२७ जेठ २०८३, बुधबार
रूपन्देही-५

अब्बल जनप्रतिनिधिको विरासतमा चुनाव लड्दै वासुदेव घिमिरे, नमूना निर्वाचन क्षेत्र बनाउने एजेन्डा

कात्तिक ३०, २०७९
अब्बल जनप्रतिनिधिको विरासतमा चुनाव लड्दै वासुदेव घिमिरे, नमूना निर्वाचन क्षेत्र बनाउने एजेन्डा

२०७४ मा रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर सफल कार्यकाल पूरा गरेका वासुदेव घिमिरे अहिले संघीय सांसदको उम्मेदवार छन् । नेकपा एमालेले उनलाई रूपन्देही क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनाएको छ । 

नगरप्रमुखको ५ वर्षे कार्यकालमा उनले तिलोत्तमा नगरपालिकालाई विकसित र व्यवस्थित नमूना स्थानीय तहकोरूपमा स्थापित गराएका छन् । 

५ वर्षको अवधिमा गरेका कामको जगमा उभिएर उनले संघीय सांसदको चुनावी प्रचार गरिरहेका छन् ।  

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणका क्षेत्रमा घिमिरेले रचनात्मक काम गरेको भन्दै स्थानीयस्तरमा उनको प्रशंसा हुने गरेको छ ।

घिमिरे नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिका स्थानीय कानुन बनाउने पहिलो पालिका भएको थियो । काठमाडौंबाहिर पहिलो पटक लगानी सम्मेलन, मुलुककैं पहिलो पूर्ण सरसफाई उन्मुख पालिका, सेवा प्रवाहमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो पालिकाकोरूपमा घिमिरेले तिलोत्तमालाई स्थापित गराएका थिए ।

तिलोत्तमा नगरपालिकाले २०७७ र २०७८ सालमा मुलुककै उत्कृष्ट नगरपालिकाको पुरस्कार र सम्मान पाएको थियो । ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिकाको पुरस्कार हस्तान्तरण गरेका थिए ।

नगरपालिकालाई नमुना बनाउन दिलोज्यान दिएर काम गरेका घिमिरेले नगरप्रमुखकोरूपमा प्राप्त गरेको पारिश्रमिक भने व्यक्तिगत खर्चमा लगाएनन् । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई छात्रवृत्ति दिए ।  

असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि हुँदा विकास र समृद्धि सम्भव छ भन्ने उदाहरण बनेका घिमिरे आर्थिक र सामाजिकरुपमा पछाडि पारिएको वर्ग, समुदायको उत्थान आफ्नो प्राथमिकतामा पर्ने बताउँछन् । 

प्रतिनिधि सभाको चुनावी मैदानमा रहेका घिमिरेसँग सत्तारूढ गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका नेता भरत शाह प्रतिस्पर्धामा छन् । 

तीन पटक संसदीय चुनावी जितेका शाहलाई यसपटक घिमिरेले रोक्न सक्छन् या सक्दैनन्, त्यो त मंसिर ४ को मतदानले निर्धारण गर्नेछ । बुद्धको जन्मस्थल लुम्बिनीसमेत पर्ने यो निर्वाचन क्षेत्र रूपन्देहीका अन्य निर्वाचन क्षेत्रको विकासभन्दा पछि परेको र विकासका कामलाई गति दिन आवश्यक रहेको घिमिरे बताउँछन् । 

सत्तारूढ गठबन्धनका उम्मेदवार शाहले चुनावी एजेण्डा बनाउँदै आएको कञ्चन बाँधको काम अहिलेसम्म सम्पन्न भएको छैन । 

‘यहाँका मतदाताले तीव्र विकास र परिवर्तन चाहेका छन् । त्यसकारण मतदाताले मेरो आवश्यकता महसुस गरेका छन्’, घिमिरे भन्छन्, ‘मैले चुनाव जित्दा रूपन्देही–५ लाई नमूना निर्वाचन क्षेत्र बनाउने सोच र योजना बनेका छन् ।’ 

यी हुन् घिमिरेका मुख्य चुनावी एजेण्डा 

घिमिरेले निर्वाचन क्षेत्रलाई नै बुद्धको जन्मथलो लुम्बिनीकोरूपमा विकास गर्नुपर्ने घिमिरे बताउँछन् । ‘लुम्बिनी विकास कोषले चर्चेको क्षेत्रमात्र होइन, समग्र क्षेत्रलाई नै केन्द्रमा राखेर विकास गर्ने योजना छ । अव्यवस्थित बसोबास, भूमिहिन दलित, सुकुम्बासीहरूको समस्याको समाधान गर्दै खेतीयोग्य जमिनमा भूमिगत सिञ्चाइको व्यवस्था गर्ने योजना छ’, घिमिरेले भने । 

कृषि तथा पशुपालनको व्यावसायीकरण, किसान कार्ड र कृषक अनुदानको व्यवस्था गर्ने, एक निर्वाचन क्षेत्र एक राष्ट्रिय उद्योगको अवधारणा कार्यान्वयन, पर्यटन विकासको पूर्वाधार बनाउने, विस्तृत सडक गुरूयोजना निर्माणगरी सबै सडकको स्तरोन्नती गर्ने चुनावी एजेण्डा घिमिरेले ल्याएका छन् । 

त्यसैगरी, अत्याधुनिक तथा सुविधा सम्पन्न १०० शैयाको अस्पताल बनाउने,् प्रत्येक गाउँपालिका र नगरपालिकामा सुविधा सम्पन्न बर्थिङ सेन्टरको स्थापना, सबै जातजाति, वर्ग, र समुदायलाई सबै क्षेत्रमा निस्पक्ष र समान अवसरको ग्यारेन्टी, युवाहरूलाई स्वरोजगारी बनाउँदै उद्यमशीलता विकासका लागि व्यवसायिक तथा सिपमुलक शिक्षा लगायतका एजेण्डा लिएर घिमिरे चुनावी मैदानमा छन् ।

यस्तो छ चुनावी अंक गणित  

रूपन्देहीको क्षेत्र नम्बर–५ नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल गरेको छ । काँग्रेससँग माओवादी, नेकपा (एस), राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धन छ । 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतको आधारमा क्षेत्र नम्बर– ५ मा एमाले, जसपा र राप्रपाको प्यानल बलियो देखिन्छ । यहाँका ३२ वटा वडामा वडाध्यक्षलाई खसेको मतको आधारमा एमाले, जसपा र राप्रपा सत्तारूढ गठबन्धनभन्दा ६ हजारभन्दा बढी मतले अगाडि देखिन्छ । 

रूपन्देही–५ मा एमाले एक्लैको मत २७ हजार १४५ प्राप्त गर्दा काँग्रेसको २६, ८८८ मत रहेको छ । यस्तै, जसपाको ९ हजार ३३७, माओवादीको ४ हजार ६२५, लोसपाको ३ हजार ५५६, राप्रपाको २ हजार ८१३ र नेकपा (एस)का १ हजार १६३  मत आएको थियो भने जनमत पार्टीले ५ हजार ६५६ मत पाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्