!['अफ सिजन'मा पनि पर्यटकले भरियो ठमेल, ३ वर्षपछि होटलमा राम्रो 'अकुपेन्सी' [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Tourist_On_Thamel5_EIjDeHHUSz.png)
विदेशी पर्यटकका लागि अहिले ‘अफ सिजन’ हो । नयाँ वर्ष र क्रिसमसको रौनक पर्यटकले आफ्नै देशमा मनाउने गरेका कारण नेपालमा खासै पर्यटकको चहलपहल हुँदैनथ्यो ।
तर यसपटक यो समयमा पनि पर्यटकको चहलपहल उल्लेख्य देखिएको छ । काठमाडौं र केही पर्यटकीय क्षेत्रका ठूला होटलमा अहिले पनि ६० प्रतिशतसम्म बूकिङ छ ।
औसतमा अहिले होटलको अकुपेन्सी ३० प्रतिशत रहेको होटल संघ नेपाल (हान)ले जानकारी दिएको छ । अंग्रेजी नयाँ वर्षका कारण पर्यटकीय क्षेत्रका होटल रेस्टुरेन्ट भरिभराउ हुने भएका छन् । आन्तरिक पर्यटकले नै भरिने यस्ता होटल तथा रेस्टुरेन्टको व्यापार नयाँ वर्षलक्षित मात्रै हुने हानको भनाइ छ ।

पछिल्लो समय पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्ने, मेला महोत्सव हुने र नयाँ वर्षलाई दृष्टिगत गरी गरिने कार्यक्रमका कारण पनि आन्तरिक पर्यटकको चहलपहल देखिएको हो ।
ठूला होटलहरूले आफैं पर्यटक प्रवर्द्धनका कार्यक्रम गर्न थालेका छन् भने संस्थागत रूपमा हुने कार्यक्रमले पनि पर्यटकीय चहलपहल भने बढेको देखिएको छ ।
कोराना महामारीपछि विस्तारै बढ्न थालेका पर्यटकले बजारमा सकारात्मक सन्देश दिइरहेको देखिन्छ । अध्यागमन विभागका अनुसार गत महिना नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका छन् । यस्तो पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतीयको छ ।

भारतीय पर्यटक २० हजार भित्रिँदा दोस्रो स्थानमा अमेरिकी पर्यटक छन् । अमेरिकी पर्यटक गत महिना ७ हजार भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तो पर्यटक आगमन गत वर्ष सन् २०२१ को तुलनामा ५५ प्रतिशतले बढेको छ । सन् २०२१ को अक्टोबरमा जम्मा २६ हजार र सन् २०२० को सोही महिनामा १९ सय पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ । त्यतिबेला कोरोना महामारीका कारण पर्यटकको फ्लो निकै कम थियो ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाका अनुसार अहिले अफ सिजन भए पनि नेपालमा लामो समय बस्ने र साहसिक पर्यटनबाट फर्किएका पर्यटकको चहलपहल देखिएको छ ।

भारतमा धेरै चिसो हुने भएकाले जाडो छल्न नेपाल आउने पर्यटकसमेत अहिले देखिएको छ । कोभिडपछि विस्तारै पर्यटक बढ्दै गरेको भए पनि अहिले देखिएका पर्यटक हेर्दा नेपाललाई ‘अल सिजन फर टुरिस्ट’को गन्तव्य हो भनेर बुझ्नुपर्ने सापकोटाको भनाइ छ ।
नेपालले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने हो भने अझै अफ सिजनमा पर्यटक बढ्न सक्ने बुझाइ पनि सापाकोटाको छ । नेपालमा वर्षायाममा पदयात्रा गर्न सकिने थुप्रै गन्तव्य छन् । नेपालले योजना बनाएर अल सिजन पर्यटकको प्रवर्द्धन गर्ने हो भने अझै पर्यटक बढ्न सक्ने बुझाइ पनि सापकोटाको छ ।
ठमेलका एक पश्मिना व्यवसायी दिनेश खनाल नेपालमा पर्यटक आउन थालेको भए पनि व्यवसाय फस्टाउन नसकेको बताउँछन् । अहिले घुमफिर गर्ने, पदयात्रा गर्ने पर्यटक देखिएको भए पनि अफ सिजन भएकाले शपिङका लागि भने कम मात्रै आउने गरेको खनालले बताए ।

नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारी पछिल्लो समय आन्तरिक पर्यटक बढेकाले पर्यटन क्षेत्र धानिएको बताउँछन् । राफ्टिङ पनि आन्तरिक पर्यटकले मात्रै धानेका छन् । विदेशी पर्यटक आकर्षित गर्न अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र राफ्टिङका गन्तव्य जोगाउनुपर्ने उनले बताए । नेपालको साहसिक पर्यटक प्रवर्द्धन गर्न सके अझै धेरै पर्यटक आकर्षित गर्न सकिने बुझाइ अधिकारीको छ ।
ठमेल पर्यटन विकास समितिका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी रामशरण थपलिया सरकारले बनाएको विभिन्न लक्ष्य र योजनाअनुसार पर्यटक आउन नसकेको तर्क गर्छन् ।

अहिलेको पर्यटक संख्या कोभिड प्रभावित विगतका वर्षहरूको तुलनामा बढी रहे पनि पुरानै लयमा भने अझै नफर्किएको थपलियाले बताए ।
अन्तर्राष्ट्रिय मिडियामार्फत प्रवर्द्धन गर्ने र चेन होटल भित्र्याउने कामलाई प्राथमिकता दिन सकियो भने पर्यटक अझै बढ्ने उनको बुझाइ छ ।
हेर्नुहोस्, भिडियो :
फोटो/भिडियो : विश्वास खनाल/लोकान्तर