
अभिनेता आर्यन सिग्देलले निखिल उप्रेती र विराज भट्टसँग नाम जोडेर आफ्नो बारेमा अफवाह फैलाइएको गुनासो गरेका छन् ।
बिहीवार फेसबुकमा स्टाटस् लेख्दै उनले निखिल र विराजसँग आफ्नो कुनै दुश्मनी नरहेको समेत बताएका छन् ।
हालै एक अन्तवार्तामा उनले विराज जत्तिको एक्सन किङ नेपालमा अन्य कोही नभएको बताएका थिए । उक्त अन्तर्वार्ताको सानो क्लीपलाई निखिलसँग जोडेर ट्रोल बन्न थालेपछिआर्यनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् ।
‘खास कुरो के थियो र के भन्न खोजिएको थियो भन्ने कुराहरू नबुझी र नसोँचि यसै हचुवाको भरमा समाचार/ट्रोलहरूको हेडलाइन हेरेर नै आ–आफ्नो अभिव्यक्ति दिनुभएको रहेछ’ आर्यनले लेखेका छन्, ‘विराज र निखिल कसैसँग मेरो कुनै पनि दुश्मनी छैन । र, हुने पनि छैन । खै कस्ले किन यो अफवाह फैलाइरहेको छ थाहा छैन ।’
उनले अगाडि लेखेका छन्, ‘मैले निखिलभन्दा विराज भट्ट निकै ठुलो स्टार हो भन्न खोजेको थिए, न त निखिल नै । दुवै नेपाली फिल्मका एक्सन किङ हुन् । उनीहरू दुवैको नेपाली फिल्म क्षेत्रमा निकै नै ठुलो योगदान छ । जुन हामी सबैलाई अवगत नै छ ।’ आर्यनले आफूले कसैको तुलना गर्न नखोजेको स्पष्ट पारेका छन् ।
उनले विराज भट्टको आवाज, एक्सन फाइट दमदार लाग्ने बताउँदै निखिलको स्टण्ड एक्सन टेक्निकल रूपमा झनै खत्रा रहेको उल्लेख गरेका छन् । ‘त्यसैले मैले कसैको पनि तुलना गर्न खोजेको थिएन र गरेको पनि होइन’ उनले लेखेका छन्, ‘नेपालमा टेक्नोलोजी र स्टण्ड एक्सन भित्रयाउने निखिल दाइ नै हुनुहुन्छ, भने विराज दाइ नेचुरल एक्सन किङ, जुन दुवै मेरा लागि उत्तिकै सम्मान छन् ।’
आर्यनले निखिल र विराजसँग आफ्नो आत्मीय साथीमात्र नभएर पारिवारिक सम्बन्ध पनि राम्रो रहेको समेत बताएका छन् । आफूबाट भुल वश केही नराम्रो सन्देशहरू गएको भए त्यसलाई बेवास्ता गरिदिन समेत आर्यनले अनुरोध गरेका छन् । आर्यन अभिनित फिल्म ‘डिसेम्बर फल्स’ शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ ।