
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रका सामु देखा परेका चुनौती काबुबाहिर नभएको भन्दै समाधान गरिने बताएका छन् ।
अर्थ क्षेत्रका सरोकारवाला र विज्ञहरूसँगको छलफलबाट अर्थतन्त्रलाई सही दिशा दिने उनले बताए ।
सोमवार साँझ अर्थमन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समस्त नेपाली समाज र अर्थसम्बद्ध संघ–संस्था सबैलाई समस्या समाधानमा आश्वस्त तुल्याउने बताएका हुन् ।
‘मुलुकको अर्थतन्त्र यतिबेला संकटको डिलमा छ । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि हामीले धेरै ठूलो मेहनत गर्नुपर्ने छ । आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्छौं,’ पौडेलले भने, ‘अर्थतन्त्रका सबै क्षेत्र र सबै विज्ञ तथा विशेषज्ञको राय लिँदै आजका चुनौती के हुन्, समस्या के हुन्, पहिचान गरी समाधान गर्न सघन ढंगले छलफल गर्छु ।’

तेस्रोपटक अर्थ मन्त्रालयको कार्यभार सम्हालेका पौडेलले देशको अर्थतन्त्रका समस्याबारे जीवन्त छलफल गर्ने बताए ।
‘बिगँद्रो अर्थतन्त्रबाट चिन्तित समस्त नेपाली समाज र संघ–संस्था सबैलाई आश्वस्त तुल्याउँदै सबैसँग जीवन्त छलफल गरेर समस्या समाधान गर्छौं,’ पौडेलले भने, ‘अर्थतन्त्रका सामु देखा परेका चुनौती काबुबाहिर छैनन् । तीनलाई समाधान गर्न सकिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई सबल ढंगले अगाडि बढाउन सकिन्छ भन्ने कुरामा विश्वस्त हुँदै काम गर्छु ।’
उनले अर्थमन्त्रालय मातहतका सबै सेवा अनलाइनबाट गर्ने पहिलो निर्णय गरे ।

मन्त्रालयमा पुग्दा पौडेललाई कर्मचारीहरूले भव्य स्वागत गरेका थिए ।