
प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सबै जाती, धर्म र संस्कृतिलाई जोड्नेखालको शैक्षिक व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । शनिबार मोरङको उर्लाबारी २ स्थित सुनपकुवा माविको स्वर्णमहोत्सवको उदघाटन गर्दै उनले सो कुरा बताए ।
उनले भने, “हाम्रा सामुदायिक विद्यालयहरू शिक्षित बेरोजगार उत्पादन गर्ने थलो बन्नु हुँदैन, संसारभरि समुदायलाई जोड्ने प्रमुख माध्यम शिक्षा भएकाले यसको जग बलियो भयो भने मात्रै देशले दक्ष जनशक्ति प्राप्त गर्न सक्छ ।”
रोजगार र उत्पादन मुलक शिक्षामा जोडदिँदै प्रमुख खापुङले आफुले पनि दुई वर्ष शिक्षक र ११ वर्ष प्रधानाध्यापक भएर काम गरेको बताए ।
२०१४ सालमा स्थापना भएको सुनपकुवा माविले यो वर्ष ६६ वर्षमा प्रवेश गरेको छ । विद्यालय स्थापनाको ६६ वर्ष पुगे पनि विद्यालयले यस वर्ष स्वर्ण महोत्सवका रुपमा मनाएको छ । सो अवसरमा विद्यालयले प्रकाशन गरेको स्मारिका प्रदेश प्रमुख खापुङले लोकार्पण गरे ।
कार्यक्रममा मोरङ १ (क) का प्रदेश सभा सदस्य उमाकान्त गौतमले प्रदेश सरकारले गर्न सक्ने सबै सहयोग विद्यालयलाई गर्ने प्रतिवद्धता जनाए । शिक्षा क्षेत्र मजबुद नभए देशको भविष्य बिग्रिने उनले बताए ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले विद्यालयको स्थायी आम्दानीको स्रोत निर्माणमा जोड दिनुपर्ने सुझाव दिए । राज्यले शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउने घोषणा गरे पनि कार्यान्वयन हुन नसकेको उनले चर्चा गरे ।
रमाविका प्रधानध्यापक कुमार पोख्रेलले जमिन्दारको छोरो र उसैको घरमा काम गर्ने कामदार एउटै विद्यालयमा पढ्ने वातावरण तयार नगर्ने हो भने शिक्षा क्षेत्रमा पनि ब्यापारीकरण हुने बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालका अनुसार विद्यालयमा १४ जना फरक क्षमता भएकासहित १३ सय ३९ जना विद्यार्थी अध्ययनरत छन् ।