
पशुपति क्षेत्रको भष्मेश्वर घाट क्षेत्रबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको चार सय ९५औँ हप्ताका अवसरमा पशुपति क्षेत्रमा शुक्रबार हरिबोधिनी एकादशीमा भक्तजनले चढाएको फूलपाती प्रसाद टपरी आदि सफाइ गरिएको थियो । भष्मेश्वर घाटबाट निस्केको कुहिने फोहरलाई खाल्डो खनी वाग्मती किनारमा पुरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले बताए ।
नकुहिने फोहर दुई टन काठमाडौँ महानगरपालिका वातावरण विभागको ट्रकमा राखी व्यवस्थापन गरिएको थियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, पूर्व मुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती समितिका आयोजना प्रमुख सुवास बस्नेत, वाग्मती सफाइ अभियानका सूत्रधारद्वय अभियानकर्मी डा राजु अधिकारी र नारायणकुमार श्रेष्ठ, वाग्मती अभियाकर्मीहरू डा माला खरेल, गोविन्द काफ्ले, प्रिया लामिछाने, प्रमिला पौडेल, दुर्गा रावललगायतको सक्रियता थियो ।