
मुखैमा आएको संघ र प्रदेशको सत्ता गुमाएपछिको संसदीय दलको बैठकमा ‘गठबन्धन भाँड्न लाग्ने जर्साब’विरुद्ध बोल्न नपाएपछि कांग्रेसका सांसदले असन्तुष्टि जनाएका छन् ।
२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि यसबारे निर्णय लिने र समसामयिक विषयमा कुराकानी हुने भन्दै कांग्रेसका सांसद सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका थिए । मुखैमा आएको सत्ता कांग्रेसले गुमाउनुपरेपछि आक्रोश बैठकमै व्यक्त गर्ने त्यस्ता सांसदको तयारीलाई सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बेवास्ता गरिदिएका हुन् ।
मुख्य सचेतक रमेश लेखकले अप्रत्याशित राजनीतिक घटनाक्रमले गर्दा कांग्रेस सत्ताबाट विमुख हुनुपरेको र संसदमा जिम्मेवार र सशक्त प्रतिपक्षका रुपमा प्रस्तुत हुने भन्दै केहीबेर बोले ।
संसदीय दलका नेता देउवाले तीन मिनेटजति बोलेपछि बैठक सकिएको घोषणा गरियो । देउवाले जितेर आउने सबैलाई बधाइ दिए । ‘सत्तामा बस्दा पनि नबस्दा पनि संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुनुस् । अब तपाईंहरूको भूमिका झन् बढेको छ’, भन्दै सदाझैं संक्षिप्त भनाइ राखे । ‘जनताको विश्वास डगमगाउन नदिनुस्’, भन्दै देउवाले करिब तीन मिनेटमा आफ्नो भनाइ सकाएका थिए । बैठक अलिबेर चल्ने हिसाबले केही सांसद प्रवेश गर्दैगर्दा बैठक सकिएको थियो ।
त्यसपछि विश्वासको मतबारे संसद बैठक बस्ने दिन पुस २६ गते बिहान ९ बजे संसदीय दलको बैठक गरेर एउटा निर्णयमा पुग्नेसहितका ८ बुँदे विभिन्न निर्णय गर्दै बैठक सकिएको घोषणा प्रमुख सचेतक रमेश लेखकले गरे । यसअघि बैठक बस्ने दिन यस्तो निर्णय गर्ने परम्परा रहेको भन्दै अनिर्णयको अवस्था नभएको पनि प्रष्ट्याए । २५ गतेको प्रतिनिधिसभाको पहिलो बैठकमा के–के हुन्छ भनेर सांसदहरूलाई जानकारी दिइएको उनले बताए ।
अहिलेको गठबन्धन भत्काउने र नयाँ बनाउने हिसाबले कांग्रेसले विश्वासको मतबारे निर्णय लिन ढिलाई नगरेको जिकिर लेखकले गरे । ‘हामी नयाँ गठबन्धन बनाउने र कसैलाई प्रधानमन्त्री बनाउने गरी अघि बढेका छौँ भन्ने होइन’, लेखकले प्रष्ट्याए ।
मुखैमा आएको सरकार केही नेताको हठका कारणले गुमाउनुपरेको विषयमा आलोचना गर्ने तयारी केही सांसदले गरे पनि ४ मंसिरको चुनावमा सबैभन्दा ठूलो दल बनाएको जनता र पार्टी नेतृत्वलाई धन्यवाद दिएर बैठक सकाइयो ।
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गराएकोमा निवर्तमान सरकारलाई धन्यवाद दिने, प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका जनताको विश्वास जित्नेसहितका निर्णय बैठकले ग¥यो ।
