
महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा प्रतिनिधि सभा र प्रदेश सभाका कुनै पनि क्षेत्रमा नेकपा एमालेले जित निकाल्ने सकेन । महासचिव पोखरेलसँगै प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभातर्फ ६ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार पराजित भए । प्रतिनिधि सभातर्फ दाङ–१ बाट नेकपा एकीकृत समाजवादीका नेता तथा मन्त्री मेटमणि चौधरी निर्वाचित भए । दाङ–२ बाट नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा निर्वाचित भइन् । भने, दाङ–३ बाट कांग्रेस युवा नेता दीपक गिरी विजयी भए ।
दाङ–२ मा प्रतिनिधि सभातर्फ माओवादी, प्रदेश सभातर्फ दुवै कांग्रेस
दाङ–२ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार रहेका महसचिव पोखरेल नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग झिनो मतले पराजित भए । पूर्वमन्त्री शर्माले २६ हजार ८७७ मत ल्याएर जित निकाल्दा पूर्वमुख्यमन्त्री पोखरेलले २६ हजार ६८१ मत मात्र ल्याउन सके । पोखरेल र शर्माको मतान्तरले १९६ मात्र थियो । दाङ–२ को प्रदेश सभातर्फका एमाले उम्मेदवार दुवै उम्मेदवार पराजित भए । २(१) बाट कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् ।
कांग्रेस नेता खनाल १५ हजार ६१६ मत ल्याएर निर्वाचित हुँदा एमालेका प्रदेश सभा उम्मेदवार बलिभद्र रानाले १४ हजार ४४९ मत ल्याउन सके । यस्तै दाङ २ (२)को प्रदेश सभामा पनि कांग्रेसका प्रचण्डविक्रम न्यौपाने निर्वाचित भए । न्यौपानेले १७ हजार ४६९ मत ल्याउँदा एमालेका उम्मेदवार गिरीराज केसीले १६ हजार ६९० मत ल्याए ।
दाङ–१ मा प्रतिनिधि सभातर्फ नेकपा एस र प्रदेशतर्फ माओवादी र कांग्रेस
दाङ–१ मा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमाले नेतृ शान्ता चौधरीलाई पराजित गरेर जित निकाले । मेटमणिले एमाले संसदीय दलका सचेतक शान्तालाई २६ हजार ५६३ मत प्राप्त गरी विजय हासिल गर्दा एमालेकी शान्ताले भने २१ हजार ४७९ मत मात्रै पाइन् । मेटमणिले ५ हजार ८४ मतले शान्तालाई पराजित गरे । यहीँ क्षेत्रबाट एमालेकी निर्वतमान सांसद गंगा चौधरीले पनि स्वतन्त्र उम्मेदवार दिइन् । उनले निकै कम मत मात्र ल्याइन ।
दाङ १(१) को लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारू विजयी भए । थारूले १३ हजार ५०५ मत ल्याएर जित निकाल्दा एमालेका गंगाराम भट्टराईले ११ हजार ७३० मत प्राप्त गरे । एमालेका भट्टराई १ हजार ७७५ मतले पराजित भए । १ (२) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा कांग्रेसका अनुराग खड्का १६ हजार २२२ मतका साथ विजयी भए । एमालेका कुलबहादुर खत्री क्षेत्री १३ हजार १७० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी मात्र बन्न पुगे ।
दाङ–३ मा प्रतिनिधि सभातर्फ कांग्रेस र प्रदेशतर्फ माओवादी र कांग्रेस
दाङ–३ मा एमालेकी महिला नेतृ कोमल वली कांग्रेसका दीपक गिरीसँग भारी मतले पराजित भइन् । नेता गिरी ३६ हजार ८४२ मत ल्याई विजयी हुँदा नेतृ वली २९ हजार ३२ मत मात्र ल्याउन सकिन । गिरी र वलीको मतान्तर ७ हजार ८०१ थियो । दाङ–३ को प्रदेश सभामा पनि सत्तारूढ गठबन्धन कांग्रेस माओवादीका उम्मेदवार विजयी भए । (१) बाट कांग्रेसका डिल्लीबहादुर चौधरी १९ हजार ८५० मत ल्याएर निर्वाचित भएका थिए ।
चौधरीसँग एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४५० मत मात्र पाए । दाङ ३(२) मा माओवादी केन्द्रका धनबहादुर मास्की निर्वाचित भए । उनले २२ हजार ३२१ मत ल्याएर प्रदेश सभा सदस्य निर्वाचित हुँदा एमालेका जिल्ला अध्यक्ष तथा उम्मेदवार हुकुम बस्नेत २० हजार १५८ मत पाएर दोस्रो भए ।
दाङका जनताले मलाई चिन्न सकेनन् : महासचिव पोखरेल
महासचिव शंकर पोखरेलले चुनावमा नयाँ शक्तिका कारण देशमा स्थायित्वको लागि समस्या देखिएको बताएका छन् । शुक्रवार नेकपा एमाले दाङले गरेको पत्रकार सम्मेलनमा पोखरेल आक्रोशित मुद्रामा प्रकट भए । उनले यो जनमतले राजनीतिक स्थायित्व थप संकटमा परेको बताए ।
पोखरेलले जनताले आफूलाई संसदीय भूमिकामा देख्न नचाहेको गुनासोसमेत गरे । पोखरेलले अब आफू पार्टी सुदृढीकरण र संगठन मजबुद बनाउनमा लाग्ने बताए । दाङका जनताले आफूले गरेका विकासका काम नबुझेकाले पनि पराजय भोग्नु परेको दुखेसो पोखे ।