आफैंमा राम्रो बनेको र आफ्नो भूमिका पनि सशक्त रहेको हुनाले दर्शकले रुचाउने विश्वास पनि लिएकी छन् उनले । फिल्ममा अदिति ‘कन्फिडेन्ट’, ‘बोल्ड’ क्यारेक्टरमा प्रस्तुत छिन् । ‘जिद्धी केटीको क्यारेक्टर निर्वाह गरेकी छु । कस्तो भने – आफूले जे सोचेको छ, त्यो गरेरै छाड्ने खालको । परिवारले भनेको समेत नटेर्ने खालको । केटाहरूसँग पनि नझुक्ने खालको,’ उनले भनिन्, ‘एकदमै कन्फिडेन्ट केटीको क्यारेक्टर छ । उ शिक्षित पनि छ । लाइफमा केही गर्छु भन्ने पनि अठोट छ ।’
फिल्ममा अदितिले निर्वाह गरेको क्यारेक्टर गाउँले युवतीको हो । जुन आफ्नो पहिलो फिल्म ‘कृ’भन्दा बिल्कुलै फरक रहेको उनले बताइन् । शहरमा हुर्किएकी अदितिलाई गाउँले युवतीको भूमिका निर्वाह गर्न केही गाह्रो भएको थियो । वर्कशपमा धेरै अभ्यास भएको र आफूले पनि क्यारेक्टरमा डुब्न मेहनत गरेको उनी बताउँछिन् ।
फिल्ममा गाउँले युवतीको क्यारेक्टर भए पनि शहरका युवतीसँग पनि ‘रिलेट’ हुने उनको भनाइ छ । क्यारेक्टर रियल अदितिभन्दा ठीक उल्टो छ ।
‘बाबरीमा मैले निर्वाह गरेको क्यारेक्टर मेरो रियल जीवनभन्दा निकै फरक छ,’ रिल र रियल अदितिबारे अगाडि भन्छिन्, ‘म एकदमै समझदार छु । फिल्ममा जस्तो जिद्धी पनि छैन । फिल्मको क्यारेक्टरभन्दा पूरै अपोजिट छु भन्दा हुन्छ ।’ सुरेन्द्र पौडेलको निर्देशन रहेको रोमान्टिक, कमेडी जनरामा निर्माण भएको फिल्म ‘बाबरी’मा धिरज मगर र धिरज नाड्कर पनि शीर्ष भूमिकामा छन् । फिल्मको केन्द्रीय भूमिकामा भने अदिति नै हुन् । उनी ‘बाबरी’ नाम गरेकी युवतीको भूमिकामा प्रस्तुत छिन् ।
फिल्मका गीतहरू रुचाइएको छ । ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् । अदिति फिल्मलाई लिएर आएका प्रतिक्रियाबाट खुशी छिन् । कतिपय साथीहरूले उनलाई अदिति होइन्, ‘बाबरी’ नै भनेर समेत बोलाउने गरेका छन् ।
‘धेरै साथीहरूले हिजोआज मलाई बाबरी भनेर बोलाउँछन्,’ हल्का हाँसोका साथ अदिति भन्छिन् । दशैंको माहोलमा प्रदर्शनमा आउने ‘बाबरी’ रोमान्टिक, कमेडी एवं पारिवारिक फिल्म रहेको बताउँदै यसले फेस्टिभ मूड पनि सेटअप गर्ने अदिति बताउँछिन् ।
‘अनमोलकी हिरोइन’ बनेर ‘डेब्यू’
अदितिको बाल्यकालीन सपना अभिनेत्री बन्ने थिएन । उनी डाक्टर बन्न चाहन्थिन् । आफन्तहरू पनि धेरैजना डाक्टरी पेशामा थिए । आफन्तले बाँचेको डाक्टरी जीवन देख्दै हुर्किइन् अदिति । डाक्टर बन्ने सपनाका खातिर अदितिले साइन्स पढेकी थिइन् तर डाक्टर आफन्तीहरूको व्यक्तिगत जीवन देख्दा अदितिलाई लाग्न थाल्यो – डाक्टरी पेशा त गाह्रो हुँदो रहेछ ।
त्यसपछि डाक्टरको ‘प्यासन’लाई मन मारेर अदिति साइन्सबाट आईटीतिर ‘सिफ्ट’ भइन् । आईटी पढ्दाताकाको कुरा हो, एउटा म्यागेजिनमा आवरण तस्वीर खिचाउने अवसर पाइन् । ‘फोटोसुटका क्रममा ग्ल्यामर क्षेत्रप्रति रुचि भएको महसूस गरें,’ उनले भनिन्, ‘त्यसपछि मेरो सपनामा परिवर्तन आयो ।’ अदिति मोडलिङलाई करिअर बनाउने निधोमा पुगिन् ।

