![ललितपुर– ३ : पम्फा भुसालको चुनावी घरदैलोमा जे देखियो [फोटो र भिडियो]](https://lktcdn2.prixacdn.net/media/Pamfa_Bhusal23_qsMypRCEqv.png)
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू यतिबेला चुनावी प्रचार–प्रसारको अन्तिम समयमा आइपुगेका छन् ।
चुनाव प्रचारको समयसीमा सकिन लाग्दा उम्मेदवारहरूले प्रचार–प्रसारलाई थप सक्रिय बनाउँदै लगेका छन् । चुनावी सभादेखि घरदैलो कार्यक्रमहरूले दिनभर उम्मेदवारलाई फुर्सद मिलेको देखिँदैन ।
यसैक्रममा, ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी पम्फा भुसाल पनि घरदैलो कार्यक्रममा निकै सक्रिय देखिन्छिन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव रहेकी भुसाल बिहानैदेखि घरदैलो एवं चुनावी सभामा सक्रिय हुने गरेकी हुन् ।
भुसाल वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट ‘हँसिया हथौडा’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी हुन् ।
मंगलवार बिहान ललितपुर भैँसेपाटी क्षेत्रमा पुग्दा भुसालको घरदैलोमा छुट्टै उत्साह देखिन्थ्यो ।
दर्जनौं कार्यकर्ताहरूको साथमा भुसाल बिहान ८ बजेदेखि झण्डै ३ घण्टाभन्दा लामो समय पैदल हिँडेरै भैँसेपाटीका विभिन्न क्षेत्रमा पुगिन् ।
घरदैलो गरिरहँदा भुसाललाई थुप्रै मतदाताले फूलमाला र खादाले स्वागत गरे । कतिले टाढैबाट हात हल्लाए । जीतको शुभकामना दिए ।
‘जनताका आवश्यकता बुझेकी छु, जित्नेमा ढुक्क छु’
बिहानी घरदैलोपश्चात लोकान्तरसँग कुरा गर्दै भुसालले आफू विजयी हुनेमा ढुक्क रहेको बताइन् ।
आफूहरूको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग रहेको भए पनि आफूले जनताको आवश्यकता बुझेका कारण मतदाताले विजयी बनाउने उनको विश्वास छ ।
‘दुई–दुईपटक यही क्षेत्रबाट जितेकी छु । जनताका आवश्यकता, समस्याहरूलाई चिन्छु,’ उनले भनिन्, ‘ती आवश्यकता र समस्याहरू केही सम्बोधन भएका छन् । केही हुने तयारीमा छन् । जनताले मैले गरेका कामलाई बुझेर विजयी बनाउनुहुन्छ भन्ने लाग्छ ।’

यस क्षेत्रमा स्वतन्त्र पार्टीको उम्मेदवारको पनि राम्रो चर्चा छ नि ? भन्ने प्रश्नमा भुसालले भनिन्, ‘डडेलधुरा गएर एक जना युवा भाइ पनि उठ्नुभएको छ । चर्चा हुन्छ । तर, जनताले आफूले दिने मत विजयी बनोस् र विजयी मतको सरकार बनोस् भन्ने चाहन्छन् ।’
भुसालले युवाहरू राजनीतिमा आउनुपर्ने तर राज्य सञ्चालनको संरचना र विधिबारे बुझेर आउनुपर्ने बताइन् । अहिले देश नै गठबन्धनको पक्षमा रहेको पाएको भुसालको भनाइ छ ।
ललितपुर –३ मा नेकपा एमालेबाट अमृत खड्का भुसालको प्रतिस्पर्धी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा कार्की पनि प्रतिस्पर्धामा छिन् ।
हेर्नुहोस्, भिडियो :
हेर्नुहोस्, तस्वीर :

