
पाइलट समेत रहेका अभिनेता विजय लामाले नयाँ पुस्ताका कलाकारहरूमा अनुशासनको कमी रहेको बताएका छन् ।
चार दशकदेखि चलचित्र क्षेत्रमा पनि सक्रिय लामाले पछिल्लो समय धेरै राम्रो–राम्रो अभिनय गर्ने कलाकारहरू आएको बताए ।
यद्यपि, नयाँ पुस्ताका कलाकारहरूमा अनुशासनको भने कमी रहेको लामाले गुनासो गरे ।
‘नयाँ पुस्ताले अभिनयको हिसाबले धेरै राम्रो काम गर्ने गरेका छन् । तर, अहिलेको भाइबैनीहरूलाई एउटा कुराको आवश्यकता छ – अनुशासन’ उनी अगाडि भन्छन् – ‘अहिले मिडियाले गर्दा उनीहरू रातारात सुपरस्टार हुने र कसैलाई नगन्ने प्रवृत्ति देखिएको छ ।’
आफूहरू समकालिन कलाकारहरूलाई अन्त्यन्तै सम्मान गर्ने गरेको बताउँदै पछिल्लो पुस्ताका कतिपय कलाकारहरूमा उक्त कुराको कमी रहेको उनको गुनासो छ।
‘म आज पनि विश्व बस्नेत, शिव श्रेष्ठ, भुवन केसी भन्दिन् । विश्व दाई, शिव दाई, भुवन दाई नै भन्छु । हामी समकालिन हौं । यद्यपि, म आजपनि एकदमै कदर गर्छु’ उनले भने, – ‘आज पनि दिनेश शर्मादेखि लिएर धिरेन शाक्य, विराज भट्ट, निखिल उप्रेतीहरूले कति रेस्पेक्ट गर्छन् । नयाँ पुस्तामा पनि यही रहोस् भन्छु ।’
पछिल्लो समय कतिपय नयाँ पुस्ताका कलाकारहरूले अग्रजहरूलाई गर्ने आरोप–पत्यारोपलाई लिएर आफूलाई चित्त नबुझेको अभिनेता लामाले बताए ।
मिडियाका अगाडि झगडा नगर्न लामा नयाँ पुस्ताका कलाकारहरूलाई सुझाव दिन्छन् ।
अभिनेता लामाले थिएटरबाट आएका कलाकारहरूको भने खुलेर प्रशंसा गरेका छन् ।
‘म सुनिल पोखरेल, अनुप बरालहरूलाई थ्यांक यू भन्छु । किनकी उनिहरुका कारण निखारिएका कलाकारहरू पाउन थाल्यौं’ लामा भन्छन्, –‘दयाहाङ राई, विपिन कार्की, सौगात मल्लहरूलाई थ्यांक यू भन्छु । उनीहरुका कारण आज हामीहरूलाई पनि अभिनयमा गाह्रो छ ।’
लामाले आफ्नो शीर्ष भूमिका रहेको चलचित्र ‘अन्तिम संस्कार’लाई नेपालीहरूको कथा भनेका छन् ।
लण्डनमा फिल्म मेकिङ पढेर फर्किएका प्रदीप शाहीको निर्देशन रहेको यस चलचित्रका लागि आफूले २० किलो तौल घटाएको समेत अभिनेता लामाले बताए । ‘मोटाएर १ सय ४ किलो पुगेको थिएँ । पछि ८५ किलोमा झरेँ’ उनले भने ।
आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ चलचित्र साइन गरेको लामाको भनाई छ । सोही कारण आफ्नो लागि यस चलचित्र भावनात्मक हिसाबले पनि विशेष रहेको उनी बताउँछन् ।
चलचित्रको प्रदर्शन मिति भने घोषणा भइसकेको छैन् । चलचित्र विभिन्न अन्तराष्ट्रिय अवार्डमा जाने विश्वास समेत अभिनेता लामाको छ । यस चलचित्रमार्फत विश्व रेकर्ड राख्ने योजना रहेको समेत लामाले बताएका छन् ।
उनको अर्को चलचित्र ‘गोर्खा वारियर’ पनि प्रदर्शनका लागि तयार छ । यस चलचित्रको केही दिनअघि सार्वजनिक टिजरले यतिबेला वाहवाही समेत पाइरहेको छ ।
