२६ जेठ २०८३, मंगलबार

कांग्रेसले सत्ता गुमाउँदा गगन र विश्वप्रकाश पानीमाथिको ओभानो बन्न मिल्छ ?

पुस १३, २०७९
कांग्रेसले सत्ता गुमाउँदा गगन र विश्वप्रकाश पानीमाथिको ओभानो बन्न मिल्छ ?

नयाँ सरकार गठनको प्रक्रिया जारी रहेको समयमा नेपाली राजनीतिमा एकाएक नाटकीय उतारचढाव आयो । कारण कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्यो । 

तेस्रो स्थानमा रहेको माओवादी पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन हुँदै गर्दा कांग्रेस एकाएक सत्ताबाहिर पुगेको छ । 

चुनावमा पहिलो दल बनेको कांग्रेस प्रतिपक्षमा पुग्छ भनेर न त कांग्रेसका नेतृत्व तहका नेताले कल्पना गरेका थिए न त सामान्य कार्यकर्ताको आकलन नै थियो । पछिल्लो राजनीतिक घटनाक्रमले कांग्रेसको नेतृत्वदेखि सामान्य कार्यकर्तासम्म आश्चर्यचकित छन् । एकप्रकारले भन्दा देशभरका कांग्रेस कार्यकर्ता निराश छन् । 

सरकार गठन अवधिको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेर हेर्ने हो भने आफ्नो हातमा रहेको सत्ता फुत्कनुमा कांग्रेस सभापति शेरबहादुर देउवा र देउवाका किचन क्याविनेटमा रहेका नेताहरु जिम्मेवार देखिन्छन । किचन क्याबिनेटका नेताहरुले प्रधानमन्त्री छोड्नु हुँदैन भनेर देउवालाई अनावश्यक दबाब नदिएको भए कांग्रेस देशैभर सत्ता बाहिर रहनुपर्ने थिएन । राष्ट्रपति, सभामुख प्रदेशका मुख्यमन्त्री लगायत राज्यका महत्वपूर्ण पद गुमाउनुपर्ने अवस्था सिर्जना हुने थिएन । 

यसबाहेक, कांग्रेस राजनीतिक नियुक्तिहरुमा बञ्चित हुनुपर्ने थिएन । कांग्रेस सत्ताबाट बर्हिगमन हुँदै गर्दा सम्पूर्ण दोषको भारी यतिबेला पार्टी सभापति देउवामाथि थोपरिएको छ । दोषको भारी पार्टी सभापति देउवामाथि  थोपरिनु स्वभाविक विषय पनि हो । किनकी, पार्टी सभापति देउवाले ६ पटक प्रधानमन्त्री लालसा नदेखाएको भए कांग्रेसले आजको नियति भोग्नु पर्ने थिएन । 

कांग्रेसले आज सत्ता राजनीतिमा जुन नियति भोगेको छ । त्यसमा पार्टी सभापति देउवा जति दोषी छन, त्यत्ति नै दोषी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि छन् । किनकी, महामन्त्रीद्वयको अपरिपक्वताका कारण पार्टी सभापति देउवालाई गलत निर्णय गर्न कुनै रोकतोक भएन । फलस्वरुप कांग्रेस सत्ता राजनीतिको खेलबाट बाहिरिन पुग्यो । 

महामन्त्रीद्वय थापा र शर्मा पार्टीप्रति जिम्मेवार हुने थिए भने पार्टी सभापति देउवाले कुनै खबर नगरे पनि पार्टी कार्यालयमा पार्टीका अन्य नेताहरूलाई भेला गरेर सरकार निर्माणको विषयमा दबाब दिन सक्दथे । 
तर, महामन्त्रीद्वय थापा र शर्मा पूर्णरूपमा गैरजिम्मेवार भएको देखियो । देश राजनीतिकरुपले गम्भीर मोडमा पुगेको बेला महामन्त्रीद्वय कथित साहित्य महोत्सवमा सहभागी हुन पोखरा पुगे । 

पार्टी संसदीय दलको नेता बन्न र बनाउनका लागि होटलमा भेला बोलाउने महामन्त्रीद्वय थापा र शर्माले सरकार गठनको विषयमा किन पार्टी कार्यालयमा बहस चलाएनन् ? यो यतिखेर निकै चासोको विषय बनिरहेको छ । 

महामन्त्री जस्तो जिम्मेवार पदमा बसेका थापा र शर्माले सभापति देउवाले सरकार गठनका विषयमा आफूहरुलाई बोलाएनन् भनेर पन्छिन मिल्दैन । सभापति देउवाले महामन्त्रीहरूले नबोलाए पनि उनीहरुले बालुवाटरको ढोका धकेलेर आफ्ना कुरा स्पष्टसंग राख्न सक्नुपर्दथ्यो । यो विषयमा महामन्त्रीद्वय चुकेकै हुन् ।

महामन्त्रीले संसदीय दलको निर्णय मान्नु पर्देन ?

