प्रकाश सपूत र केकी अधिकारीले सार्वजनिक गरेको महिनावारी सचेतनासम्बन्धि गीत ‘पर–पर छु’ले युटुयुबमा स्रोता÷दर्शकबाट प्रशंसा पाएको छ । प्रकाशको शब्द एवं संगीतमा तयार गीतलाई तुलसी बोहोराले गाएकी छिन् ।
ट्रेन्डिङमा उक्लिएको गीतले भ्युज पनि बढाउँदै लगेको छ । शनिबार साँझसम्म गीतले ३ लाख ४० हजार भ्युज पाईसकेको छ ।
प्रकाशकै कथा एवं निर्देशनमा कथानक तरिकाले गीतको भिडियो तयार पारिएको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी, प्रकाश स्वयंम र सेबिता अधिकारीले अभिनय गरेका छन् ।
‘पर–पर छु’ महिनावारीका बेला एउटी किशोरीले भोग्नुपर्ने पीडाको गीत हो । राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा महिनावारी सचेतनाका लागि यस गीत तयार पारिएको हो ।
केकी अधिकारी फिल्मस् र आरन प्रोडक्सनको प्रस्तुतीमा तयार गीतको भिडियोमा संवाद केकी र प्रकाशले संयुक्त रुपमा मिलेर तयार पारेका हुन् ।
केकी र प्रकाशले यसअघि बलात्कारको कथामा निर्मित गीत ‘बदला बरिलै’मा सहकार्य गरेका थिए ।
अलग–अलग विषयवस्तुलाई गीत–संगीतमार्फत पेश गर्दै आएका प्रकाशले प्राय सिर्जनाबाट प्रशंसा पाउँदै आएका छन् । ‘पर–पर छु’लाई पनि प्रकाशको अर्को एक प्रशंसायोग्य सिर्जना मान्न सकिन्छ । युट्युबमा दर्शकहरुको एकदमै सकारात्मक प्रतिक्रियाहरु दिईरहेका छन् । अधिकांशले गीत र प्रकाशको क्रियशनको खुलेर प्रशंसा गरेका छन् ।