मोडलिङकै लागि उनी पुगिन् बलिउड नगरी मुम्बई । त्यही रहेर मोडलिङमा सक्रिय हुन थालिन् । म्युजिक भिडियो, टीभीसी एडहरूमा अवसर पाइरहिन् । इन्स्टाग्राम र फेसबूकमा अदितिले राम्रो फ्यान, फ्लोइङ बनाइसकेकी थिइन् । सामाजिक सञ्जालमा उनले राख्ने ‘बोल्ड’ तस्वीरहरूको चर्चा नेपाली दर्शकमाझ समेत हुने गरेको थियो । सोहीबखत उनलाई अफर आयो, नेपाली फिल्म ‘कृ’बाट ।
खासमा कृ फिल्ममा अभिनय गर्न अदितिलाई आमाबुवाले नै ‘मोटिभेट’ गरेका थिए । नेपाली फिल्मबारे केही थाहा थिएन अदितिलाई । ‘नेपाली फिल्ममा डेब्यू गर्ने हो भने यो सबैभन्दा राम्रो अवसर हो,’ आमाबुवाले स्क्रिप्ट दिँदै भनेका उनले बताइन् ।

अदिति सुनाउँछिन्, ‘जब फिल्मको स्क्रिप्ट पाएँ, त्यहाँदेखि नेपाली फिल्महरू रिसर्च गरें । अनमोलको फिल्महरू हेर्न थालें । अरु फिल्महरू हेरें ।’ फिल्मको सुटिङ शुरू भयो । चकलेटी अभिनेता अनमोल केसीको को–एक्टर बनेर फिल्ममा देखिइन् । फिल्म प्रदर्शनमा आउँदा दर्शकहरूबाट राम्रै तारिफ पाइन् तर त्यसपछि भने अदिति केही वर्ष फिल्ममा देखिइनन् ।
‘कृ’मा अभिनय गरेपश्चात केही महिना अन्य फिल्म खेल्ने/नखेल्ने अन्योलता देखियो उनमा तर केही महिनापश्चात आफ्नै होम प्रोडक्सन शुरू गर्ने निधो भयो । होम प्रोडक्सनकै फिल्मबाट पर्दामा देखिने अदितिको सोच बनिसकेको थियो तर त्यसबीचमा कोरोनाले असर गर्यो । कोरोना महामारीपछि आफ्नै होम प्रोडक्सनबाट निर्माण भएको ‘बाबरी’मा अदितिले अभिनय गरिन् । अदितिलाई यतिबेला अन्य फिल्महरूबाट अफर आइरहेका छन् । यद्यपि ‘बाबरी’ रिलिज नहुँदासम्म अरु फिल्ममा अभिनय नगर्ने भनेर बसेकी छन् । होम प्रोडक्सनबाट अर्को नयाँ फिल्म पनि निर्माणको घोषणा भइसकेको छ । अदितिलाई लाग्छ, नेपाली फिल्म क्षेत्र ‘ग्रोथ’को बाटोमा छ । प्रतिभावान युवा पुस्ताहरू फिल्ममा आइरहेका छन् ।
‘नयाँ पुस्ताले टिपिकल लभ स्टोरी मात्रै नभएर फरक खालका फिल्महरू बनाइरहनुभएको छ । यसलाई ग्रोथको रूपमा हेरेकी छु,’ उनले बताइन् ।
‘कृ’देखि ‘बाबरी’सम्म आइपुग्दा अदितिमा अभिनयप्रतिको बुझाइमा समेत परिवर्तन आएको छ ।
एउटा कलाकारले फरक–फरक खालाको क्यारेक्टर निर्वाह गर्न चाहने बताउँदै उनले आफूमा पनि त्यो चाहना भएको बताइन् । ‘तर आफूमा क्यारेक्टरलाई जस्टिफाई गर्न सक्छु भन्ने कन्फिडेन्ट चाहिँ हुनुपर्छ,’ उनी भन्छिन्, ‘म त अहिले पनि अभिनयबारे धेरै कुरा सिक्दैछु । आउँदा दिनमा भने हरेक चुनौतीहरू सामना गर्न तयार छु । नयाँ फिल्ममा आफूलाई एक्स्प्लोर गर्न चाहन्छु ।’
अदितिलाई थ्रिलर, एक्सन जनराका फिल्महरू बढी मन पर्छन् । ‘सोही खालका फिल्ममा काम गर्न मन पनि उत्तिकै छ । रोमान्टिक फिल्म गरें । अब महिला केन्द्रित एक्सन फिल्म गर्न मन छ,’ अदिति भन्छिन् ।
तस्वीरहरू : विश्वास खनाल/लोकान्तर डटकम