२६ जेठ २०८३, मंगलबार
चाडपर्व

तिहारका परिकार : हनि नट्स सेलरोटी, रंगिन फिनिरोटी र झिलिङ्गा

कात्तिक ९, २०७९
तिहारका परिकार : हनि नट्स सेलरोटी, रंगिन फिनिरोटी र झिलिङ्गा

तिहारलाई एक रंगिन पर्व मानिन्छ । सेलरोटी विना तिहार अधुरो रहन्छ । लक्ष्मी पूजा गर्दा होस् या देउसीभैलोलाई दिन होस्, सेलरोटी नभई हुँदैन । भाइटीकाको किस्तीमा पनि सेलरोटी विना अधुरो हुन्छ ।

तिहारको विशेषता भनेको सेलरोटी, फिनीरोटी, झिलिङ्गा रोटी, अनारसा, मालपुवा, लड्डु, बर्फी, रसगुल्ला, कुराउनी, पेडा, कालाकन्ड, गुलाब जामन निकै प्रख्यात छन् ।

यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरू भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । ५ दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो ५ दिवसीय पर्व विशेषगरी नेपालमा मनाइन्छ ।

तिहारमा बजारमा किनेको मिठाइ र रोटीहरू किन्नुभन्दा सकेसम्म घरमा आफैं बनाउन सके स्वस्थबर्द्धक पोषिलो हुन्छ । थोरै समय दिएर आफैंले बनाउँदा घरको माहोल पनि रमाइलो र परिवारमैत्री हुन जान्छ ।

यहाँ हामीले प्रमुख ३ तिहारका रोटीहरू बनाउने विधि उल्लेख गरेका छौं, जुन तिहारका लागि उपयोगी साबित हुन्छ ।

हनि नट्स सेलरोटी

हनि नट्स सेलरोटी बनाउन चाहिने सामग्रीः ताइचिन चामम–५०० ग्राम, शुद्ध नेपाली घ्यु–३ चिया चम्चा, चिनी–१/४ कप, मह–५ टेबल चम्चा, उसिनेर पिसेको काजु पेस्ट, सुजी–१/४ कप, मौदा–३ टेबल चम्चा, दूध–१ कप, सुकमेलको धुलो–पिन्च, बेकिङ सोडा–चिम्टी, पानीः आवश्यकताअनुसार ।

हनि नट्स सेलरोटी बनाउने तरिका ः चामललाई १ घण्टा भिजाएर छान्ने र घाम या हावामा सुकाउन राख्ने । हल्का सुक्खा हुनासाथ बल्यान्डरमा पिसेर एउटा बाटामा खन्याउने । घ्यु हालेर माडी–माडी मुछ्ने र एकछिन रेस्ट गराउने । केही समयपछि बाँकी सम्पूर्ण सामग्री हालेर माडी–माडी मुछ्ने । छोपेर २ देखि होल नाइट रेस्ट गराउने र बाक्लो सेल पकाउने तावामा तेल हालेर तताउने । हात या सोलीको माध्यमले बीचमा केही तिङ्ग या दियो राखी गोलो सेल रोटी पकाउने । यसरी तयार भएको सेलरोटी निकै स्वादिष्ट र क्रन्ची हुन्छ ।

रंगिन फिनी रोटी

रंगिन फिनी रोटी बनाउन चाहिने सामग्री ः मैदा–४ कप, चामलको पिठो–आधा कप, घ्यू–५ चम्चा, पानी– डो बनाउन आवश्यकताअनुसार, नून–स्वाद अनुसार, आइसिङ्ग सुगर–आधा कप, तेल–फ्राई गर्न पुग्ने, फूड कलर–रातो, पहेंलो, हरियो, गुलाबी १–१ चिम्टी

रंगिन फिनी रोटी बनाउने तरिका ः दुवै पिठो मिसाएर नून र घ्यू हाली माड्ने र तपाईंलाई कति कलरमा फिनी रोटी बनाउने हो, त्यति वटा बाटामा बराबर पिठो विभाजन गरी भिन्न–भिन्न ‘फूड कलर’ हाली आवश्यकताअनुसार पानी हाल्ने । माडी–माडी डो मुछेर घटीमा १५–२० मिनेट छोपेर रेस्ट गराउने । छुट्टाछुट्टै मुछेको पिठोलाई १–१ गरी बेल्ने । बेलेको सबै रोटीमा थोरै मैदा, चामलको पिठो र तेलले बनाएको लेदो दल्ने ।

सबै बेलेको रोटीलाई एकअर्कामाथि खप्टेर बिछ्याउने । अब सबै रोटीलाई एकसाथ समाएर रोल गर्ने र चक्कुले सानो–सानो पिसमा काटेर लाम्चो आकारमा बेल्ने । अब फिनी रोटीलाई तातेको तेलमा फ्राई गर्ने र यो पत्र–पत्र बनेर रंगिन देखिन्छ । नुनिलो मन पर्नेले यत्तिकै खादा हुन्छ भने गुलियो मन पर्नेले तातो–तातो पत्रे रोटीमा धुलो चिनी (आइसिङ्ग सुगर) छर्केर खान सकिन्छ ।

पत्रे रोटी केटाको विवाहमा जति प्रसिद्ध छ, त्योभन्दा पनि तिहारको भाइटीकामा अझै बढी महत्त्व राखेको हुन्छ । यदि तपाईंलाई प्रोसेस गरेको फूड कलर प्रयोग गर्न मन छैन भने चुकन्दरको जुस, गाँजरको जुस, पालकको जुस जस्ता प्राकृतिक रंग हालेर पिठो मुछ्न सक्नुहुन्छ ।

झिलिङ्गा रोटी

झिलिङ्गा रोटी बनाउन चाहिने सामग्री ः चामलको मसिनो पिठो–२ कप, पानी–लगभग ५ कप, खाने सोडा–पिन्च, ३ या ४ थरिको फूड कलर–सबै पिन्च, तेल तार्न आवश्यकताअनुसार ।

झिलिङ्गा रोटी बनाउने तरिका ः झिलिङ्गा रोटी बनाउन सबै पिठोलाई तातो उम्लेको पानीमा राम्ररी मुछ्ने र छुट्टाछुट्टै कलर हालेर पुनः ३ या ४ भागमा विभाजन गरी मुछ्ने । केहीबेर रेस्टमा राखी हल्का तेल मालिस गरी हाते मशिनमा डो हालेर छुट्टाछुट्टा प्लेट या केराको पातमा राखेर नूडल्स् जसरी तस्वीरमा देखाएझै सुकाउने र तातेको तेलमा फ्राई गरेर भाइटीकाको भागमा राखेर रंगिन बनाउन सकिन्छ । नेवारहरूले यो रोटीलाई सिन्का मरी भनेर तिहार तथा अन्य अवसरमा प्रयोग गर्छन् । पछिल्लो समय यो रोटी तयारी अवस्थामा पनि रंगरंगमा पाइन्छ । झिलिङ्गा रोटी तराईमा पनि निकै प्रसिद्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्