अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको बताउँदै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन् ।
फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई बिना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रूपमा लिएको केकीले बताएकी छन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको ११औँ संस्करण काठमाडौंमा शुक्रवारबाट शुरु भइरहेको छ । अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन हुने फेस्टिभल यो पटक काठमाडौं र सुर्खेत गरी दुई ठाउँमा सञ्चालन हुनेछ ।
केकीले आफू अभिनेत्रीसँगै फिल्म निर्माणमा पनि सक्रिय रहेकाले युरोपियन फिल्म फेस्टिभलमा देखाइने फिल्म हेर्न उत्साहित रहेको बताउँछिन् । ‘म आफैँ पनि व्यावसायिकसँगै महोत्सव केन्द्रित फिल्म बनाइरहेकी छु । त्यसैले पनि यो महोत्सवलाई मैले उत्सुकतापूवर्क लिएकी छु । महोत्सवमा १३ वटा प्रतिष्ठित अवार्ड प्राप्त युरोपियन फिल्महरु देखाइँदैछन् । म सुटिङ वा यसको तयारीबाट फुर्सद मिलाएर पनि सबै फिल्म हेर्ने योजनामा छु’, उनले भनिन् ।
केकीले केही दिनअघि मात्र ‘प्रसाद २’ साइन गरेकी छन्, जसको सुटिङ मंसिरको पहिलो साता हुँदैछ । केकीले नेपाल युरोपियन फिल्म फेस्टिभलमा युरोपियनसँगै नेपाली फिल्म पनि देखाइने भएकाले नेपाली फिल्म पनि युरोपियन दर्शकसम्म पुगिरहेको बताइन् ।
‘महोत्सवमा नेपाली फिल्म पनि देखाइँदैछन् जुन युरोपका दर्शकले पनि हेर्नुहुँदैछ । यसले नेपाली कला संस्कृति त उता पुग्छ नै कालान्तरमा यसले सहकार्यको ढोका पनि खोल्न सक्छ’, केकीले भनिन् ।
केकीले युरोपका फिल्म नेपालमा देखाएजस्तै नेपाली फिल्म पनि विश्वका विभिन्न देशमा देखाउन पहल गर्नुपर्ने आवश्यकता रहेको औँल्याइन् । उनले भनिन्, ‘व्यक्तिगत रुपमा फिल्मकर्मीले आआफ्नो हिसाबले विश्वका फिल्म महोत्सवमा फिल्ममार्फत देशको प्रतिनिधित्व गरिरहनु भएको छ । तर, यसलाई संगठित रुपमा सरकारले पनि अगाडि बढाउन जरुरी छ । यसले नेपाली फिल्म र फिल्मकर्मीका लागि थप अवसरको ढोका खोल्न सक्छ ।’
नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुनेछ । महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रर्दशन हुने आयोजकले जनाएको छ । फिल्म फेस्टिभलको यो संस्करण काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्व विद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन् ।
यसरी प्रदर्शन हुने ३ नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव कात्तिक १९ गते शुरू भएर २२ गते सकिनेछ ।