
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल हुनबाट बञ्चित भएको छ ।
समानुपातिक तर्फको सबै मत गणना सकिएपछि निर्वाचन आयोग दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको जनाएको छ। आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको मतगणना सकिएकाले दलले प्राप्त गर्ने सिट बाँडफाँटको काम आज टुंगिने छ । एक करोड ५ लाख ६० हजार ६७ कुल मतको गणना भएको आयोगले जनाएको छ । दलहरुले प्राप्त गरेको मत आयोगले आफ्नो वेवसाइटमा प्रविष्ट गरिसकेको छ ।
अन्तिम मत परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक पर्ने ३ लाख १६ हजार ८०२ मत ती दलले कटाउन सफल भएका छन् ।
नेकपा (एमाले) बाट अलग भएर एकीकृत समाजवादी दल बनाएको नेता नेपाल नेतृत्वको दल प्रत्यक्ष तर्फ १० सिटमा विजय निकाल्न सफल भए पनि थ्रेसहोल्ड कटाउन सकेन । सो दलले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । आयोगका अनुसार राष्ट्रिय दल बन्न १८ हजार ४११ मत सो दललाई अपुग भएको छ ।
यस्तो छ राष्ट्रिय दल बनेका दलले पाएको मत
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिव १ करोड ९ लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा थ्रेस होल्ड कटाउने सात दलले प्राप्त गरेको मत ९२ लाख ७१ हजार ७११ हो । समनुपातिकतर्फको ११० सिट बाडफाँटमा भाग लगाइने छ । थ्रेसहोल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३५६ मत खेर गएको छ ।
नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको २ लाख ९८ हजार ३९१ मत खेर गएको छ । त्यस्तै, थ्रेसहोल्ड नकटाउने अन्य ४० दलले प्राप्त गरेका मत पनि खेर गएको छ । आयोगको नतिजा अनुसार सबैभन्दा बढी नेकपा (एमाले) ले थ्रेस होल्ड कटाउने सात दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेको छ । सो दलले समानुपातिक तर्फ ३४ सिट पाउने छ ।
दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेको छ । सो दलले ३२ सिट प्राप्त गर्ने छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट पाउने छ । घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि थ्रेसहोल्ड कटाएको छ । सो दलले १२ प्रतिशत मत प्राप्त गर्दै १३ सिट प्राप्त गर्नेभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ७ सिट पाउने भएको छ । जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेको छ । त्यसले ५ सिट पाउने छ । मधेसमा पछिल्लो समय उडाएको जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । निर्वाचन आयोगले अन्तिम हिसाव निकालेपछि एक दुई सिट तलमाथि हुनसक्ने जनाएको छ ।
प्रतिनिधि सभामा २७५ जनामध्ये १६५ जना यसअघि नै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भइसकेका छन् । समानुपातिक तर्फ अब ११० जनाले बन्दसूचीका आधारमा चुनिनेछन् ।
तालिकामा हेर्नुहोस् दलले पाएको मत