
अभिनेता एवं निर्माता दीपकराज गिरीले फेसबुकमार्फत फिल्म ‘छक्का पन्जा ४’पोष्टर सार्वजनिक गरे । पोष्टरमा पहिल्यै सार्वजनिक भइसकेको उनको तस्वीर प्रयोग गरिएको छ । फिल्मका मुख्य अभिनेता दीपकराज बाइक छेउमा उभिएका छन् ।
पोष्टरमा चलचित्रको प्रदर्शन मिति, निर्देशकको नाम र कार्यकारी निर्माताको नाम उल्लेख छ । फागुन १९ गते प्रदर्शन हुने चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । दीपकराज र दीपाश्री निरौला निर्माता रहेको फिल्ममा केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता छन् ।
यो पोष्टरमार्फत अभिनेता एवं निर्माता दीपकराजले दुई वटा हल्ला चिर्न खोजेका छन् ।
पहिलो – फिल्म निर्माण टिमसँग निर्देशक हेमराजको सम्बन्ध चिसिएको र उनले फिल्मबाट हात झिकेको हल्ला चलेको थियो । यस पोष्टरमार्फत दीपकराजले उक्त हल्ला सत्य नरहेको सन्देश दिन खोजेका छन् ।
दोस्रो – ‘छक्का पन्जा ४’ फागुन १९ बाट पछाडि सर्न सक्छ भन्ने हल्ला फिल्मवृत्तमा थियो । फिल्मको छायांकन फेरि भइरहेकाले निर्माताले निर्धारित मितिमा फिल्म रिलिज गर्न सक्दैनन् भन्ने धेरैको आँकलन थियो । प्रदर्शन मिति उल्लेखित पोष्टरमार्फत दीपकराजले उक्त हल्ला चिर्दै निर्धारित मितिमै फिल्म प्रदर्शनमा आउने सन्देश पनि दिएका हुन् ।