
यतिबेला नेपाली चलचित्र ‘महापुरुष’ले हलमा दर्शकहरूको उत्साहजनक साथ पाइरहेको छ । दोस्रो सातामा पनि चलचित्र हेर्न हल पुग्नेहरूको उपस्थिति बाक्लो छ ।
चलचित्रको कथा, प्रस्तुति, कलाकारहरूको अभिनय सबै कुरालाई दर्शकहरूले रुचाएका छन् । कलाकारहरूमा नव–अभिनेता अरुण क्षेत्रीले पनि दर्शकहरूबाट वाहवाही पाएका छन् । डेब्यू चलचित्र भए पनि अरुणले उत्कृष्ट अभिनय गरेको दर्शकहरूको प्रतिक्रिया छ । समीक्षकहरूले पनि अरुणले अभिनयमा सम्भावना देखाएको बताएका छन् ।
प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’बाट अरुणसँगै अञ्जना बराइलीले पनि डेब्यू गरेकी छन् । हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्रमा गौरी मल्ल, रविन्द्रसिँह बानियाँ, राजाराम पौडेललगायतको पनि भूमिका छ । प्रदर्शनको पहिलो साता चलचित्रले ५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।