२३ जेठ २०८३, शनिबार

मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सबै काम सकिन्छ : थपलिया

मंसिर १६, २०७९
मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सबै काम सकिन्छ : थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरू मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताए । 

थपलियाले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गरे । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेश हुने उनले बताए । 

‘आयोगको प्रयत्न भनेको हामी १९ गते सम्ममा अहिले प्रारम्भ भइरहेका सबै मत गणना कार्यहरू सम्पन्न गर्नेगरी तयारी गरिराखेका छौँ । र त्यो विवरण प्राप्त भएको दुई दिनभित्र हामी सबै राजनीतिक दलहरूलाई तपाईंहरूको हैसियत यस्तो रह्यो, प्रतिनिधि सभामा । प्रदेश सभामा एकदेखि सुदूरपश्चिम सम्ममा तपाईंहरू यो–यो अवस्थामा रहनुभयो । तपाईंहरूको यहाँ यहाँ थ्रेसहोल्ड कट्यो । यहाँ यहाँ कटेन यो अवस्था रह्यो । त्यसकारण तपाईंहरूले आयोगमा बुझाएको बन्दसूचीको आधारमा कानूनले तोकेको क्लष्टर र तपाईंले दिएको मर्यादाक्रम नमिचिने गरी तुरुन्तै आफ्ना माननीय सदस्यहरू निर्वाचित गरेर पठाइदिनुस् भनेर चिठी लेख्छौँ’, थपलियाले भने, ‘२२ गतेसम्म पत्राचार भइसक्ने गरी हाम्रो तयारी छ । त्यसको ३ दिन समय हुन्छ । र त्यो प्राप्त भएको दुई दिन भित्रमा हामीले सम्पूर्ण प्रतिवेदन तयार गरेर सम्माननीय राष्ट्रपतिज्यू समक्ष बुझाउने भनेर भनेका थियौँ । सबै अभ्यास २२ गते सक्ने भनेका थियौँ । त २५/२६ गते पुग्छ कि भन्ने देखिएको छ । आयोग त्यही अभियानमा तम्तयार भएर लागिराखेको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए । उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै भने, ‘एकै चरणमा यत्तिको शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होला र भनेर हामीलाई प्रस्ताव गर्दैगर्दा भनिएको विषय थियो । तर, हाम्रोजस्तो मुलुकमा जहाँ सुरक्षाको प्रत्याभूति सधैँ चाहिन्छ । चुनावमा मात्रै सुरक्षा चाहिने त होइन, सधै जरुरी छ । निर्वाचनको बेलामा फरक किसिमको सुरक्षा अनुभूति हो । आयोगले व्यवस्थापन गर्ने कुरा सम्पूर्ण व्यवस्थापन गर्नसक्छौँ भनेपछि अरु कुनै तर्क गरेर यो निर्वाचनलाई दुई वा तीन चरणमा लगिरहनु पर्दैन भन्ने हाम्रो जोड थियो । यसले अब के कुरा स्थापित गर्‍यो भने आगामी दिनहरूमा पनि निर्वाचन त भइरहन्छन् । ति निर्वाचनहरूमा पनि यो कुराहरू प्रमाणित गर्नुपर्दछ । हुन्छ भन्ने एउटा मानक यसले स्थापित गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्