३१ असार २०८३, बुधबार

बजेट माग्दै सडकबाट सेवा दिँदै अध्यक्ष

मंसिर २५, २०७९
बजेट माग्दै सडकबाट सेवा दिँदै अध्यक्ष

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुगिन्। उनलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो । 

वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक प¥यो । उनले वडा कार्यालयमा अध्यक्ष रवीन्द्रप्रसाद देवकोटालाई खोजिन् । हिरादेवीले वडा अध्यक्षलाई भेटिनन्- अनि त्यहाँका अन्य कर्मचारीसँग वडाध्यक्षका बारेमा सोधीखोजी गरिन् । अध्यक्ष भगतपुर क्षेत्रमा रहेको उनले थाहा पाएपछि अटो चढेर त्यही गइन् । “अध्यक्ष ज्यू सडकमा कुर्सी राखेर एउटा फाइल समातेर बस्नु भएको थियो, त्यहीँ मैले सिफारिस पत्रमा हस्ताक्षर गराए”, हिरादेवीले भनिन् ।

केही दिन यता भीमदत्त नगरपालिका–१८ को सेवा यसै गरेर सडकबाटै सम्पादन गर्ने गरेका छन्, अध्यक्ष देवकोटाले । भीमदत्त नगरपालिकाले सडक कालोपत्रे गर्न बजेट नदिएको भन्दै त्यसको विरोधमा वडाध्यक्ष धर्नामा बसेका हुन् । 

उनले कहिले पत्थरपुर त कहिले भगतपुरका बस्तीको सडकमा बसेर सेवा प्रवाह गरिरहेका छन्। “सडकमा बेस हाल्ने काम भइसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी छ”, उनले भने, “थोरै मात्रै बजेट छुट्याइएको छ, त्यसैले बजेटको माग गर्दै दबाब स्वरुप धर्ना बसेको हो ।”

नगरपालिकालाई औपचारिक रुपमा बारम्बार बजेट माग गर्दा पनि कुनै वास्ता नगरिएकाले वडाको काम सडकबाट सम्पादन गर्नुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । विगतमा सडकका लागि एक करोड ४९ लाख बजेट आउने गरेको थियो । यसपटक नगरपालिकाले एक करोड २७ लाख मात्रै दिएको छ ।

वडा कार्यालयको फाइल, रजिस्ट्रर बोकेर कार्यालय खुल्ने समयमा अध्यक्ष देवकोटा सडकमा बस्छन् । कार्यालय समयसम्म सडकबाटै वडाको सेवा सम्पादन गर्ने उनका अचेल दैनिकी नै बनेको छ । पत्थरपुर, भगतपुर, गोबरियालगायत क्षेत्रको एक किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा छ । सोही सडकका लागि बजेटको माग गर्दै धर्ना बस्नु भएका अध्यक्ष देवकोटाले माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिए।रासस
 

salt training

कमेन्ट गर्नुहोस्