
दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढ्दै गएको छ । काठमाडौंबाट बाहिरिने यात्रुको भीड सार्वजनिक सवारीका टिकट काउन्टरदेखि सवारी साधन छुट्ने स्टेसनसम्ममा बढ्दै गएको छ । यात्रु तत्कालै टिकट लिएर जाने र अनुकुल समयका लागि अग्रिम बुकिङ गर्नेको भीड दैनिकजसो बसपार्कमा बढ्न थालेको छ ।
सामान्य दिनको तुलनामा यात्रुको चाप हुने र यात्रु जसरी पनि गन्तव्यतर्फ जानैपर्ने बाध्यताका कारण सार्वजनिक सवारी साधनले भने तोकिएको भन्दा बढी भाडा लिने गरेका छन् । काठमाडौंबाट विभिन्न जिल्ला पुग्ने सवारी साधनले यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी भाडा लिने गरेका छन् ।
सार्वजनिक सवारीले लिन पाउने भाडाको सूची यातायात व्यवस्था विभागले २७ असारमै सार्वजनिक गरेको छ । इन्धनको मूल्यमा ५ प्रतिशतले घटबढ हुँदा भाडा समायोजन गर्न पाउने अधिकार विभागले दिएको छ । इन्धनमा मूल्य बढ्दा भाडा बढाउने र घट्दा घटाउने नीति विभागले लिएको छ । सोही अनुसार २७ असारपछि भाडा समायोजन भएको छैन । तर, सार्वजनिक यातायातले भने दशैंको मौका छोपेर यात्रुसँग बढी भाडा लिएको गुनासो भने बढेको छ ।

काठमाडौंको नयाँ बसपार्कबाट बिहीबार साँझ रामबाबु बैठा बागलुङ जाने तयारीमा थिए । काठमाडौंबाट बाग्लुङ पुग्न १४ सय रुपैयाँको टिकट लिएका बैठा आफू जाने गाडी खोज्न थाले । अघिपछि १२/१३ सयसम्म पाइने टिकट यसपालि उनले १४ सय भन्दा घटीको पाएनन् । ‘घर जान भनेर बसपार्क आइसकियो, अब टिकट महंगो भने भनेर फर्केर जाने कुरा भएन, जानैपर्ने भएकाले १/२ सय बढी परे पनि बाध्यताले टिकट लिएँ,’ बैठाले भने ।
बिहीवार साँझ नै नयाँ बसपार्कमा भेटिएका नेपालगञ्जका भीमबहादुर घर्ती पनि ३ घण्टा अगाडि नै टिकट काटेर बसिसकेका थिए । साँझ ५ बजे छुट्नुपर्ने गाडी ६ बजेसम्म बसपार्क आइपुगेको थिएन । जाममा परेको उक्त सवारी कुरेर बसिरहेका घर्तीले पनि टिकट महंगो परेको गुनासो गरे ।

धर्तीको हातमा सेवा सगरमाथा नामक सवारीलाई २१ सय रुपैयाँ तिरेर लिएको बोर्डिङ पास थियो ।
यातायात व्यवस्था विभागले काठमाडौं नेपालगञ्जको सूचीकृत भाडादर १५२२ रुपैयाँ सार्वजनिक गरेको छ । यसमा स्तरीय डिलक्सले २० प्रतिशत जोडेर १८२७ रुपैयाँसम्म लिने व्यवस्था छ । तर, यो गन्तव्यका लागि सबैजसो सवारी साधनले २१ सय भाडा लिइरहेका छन् ।
बर्दियाका गोपाल रिमालले पनि दशैंअगाडि घर जान २४५० रुपैयाँ तिरेर टिकट लिएका थिए । उनलाई पनि यसपटक टिकट महंगो परेको अनुभूति भइरहेको थियो । दशैंको मौका छोपेर बढी शुल्क लिएको हुनसक्ने बुझाइ रिमालको छ । उनले गन्तव्यमा पुग्नैपर्ने र त्यो भन्दा कममा नपाइने भनेपछि महंगै परे पनि टिकट लिनुपरेको बाध्यता सुनाए ।

