
पुस १५ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ एक सातापछि सरेको छ । अब, यो फिल्म पुसको २२ गतेदेखि प्रदर्शनमा आउने भएको निर्माण टिमले जानकारी दिएको छ ।
अहिलेको अवस्थामा दुई राम्रो नेपाली फिल्म एकै मितिमा जुधाउनुभन्दा एक हप्तापछि शोलो रिलिज गर्नु उपयुक्त लागेको निर्माता अरुण चक्रवर्तीले बताए । बलिउड र हलिउड फिल्मसँग भागेर नेपाली फिल्म एक आपसमा जुधाउने परम्परालाई तोड्ने हेतुले ‘चि मुसी चि’ पूर्वनिर्धारित मितिभन्दा एक साता पछि सारिएको निर्माता चक्रावर्तीको भनाइ छ ।
एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको फिल्मको मोसन पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई समावेश गरिएको छ । मोसन पोस्टरको पाश्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ ।
फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ । फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । नेपाली र बलिउड प्राविधिकको समिश्रणमा फिल्म निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने निर्माण टिमको विश्वास छ । फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले लगानी गरेका हुन् ।