२० असार २०८३, शनिबार

किन आन्दोलनमा उत्रिए बागमती किनारका सुकुम्वासी ? [भिडियो]

मंसिर ३, २०७९
किन आन्दोलनमा उत्रिए बागमती किनारका सुकुम्वासी ? [भिडियो]

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली गरेका थिए ।

आफूहरूलाई जबरजस्ती हटाउन पटक–पटक सूचना जारी गरिएको भन्दै पीडित सुकुम्वासीहरूले माइतीघरमा खबरदारी र्‍याली निकालेका हुन् ।

१० दिने अल्टिमेटम जारी गरेर आफूहरूलाई समयसीमा समेत नदिएको, सुकुम्वासीको उचित व्यवस्थापन नगरेको, आफूहरूको बाँच्न पाउनुपर्ने अधिकार समेत खोस्न लागेकाले आफूहरू प्रदर्शनमा उत्रिन बाध्य भएको उत्पीडित सुकुम्वासी समितिका अध्यक्ष मिनकुमार राना मगरले लोकान्तरलाई बताए ।

‘हामीले रहरले आन्दोलन गरेका थिएनौं, हाम्रो उचित व्यवस्थापन नगरिकनै खाली गर्न १० दिने अल्टिमेटम जारी गरेकाले आन्दोलन गरेका हौं,’ अध्यक्ष मिनकुमार रानाले भने, ‘उहाँहरूले पटक–पटक सूचना निकालेर हामीलाई त्रास र तनाव दिने गर्नुभएको छ ।’

‘आउँदो मंसिर ६ गते वार्ताका लागि आह्वान गर्नुभएको छ र त्यस वार्तामा आफूहरूले हाम्रो उचित वासस्थानका लागि कडा आवाज उठाउने छौं,’ उनले भने, ‘’हामीलाई चित्तबुझ्दो स्थानमा सरकारले स्थानान्तरण गरिदिने हो भने हामी जान तयार रहेका छौं ।’

सरकारले इचंगुनारायणमा आफूखुशी आफ्नै ढंगले अव्यावहारिक तरिकाले भवन बनाएको, त्यो भवन बनाउँदा सुकुम्वासीसँग कुनै सल्लाह नगरेको र एउटा परिवार बस्न पनि निकै कठिनाइ हुने देखिएकाले त्यहाँ नजाने निर्णय गरिएको अध्यक्ष राना मगरले बताए ।

बागमती सभ्यता एकीकृत विकास समितिले कात्तिक २५ गते एउटा सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल समेत प्रयोग गरेर हटाउने चेतावनी समेत दिएको थियो ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्