
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री पूजा शर्मालाई महिला चलचित्रकर्मीहरूमाथि हुनसक्ने लैङ्गिक हिंसा, शोषण र विभेद विरुद्ध काम गर्ने समितिमा मनोनयन गरेका छन् ।
बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’को सदस्यमा अभिनेत्री शर्मालाई मनोनयन गरिएको हो । केही दिनअघि अभिनेत्री शर्माको गरिएको मनोनयनको विषयलाई लिएर यतिबेला बोर्ड अध्यक्ष भुवन केसीको आलोचना भएको छ ।
चलचित्रकर्मी एवं सञ्चारकर्मीहरूले उक्त निर्णयको विरोध गरेका छन् ।
पत्रकार सुशील पौडेलले भुवन केसीको उक्त निर्णयलाई व्यङग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘दक्षता अभिवृद्धि, लैङ्गिक हिंसा, शोषण एवं विभेद विरूद्ध चेतना बढाउन’ चावी बोर्डले पूजा शर्मालाई छानेछ । भुवन दाई भएसी केही त हुनै पर्यो नी बोर्डमा । चलचित्रकर्मीले यस्तै यस्तै आशा गरेका छन् !’
अभिनेत्री शर्मा आफ्नै अभिव्यक्तिका कारण पटक पटक विवादमा आउने अभिनेत्री हुन् । केही समयअघि बलात्कार पीडित गायिका विरुद्ध मिडिया र सामाजिक सञ्जालमा सक्रिय भएका कारण उनी निकै आलोचित बनेकी थिइन् ।
विकास बोर्डका एकपछि अर्को निर्णयहरूलाई लिएर अध्यक्ष भुवन केसी आलोचित बन्दै आएका छन् ।