२६ जेठ २०८३, मंगलबार
फूल व्यवसायमा जमेका महेन्द्र

फूलले बदलिदिएको महेन्द्रको भाग्य– ७०० को जागिर छाडेर महिनाकै ७ लाखसम्म [भिडियो]

कात्तिक ७, २०७९

महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो ।

भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा जोडिएका उनले लोकान्तरसँगको कुराकानीमा बताए । 

‘भिनाजुको भाइ दरबारको बगैंचा शाखाको प्रमुख थिए,’ उनले भने, ‘भिनाजुको आफ्नै प्राइभेट अमन नर्सरी पनि रहेछ । उहाँले मलाई त्यहीँ रोजगार लगाइदिनुभयो ।’

शुरूमा उनको तलब थियो ७०० रुपैयाँ । काम मालीको गर्नुपर्थ्यो । सधैंजसो माटोमा खेल्ने, फूलको बिरुवा रोप्ने उनको काम थियो ।

यसरी माटोमा खेल्ने जागिर गर्दा शुरूमा मन खिन्न भएको उनले बताए । ‘गाउँका साथीहरू भेट्दा म सधैँ गुनासो पोख्थे,’ उनले भने, ‘काठमाडौं आएर पनि यस्तै माटोमा खेल्ने जागिर खानुभन्दा त गाउँमै राम्रो हुन्थ्यो होला भन्थें, तर बिस्तारै फूल बिरुवासँग मेरो मोह बढ्दै गएकाले यो पेशा छाड्नै सकिनँ ।’

नर्सरीकै काम गर्न भनेर करीब साढे २ वर्ष कतार पनि बसेको उनले बताए । नेपाल फर्केपश्चात बिहे गरेर पत्नीलाई कतै सेटल गराउनुपर्‍यो भनेर किराना पसल खोले तर विदेशमा कमाएको सबै पैसा त्यो पसलमा डुबाएको नमीठो अनुभव उनले कुराकानीमा सुनाए ।

पछि फेरि नर्सरी कर्ममै जागिर खाने मनस्थिति बनाई उनले आफ्ना पुराना साथीभाइसँग सम्पर्क गरेर करीब २ वर्ष जागिर गरे तर उनलाई सन्तुष्टि भएन । त्यसपछि उनले आफ्नै नर्सरी खोल्ने सोच बनाए ।

जसोतसो २ वर्ष जागिर गरेर तलबबाट ८० हजार रुपैयाँ रकम बचत गरेको उनले बताए । 

‘त्यो रकम आफ्नै नर्सरीमा लगानी हालें । आफूले कमाएको पैसाले भौतिक संरचना बनाउन मात्र पुग्यो,’ उनले भने, ‘त्यसपछि फूल बिरुवा लगाउन चाहिने थप रकम साथीभाइसँग ऋण सापटी गरेर आफ्नै नर्सरी सञ्चालन गरें ।’

उनले थपे, ‘३० वर्ष पहिला फूल बिरुवाका सौखिन राणाहरू र शाह मात्र हुन्थे भने अहिले धेरैजसो मानिसहरू फूल बिरुवाका सौखिन भएका छन्, अहिले म महिनाकै ७ लाखसम्मको आर्थिक कारोबार गर्छु ।’

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्