३० असार २०८३, मंगलबार

अमेरिकासहित नेपालका हलमा ५१औँ दिन मनाउँदै ‘महापुरुष’

अमेरिकासहित नेपालका हलमा ५१औँ दिन मनाउँदै ‘महापुरुष’

प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले शनिवार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ ।  

कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ : द फाइनल म्याच’ पश्चात् यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराईले सफलताले दायित्व बोध बढेको बताए । 

‘दर्शकको साथले थप ऊर्जा मिलेको छ’, भट्टराईले भने । नेपाल मात्र नभई अमेरिकामा समेत आठौँ हप्तामा चलचित्र प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियबजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ । उनले यस अगाडि निर्देशन गरेका जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१औँ दिन पार गरेको थियो ।  

‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलिचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बनेका भट्टराईले सफलताको श्रेय ‘महजोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिए । ‘उहाँहरूबाट नै सिकेर निर्देशन गर्न पाएको छु । स्कुल पढेर दिएको परीक्षामा पास भए झैँ महसुस भएको छ’, उनले भने । 

अमेरिका भ्रमण सकेर नेपाल फर्किएका अभिनेता हरिवंश आचार्यले निर्देशक भट्टराई सुरुआती दिनदेखि नै प्रतिभावान रहेको बताए । ‘टेलिचलचित्र हामीले उहाँलाई जिम्मा लागाउँथ्यौँ । उहाँको कामले हाम्रो मन जितिसकेको थियो । आज चलचित्रमा समेत सफल हुँदा खुसी लाग्छ’, अभिनेता आचार्यले भने । 

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । 

नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष गत डिसेम्बर १ तारिखदेखि कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रुपमा डेब्यु गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्