३० असार २०८३, मंगलबार

सर्वाधिक राशीको नेपालमा मेरो भ्वाइस युनिभर्स

सर्वाधिक राशीको नेपालमा मेरो भ्वाइस युनिभर्स

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को आयोजना हुने भएको छ । नक्सालस्थित एक होटलमा आयोजित कार्यक्रममा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एपमार्फत आवेदन दिन सक्ने जनाएको छ । १८ बर्ष माथिका व्यक्तिले प्रतियोगिताको लागि आवेदन दिन सक्नेछन् । 

शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर आवेदन रजिष्टर गर्न सक्ने आयोजकले जनाएको छ । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले “हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ“ भने । 

फाउन्डेसनको उद्देश्य नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउने रहेको उनले बताए । शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले अनलाइन आवेदन दिन सक्ने उनको भनाइ छ । प्राथमिक छनौट प्रक्रियापछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्ने जनाएको छ । शोका लागि आगामी जनवरीको अन्तिमसम्म आवेदन दिनसक्ने समय तोकिएको छ । 

कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’ को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधानलगायत छन् । मेरो डान्स यूनिभर्स’ को निर्णायक मण्डलमा मिथिला शर्मा,  दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने आयोजकले बताएको छ ।

शोहरुको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । उनले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको निर्देशन गरिसकेका छन् । यी शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शो भएको आयोजकको दावी छ । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’ का विजेताले एक करोड रुपियाँ पाउनेछन् । 

फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपियाँ पुरस्कार पाउने छन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’ को विजेताले पनि एक करोड रुपियाँको पुरस्कार पाउनेछन् । फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् । फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरेपेली देशबाट पनि नेपालीभाषीहरुको बृहत् सहभागिताको अपेक्षा गरेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्