२०४८ सालयताका संसदीय र स्थानीय निर्वाचनमा दैलेख– २ नेपाली कांग्रेसको गढ मानिन्थ्यो । २०४८ को संसदीय निर्वाचन तथा २०४९ र २०५४ को स्थानीय निकाय निर्वाचनमा अधिकांश गाविसमा कांग्रेसले बर्चस्व जमायो ।
२०५१ मा कांग्रेसको अन्तरकलहका कारण नेपाल मजदुर किसान पार्टीका विनोदकुमार शाह निर्वाचित भए । आधिकारिक उम्मेदवार रंगबहादुर शाहीविरुद्ध पार्टीकै नेता चक्रनाथ योगीले बागी उम्मेदवारी दिएपछि उक्त निर्वाचनमा पराजय भोग्न बाध्य भयो, कांग्रेस ।
दैलेख– २ मा २०४८–२०५१ सम्म कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तथा २०५६ देखि यता भने कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ ।
२०५२ मा नेमकिपाको ठूलो समूह एमालेमा समाहित हुनुअघि कांग्रेस–नेमकिपाबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो । २०४८ यताका ६ वटा संसदीय निर्वाचनमा कांग्रेसले २, नेमकिपाले १ र एमालेले तीनवटा चुनाव जितेका छन् ।
२०५६ को निर्वाचनमा जीत हासिल गरेको कांग्रेसलाई त्यसयताका संसदीय निर्वाचन भने फापेन । २०४८ मा रंगबहादुर शाही र २०५६ मा शिवराज जोशीले जितेको यो क्षेत्रमा २०६४, २०७० र २०७४ निर्वाचनमा कांग्रेसले नराम्ररी पराजय भोग्यो ।
२०६४ मा एमालेका राजबहादुर बुढा, २०७० मा लक्ष्मीप्रसाद पोखरेल र २०७४ मा पुनः बुढा यस क्षेत्रबाट निर्वाचित भए ।
लगातारका तीन निर्वाचनमा हारको पीडा खेपेको कांग्रेसको यसपटक पुनरोदय भएको छ । बुधबार राति सम्पन्न मतगणनामा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई झिनो मतान्तरले पराजित गर्दै कांग्रेसका दिक्पाल शाही निर्वाचित भए ।
२० हजार १५८ मतका साथ यो क्षेत्रमा दिक्पाल विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी पोखरेलले २० हजार ५ मत प्राप्त गरे ।
कांग्रेस क्षेत्र नं २ का सभापति भरत रिजाल विगतको हारमा पार्टीभित्रको आन्तरिक कलहले काम गरेको र यसपटक त्यस्तो समस्या नदेखिएको बताउँछन् ।
‘२३ वर्षपछि हामी चुनाव जित्न सफल भएका छौं, यसले पार्टीपंक्तिमा निकै उत्साह छाएको छ,’ रिजाल भन्छन्, ‘अब सुझबुझपूर्ण तरिकाले क्षेत्रका समस्या समाधान गर्न पहल गर्छु ।’
गठबन्धनको बल र कांग्रेस उम्मेदवारप्रति जनताको सहानुभूति हुँदा जीत निकाल्न सहज भएको उनी बताउँछन् ।
राजनीतिसँगै निर्माण व्यवसायमा संलग्न दिक्पाल पार्टीका महाधिवेशन प्रतिनिधि हुन् । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा दैलेख २ (२) बाट एमाले उम्मेदवारसँग पराजित भएका थिए ।
अघिल्लो हारका कारण दिक्पालप्रति सहानुभूति बढेको कार्यकर्ताहरू बताउँछन् ।
प्रतिनिधिसभामा दिक्पालको जीतसँगै प्रदेशसभा १ मा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् । पूर्व क्षेत्रीय सभापति र दुल्लू नगरपालिकाको प्रमुख भइसकेका घनश्याम भण्डारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पत्रकारिता पृष्ठभूमिका भण्डारीले प्रदेश र दिक्पालले प्रतिनिधिसभामा जितेपछि दैलेख– २ मा कांग्रेसभित्र उत्साह छाएको छ । दुल्लू नगरपालिकाका प्रमुखसमेत रहेका क्षेत्रीय सभापति रिजाल भन्छन्, ‘स्थानीय निर्वाचनमा पनि दैलेख– २ का चार पालिका प्रमुख जितेका छौं । हारेका ठाउँमा पनि झिनो मतान्तर छ । स्थानीय तह र प्रदेश/संघीय सांसदसँग मिलेर काम गर्छौं ।'