०४ साउन २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

मतदाता फकाउन गच्छदारको कलाकारिता : छिनमै हाँस्छन्, छिनमै आँसु झार्छन् !

कात्तिक २३, २०७९
मतदाता फकाउन गच्छदारको कलाकारिता : छिनमै हाँस्छन्, छिनमै आँसु झार्छन् !

वि.सं. २०४८ र त्यसयता भएका सबै चुनावको नतिजा आफ्नो पोल्टामा पारेका चतुर राजनीतिक खेलाडी विजयकुमार गच्छदार सातौंपटक संसद् छिर्ने प्रयासमा छन् । 

२०४८ देखि २०७४ सम्म भएका सबै चुनावमा गच्छदारले बाजी मारेका छन् । २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा चुनावमा उनले कांग्रेसबाट जिते । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी मधेशी जनअधिकार फोरमबाट निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट चुनाव जिते ।

२०४८ मा उनले एमालेका लीला श्रेष्ठलाई झन्डै दोबर मतले पराजित गरी संसदको पहिलो यात्रा तय गरेका थिए । २०५१ को मध्यावधि चुनावमा एमालेका कुलदीप पेशकर र २०५६ मा एमालेकै रेवतीरमण भण्डारीलाई पराजित सिंहदरबार छिरे ।

२०६४ को चुनावमा उनले कांग्रेस छाडिसकेका थिए । मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेका उनले कांग्रेसका अगमलाल चौधरीलाई झण्डै दोब्बर मतले पराजित गरे ।

२०७० को दोस्रो संविधानसभा चुनावमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उम्मेदवार बने । फोरम (लोकतान्त्रिक)को अध्यक्ष गच्छदार आफैँ थिए । उनले ३६२ मतको अन्तरले एमालेकी भगवती चौधरीलाई हराएका थिए । 

त्यसपछि उनले आफ्नै नेतृत्वमा रहेको फोरम (लोकतान्त्रिक)लाई कांग्रेसमा विलय गराए । पुरानै घरमा फर्किएका गच्छदार कांग्रेसको उपसभापति बने ।

२०७४ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर उनले दोस्रोपटक पनि भगवतीलाई पराजित गरे ।

भगवती र गच्छदार तेस्रोपटक आमनेसामने भएका छन् । ६ पटक सांसद भइसकेका गच्छदार सातौंपटक सांसद हुनका लागि घरदैलोमा व्यस्त छन् ।

माहोल हेरेर कहिले आँसु झार्ने, कहिले विकासका कुरा 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलनसम्बन्धी प्रकरणमा उनले भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि गच्छदारको पद निलम्बनमा परेको थियो । २०७८ असार ३० गते विशेष अदालतले १० लाख धरौटीमा छाडे पनि उनको मुद्दा किनारा लागेको छैन ।

उनले यही मुद्दालाई चुनावी एजेन्डा बनाएका छन् । आफ्नो राजनीतिक करीयर सक्नका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले षडयन्त्र गरेको आरोप उनले लगाउने गरेका छन् ।

‘ललिता निवास जग्गा प्रकरणमा मेरो कुनै दोष नभए पनि फसाइयो,’ इटहरीको संगीत चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘ओली नेतृत्वको सरकारले फसाए पनि जनताको न्यायालयबाट न्याय पाउँछु भन्नेमा म ढुक्क छु ।’ 

उनले अब आफू सातौंपटक जनताबाट अनुमोदित हुने विश्वास व्यक्त गरे ।

‘म जनताको अदालतबाट ६ पटक पास भएको छु । ७ औं पटक यसअघिको भन्दा धेरै भोट ल्याएर जितें भने मात्र मैले न्याय पाउनेछु,’ उनले भने । 

भाषण गर्दागर्दै उनले गहभरी आँसु पारेका थिए । उनले हरेकजसो चुनावी सभामा आँसु झार्ने गरेका छन् । कांग्रेसकै एक कार्यकर्ताले भने, ‘हाम्रो नेताजी कलाकार नै हुनुहुन्छ । धेरै भीड र महिलाहरू धेरै देख्नुभयो भने विभिन्न समस्या देखाएर धुरुधुरु रुनुहुन्छ ।’ 

उनले आफू सांसद र मन्त्री हुँदा धेरै काम गरेको दाबी गर्ने गरेका छन् । ‘मैले बजेट ल्याएर बाटो तथा पुल बनाएँ । त्यही बाटो र पुल हुँदै चिल्ला गाडीमा हिँड्छन्, अनि मेरै विरोध गर्छन्,’ गच्छदारले भन्ने गरेका छन्, ‘मैले जेलनेल बसेर गरेको दुःख कसैले सम्झँदैन ।’

विपक्षीहरू देखिँदा आत्मविश्वास देखाउन हाँस्छन्, पुरुषहरू र प्रबुद्ध व्यक्तिहरूको अगाडि विकासको कुरा गर्छन् अनि महिला तथा वृद्धवृद्धा भेट्दा आँसु झार्छन्, यसैगरी गच्छदारको चुनावी घरदैलो चलिरहेको छ ।

६ पटक सांसद, १२ पटक मन्त्री 

०४८ सालदेखि अहिलेसम्म गच्छदार १२ पटक मन्त्री भइसकेका छन् । चारपटक त उनी उपप्रधानमन्त्री नै बनेका छन् । 

गच्छदार २०४८ सालमा सञ्चार राज्यमन्त्री, २०५२, २०५४ र २०५५ सालमा निर्माण तथा यातायात मन्त्री, २०५६ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्री, २०५६ मै जलस्रोत मन्त्री, २०५८ मा जलस्रोत मन्त्री, २०६५, २०६६ र २०७२ मा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री, २०६८ मा उपप्रधान तथा गृहमन्त्री तथा २०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री बनेका थिए ।

सिंहदरबार छिर्ने उनको मोह अझै घटेको छैन । उनी यसपटक मात्र नभएर आगामी निर्वाचनमा पनि आफू चुनावी मैदानमै रहने बताउँछन् ।

कमेन्ट गर्नुहोस्