अघिपछि एक हजार रुपैयाँमा काठमाडौंबाट जनकपुर जाने गरेकी रिना झाले पनि शनिवार १२ सय रुपैयाँ खर्चिएर यात्रा गरिन् । सामान्य दिनको तुलनामा २ सय महंगो परेको उनले बताइन् ।
दशैंको समय र घर जानुपर्ने भएकाले बढी तिर्न बाध्य भएको उनको भनाइ छ ।

यातायात व्यवस्था विभागले छोटो, मध्यम र लामो दूरीका अन्तरप्रदेश रुटहरूमा कायम भएको भाडादर सार्वजनिक गरेको छ । उक्त भाडादरमा सवारी साधनको रुट, दूरी र पछिल्लोपटक बढेको भाडादर राखेको छ ।
उक्त भाडादर आम सर्वसाधारणले प्रयोग गर्ने सामान्य सवारीको दर भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । पनेरुका अनुसार यो भाडादर नर्मल हो । यसमा स्तरीय डिलक्सका सवारीले ब्लुबूकमै स्तर प्रमाणित गराएको हकमा भने थप २० प्रतिशत भाडा लिन पाउने व्यवस्था गरिएको छ ।

विभागले स्तरीय डिलक्स सवारीले थप २० प्रतिशत भाडा लिन पाउने व्यवस्था गरेका छ । सवारी साधनले अहिले दशैैंका लागि लिइरहेको भाडा भने तोकिएको र प्रकाशित सीमाभन्दा २५ प्रतिशतसम्म बढी पाइएको छ ।
विभागका प्रवक्ता पनेरु सामान्य भाडाको तुलनामा डिलक्सले २० प्रतिशत र स्तरीयले अर्को २० प्रतिशत थप गर्न पाउने भएपनि त्यसभन्दा बाहिर गएर भाडा लिन नमिल्ने बताए ।
कसैले तोकिएको सीमाभन्दा बढी भाडा लिएको पाइए कारवाही हुने पनेरुले बताए ।

यस्तो कारवाही विभागले गर्ने अनुगमन र यात्रुले प्रमाणसहित दिने उजुरीका आधारमा हुन्छ । यात्रुले बढी भाडा तिरेको वा ठगिएको गुनासो गरेको अवस्थामा मात्रै विभागले आवश्यक कारवाही गर्न सक्ने उनको भनाइ छ ।
पनेरुले भने, ‘सामान्य सार्वजनिक सवारीले पनि डिलक्स र डिलक्सले सुपर डिलक्सको भाडा लिएको हुन सक्छ । विभागले पनि कुनै गुनासो वा उजुरीविना कारवाही गर्न सक्दैन । बढी भाडा लिएको पाइए विभागले आवश्यक कारवाही पक्कै गर्छ, त्यसका लागि प्रमाणसहित आउनुपर्ने हुन्छ ।’

यातायात व्यवसायी योगेन्द्र कर्माचार्य भने तोकिएको भन्दा बढी भाडा नलिएको दाबी गर्छन् । उनले भने, ‘विगतका वर्षजस्तो बढी भाडा लिने र सिस्टम नबनेको भन्ने छैन । पोहोरभन्दा यो वर्ष राम्रो र यो वर्ष भन्दा अर्काे वर्ष राम्रो सिस्टम बन्दै गएको छ । यात्रु ठगिने र बढी भाडा लिने विषय विगतका वर्षहरूमा हुने गरे पनि अब हुन छाडिसक्यो ।’ यदि कसैले लिएको गुनासो आए नेपाल यातायात व्यवसायी महासंघ र यातायात व्यवस्था विभाग दुबैले कारवाही गर्न सक्ने पनि कर्माचार्यले बताए ।
स्वरोजगार यातायात मजदुर संगठनका अध्यक्ष खड्गबहादुर गिरीले विभागले दिएको सीमाबाहिर गएर भाडा नलिएको बताए । त्यो भन्दा बढी भाडा लिएर जाने सवारी तोकिएको गन्तव्य मात्रै नभएर त्यसभित्रको स्थानीय रूटमा पनि पुगिरहेको तर्क उनको छ ।
गिरीले काठमाडौंबाट पोखरा जाने माइक्रो, डिलक्स, सुपरडिलक्स र पर्यटक सवारी सबैको भाडा फरकफरक भएजस्तै आरामदायी यात्रा गराउने आधारमा भाडा फरक पर्ने बताए ।