कांग्रेस संसदीय दलको नेता चयन भए लगत्तै पार्टी संसदीय दलले नयाँ सांसदहरुलाई नयाँ सरकार गठन नभएसम्म काठमाण्डौं उपत्यका बाहिर नजानु भनि निर्देशन जारी गरेको थियो । 
संसदीय दलले सांसदहरुले पठाएको म्यासेज यसप्रकार रहेको छ । (naya sarkar gathan nabhaye samma kathmandu Valley bahira najanu hune nirdesanusar jankari garainchha. NC Samsadiya Dal)

तर, सरकार गठनको अन्तिम दिन महामन्त्रीद्वय थापा र शर्मा साहित्य महोत्सवमा सहभागी हुन भन्दै पोखरा हानिए । पोखरा हानिएका महामन्त्रीद्वय थापा र शर्मा पोखराको सौन्दर्यमा झुमिरहे । पार्टी संसदीय दलको निर्देशन विपरित पोखरा पुगेका महामन्त्रीद्वयले आफूहरु अपमानित भएर पोखरा आएको अभिव्यक्ति समेत दिए । थापा र शर्माको उक्त अभिव्यक्ति सतहीरूपमा हेर्दा जो कोहीलाई ठिकै हो जस्तो लाग्छ । तर, गहिरिएर अध्ययन गर्ने हो भने सरासर गलत छ । किनकि नेपाली कांग्रेस जस्तो इतिहास बोकेको पार्टीका महामन्त्रीहरूले महत्वपूर्ण निर्णय लिनुपर्ने बेलामा कदापि पानी माथिको ओभानो बन्न मिल्दैन ।

महामन्त्रीद्वयको अल्लारेपन

पार्टी भित्र र बाहिर सरकार गठनको विषयमा कांग्रेस असफल हुनुको प्रमुख दोष पार्टी सभापति देउवा र उनका किचन क्याबिनेटका सदस्यहरुलाई दिइएको छ । त्यसमा पनि देउवा पत्नी आरजु राणा बढी हावी भएको भनेर आलोचना भइरहेको छ । बाहिरीरुपमा हेर्दा त्यो एक हिसाबले सहि पनि देखिन्छ । तर, कांग्रेस असफल हुनुमा पार्टी सभापति देउवा र उनका किचन क्याविनेटका सदस्यहरु मात्र दोषी छैनन् । पार्टीका महामन्त्रीद्वय थापा र शर्माको अल्लारेपन पनि उत्तिकै दोषी छ । थापा र शर्मा महामन्त्री निर्वाचित भएपछिको अवधिलाई हेर्ने हो भने उनीहरुले पार्टी भित्र निर्मम ढंगले छलफल गर्नुपर्ने विषयलाई कहिल्यै पनि प्राथमितका दिएको देखिदैन । महामन्त्रीद्वय ट्वीटर, फेसबुक र सञ्चार माध्यममा आएका सामाग्रीमा रमाई रहेको पाइन्छ । 

महामन्त्रीद्वयले सोच्नुपर्ने कुरा के छ भने उनीहरु कुनै गैरसरकारी संस्था वा क्लवका महामन्त्री होइनन् । उनीहरु त विपी कोइराला, सुवर्ण शम्शेर ,गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुले स्थापना गरेको तथा  गिरिजाप्रसाद कोइराला, सुशिला कोइराला लगायत हजारौं नेता तथा कार्यकर्ताहरुले जोगाएको पार्टीका महामन्त्री हुन । तसर्थ ट्वीटर, फेसबुक र सञ्चार माध्यममा आएका सामाग्रीमा रमाएर बस्नुको कुनै अर्थ छैन । 

बढ्दो अहंमता 

पार्टीका महामन्त्रीहरूमा एउटा अचम्मको मोह छ– सेलिब्रेटी बन्ने । विद्यार्थी राजनीतिबाट उदाएका महामन्त्रीद्वयलाई सञ्चार माध्यमले राम्रो स्थान दिदै आएका छन् । उनीहरुको सबै व्यवहारले मिडियामा राम्रो कभरेज पाइरहेका छन् । यहाँसम्मकी महामन्त्रीद्वयले जुत्ता किन्दा र कफि खाँदाका दृश्यलेसमेत सञ्चार माध्यममा स्थान पाउने गर्छन् । मिडियाले दिएको स्थानका कारण उनीहरुका अहम् बढ्दै गएको छ । त्यसले संगठनमा ठूलो क्षती पुग्ने देखिन्छ । 

विशेष महाधिवेशन अपरिहार्य

गत स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा होमिएको कांग्रेसले निर्वाचन परिणाम आइसकेपछि कांग्रेसले जुन दुर्घटना व्यहोरेको छ त्यसको निर्मम समीक्षा गरी कांग्रेसलाई नयाँ शिराबाट अघि बढाउन विशेष महाधिवेशन आह्वान हुनुपर्छ । 

विशेष महाधिवेशनबाट आउने नेतृत्वले कांग्रेसलाई नयाँ दिशामा अगाडि बढाउने छ । 

(लेखक नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य हुन्)

salt training

कमेन्ट गर्नुहोस्