३१ असार २०८३, बुधबार

लाइभ दोहोरी विवादित बनेपछि माफी माग्दै कमलाले भनिन् – अब गीत गाउँदा एकदम ख्याल राख्नेछु

लाइभ दोहोरी विवादित बनेपछि माफी माग्दै कमलाले भनिन् – अब गीत गाउँदा एकदम ख्याल राख्नेछु

दोहोरी फर्काउन माहिर बाल गायिका कमला घिमिरेले गाएको एउटा लाइभ दोहोरी केही दिनयता सामाजिक सञ्जालमा भाइरल छ ।

केही दिनअघि गायक सुमन परियारसँग मिलेर गाएको उक्त लाइभ दोहोरीलाई लिएर विभिन्न तर्कवितर्कहरु भइरहेका छन् ।

युट्युबमा आएका प्रतिक्रियाहरुमा कमलाको दोहोरी गायन क्षमताको खुलेर प्रशंसा गरिएको छ ।

फेसबुक, टिकटकमा भने उनले उक्त दोहोरीमार्फत कसैको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै आलोचना गरिएको छ ।

गीतको विषयवस्तु आपत्तिजनक रहेको र संवेदनशील घटनालाई विषय बनाउँदै बालगायिकाको प्रयोग गरेर दोहोरी गाउन लगाइएको टिप्पणी गरिएको छ ।

आफूले गाएको गीत विवाद र आलोचनाले घेरिएपछि बालगायिका कमलाले आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनले फेसबुकमा सन्देश लेख्दै डलरको लागि, स्क्रिप्ट तयार पारेर उक्त दोहोरी नगाइएको प्रस्ट्याएकी छन् ।

‘राम्रै गरी हेरेरै हिँडदा पनि त कहिलेकाहीँ ठेस लाग्ने गर्छ, हो त्यस्तै भयो’ उनले लेखेकी छन्, ‘दाइ सुमन परियारसँग मैले गीत गाउँदा गाउन बसियो । गाउँदै जाँदा माया पिरतीको कुरा आयो । माया पिरतीको कुरा आउँदा जान अन्जानमा केही त्यस्ता शब्द आए, जुन कसैलाई लक्षित गरेझै भयो, बुझाइ सकारात्मक भन्दा नकारात्मक भयो ।’

उनले उक्त दोहोरीले आत्मसम्मानमा पर्न गएको चोटप्रति माफी समेत मागेकी छन् ।

उनले भनेकी छन्, ‘आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आउँदा दिनमा यस्तो गल्ती हुनेछैन ।’  कमलाले अग्रज गायक/गायिकाहरूले आफूबाट गल्ती हुँदा सम्झाउनुको साटो पक्ष/विपक्षमा बोल्दा भने दुःख लागेको बताएकी छन् ।

उनले अगाडि लेखेकी छन् ‘अब उप्रान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हट्न चाहान्न । सधैं हजुरहरुकै प्रिय बन्न पाउँ । गीत संगीतमै रम्न पाउँ, कहीँकतै बिराएछु भने सल्लाह सुझाव दिँदै गर्नु है । र, अन्त्यमा फेरि पनि माफी माग्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्