१० साउन २०८३, आइतबार

मातृ तथा बाल स्वास्थ्यमा सुधार, चारमा एकजनामा पुड्कोपनको समस्या

मंसिर २३, २०७९
मातृ तथा बाल स्वास्थ्यमा सुधार, चारमा एकजनामा पुड्कोपनको समस्या
सांकेतिक तस्वीर

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज (शुक्रवार) आयोजित पत्रकार सम्मेलनमा विगत साढे दुई दशकमा नेपालमा प्रजनन् दर आधाले घटेको तथ्य सार्वजनिक गरिएको हो । 

सर्वेक्षणनुसार एक महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् । नेपालमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा उल्लेखनीय कमी आएको सर्वेक्षणले देखाएको छ । सन् १९९६ मा प्रतिमहिला चारदेखि छ बच्चा जन्माउने दर सन् २०२२ मा सो दर दुईदेखि एकमा झरेको हो । 

यता, सन् १९९६ मा पाँच वर्ष मुनिका बालबालिकाको प्रतिहजार जीवित जन्ममा एक सय १८ को मृत्यु हुने गरेको थियो । अहिले तुलनात्मकरुपमा घटेर प्रतिहजार जीवित जन्ममा ३३ मृत्यु हुन आएको छ । विगत २५ वर्षयता १२–१३ महिनाका बालबालिकामा आधारभूत खोपको दायरासमेत बढेको छ । सन् १९९६ मा ४३ प्रतिशत रहेको खोपको दायरा सन् २०२२ मा ८० प्रतिशत पुगेको छ । 

मन्त्रालयकी सचिव देवकुमारी अर्यालले सर्वेक्षणबाट प्राप्त तथ्यांकले आगामी योजना तर्जुमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘स्वास्थ्यसम्बन्धित योजना बनाउन यस सर्वेक्षणले मार्गदर्शकका रुपमा सहयोग गर्नेछ । सर्वेक्षणमा देखिएका चुनौती समाधानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयको अन्तर समन्वय आवश्यक छ ।’

सर्वेक्षणले कुपोषण, शिशु मृत्युदर, बालबालिकामा पुड्कोपन र रक्तअल्पतामा देखिएको अवस्था सन्तोषजनक नभएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या कम रहेको छ । यस्तै परिवार नियोजन साधनको ७८ प्रतिशत माग रहेको छ भने ५७ प्रतिशत पूर्ति भएको छ । २१ प्रतिशत माग अझै पूर्ति हुन सकेको छैन । रक्तअल्पता भएका बालबालिका ४३ प्रतिशत र महिला ३४ प्रतिशत रहेका छन् ।

पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको छ । सबैभन्दा धेरै कर्णालीका बालबालिकामा पुड्कोपनको समस्या देखिएको हो । ‘कर्णालीमा ३३ प्रतिशत बालकालिकामा पुड्कोपनको समस्या देखिएको छ । यी बालबालिका दीर्घकालीन कुपोषणको समस्यामा छन्’, नीति तथा योजना अनुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले भने, ‘अहिले चारमा एक जनामा पुड्कोपनको समस्या देखिनु विगतभन्दा घटेको हो तर सन्तोषजनक हैन ।’ रासस

salt training

कमेन्ट गर्नुहोस्