तर, सांसदले फ्लोरबाट पहिलो बैठकमा बोल्न नपाएपछि भने असन्तुष्टि जनाए । प्रमुख सचेतकले विषय प्रवेश गराएपछि मञ्चमा रहेका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि बोल्ने मनस्थिति बनाएका थिए । तर, बैठक छोटो समयमै सकाउने र सांसदले बोल्ने वातावरण नहुने भएपछि उनीहरू पनि हच्किएको एक सांसदले जानकारी दिए ।
‘ठूलो पार्टीका रुपमा आउँदा केन्द्रदेखि प्रदेशसम्म हामी बहुमतको नजिक थियौँ । तर, नेताको परिक्रम गर्ने जर्साबहरूको गलत प्रवृत्ति र व्यवहारले कांग्रेस शक्ति भएर पनि आज शक्तिहीन भएको छ’, कांग्रेसका एक सांसदले लोकान्तरसँग भने, ‘पहिलो बैठकबाटै हामी निर्मम समीक्षा गरेर यस्ता नेताको परिक्रमा गर्ने जर्साबहरूले कसरी बिगारे भनेर बोल्न चाहन्थ्यौँ तर आधा घण्टा पनि बैठक नराखेपछि सम्भव भएन ।’
पाँचदलीय गठबन्धन धरापमा पार्न नेताहरू विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, आरजु राणासहितका नेता मुख्य दोषी रहेको भन्दै उनीहरूको आलोचना भइरहेको छ ।
पार्टी नेतृत्वलाई पनि गुमराहमा राख्ने गरी उनीहरूले माहोल बिगारेको भन्दै आलोचना हुने गरेको छ । तत्कालीन सत्ता गठबन्धनलाई बहुमतका लागि ६÷७ सिट नपुगे पनि भएकै मत जोगाउन नसक्नु बिडम्वना रहेको भन्दै नेतृत्वको तीव्र आलोचना भइरहेको छ । ती सांंसदले जर्साबभनेर निधि, महत, कार्की, राणालगायतलाई भनेका हुन् ।
अर्का एक सांसदले पनि बैठकस्थलमा पाइला टेक्न नपाउँदै बैठक सकिएकोले आफू आश्चर्यमा परेको बताए । ‘संसदीय दलको पहिलो बैठक हो । पार्टी पहिलो भएर पनि सबैतिर प्रतिपक्षी कित्तामा पुगेकोबारे नेताहरूले कहाँ के कमजोर भयो भन्नुहोला भन्ने लागेको थियो’, ती सांसद भन्छन्, ‘तर पार्टीले सबैथोक जितेको जसरी प्रस्तुत हुने र धन्यवाद दिएर बैठक सकाइयो । केही साथीहरू त बैठक स्थलमा छिरेलगत्तकै निस्कनुपर्ने अवस्था आइदियो ।’
पहिलो बैठकबाटै विश्वासको मतबारे निर्णय गर्न नसकेपछि महामन्त्री गगन थापाले पनि असन्तुष्टिको भाषा प्रयोग गरे ।
‘संसदमा दोस्रो र तेस्रो दल मिलेर सरकार गठन गर्ने र विश्वासको मत मागेपछि कांग्रेस अब त्यसमा सहभागी भएर विश्वासको मत दिँदैन र दिनु पनि हुँदैन’, बैठकपछि थापाले भने, ‘पार्टीले विश्वासको मत लिने दिन बिहान मात्रै संसदीय दलको बैठक बोलाएको छ । सोही बैठकले कांग्रेसले विश्वासको मतको विपक्षमा उभिएर सशक्त प्रतिपक्षी भएर उभिने निर्णय गर्छ ।’ कांग्रेसलाई प्रचण्डलाई विश्वासको मत दिन्छ भन्ने हल्लाको पनि थापाले प्रतिवाद गरे ।
कहिल्यै चुनाव नजित्ने, समानुपातिकमात्रै खाएर नेतृत्वलाई गलत सल्लाह दिनेका कारण कांग्रेसले ठूलो पार्टीका रूपमा उदाए पनि शक्तिविहीन हुनुको कारणबारे कांग्रेसका नेताहरूले निर्मम समीक्षा गर्ने तयारी गरेका छन् । थापाले पनि गठबन्धन गर्ने र टिकाउन नसक्ने किन भयो भन्नेबारे २८ पुसमा बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने बताए ।
२२ पुसमा नै केन्द्रीय समितिको बैठक डाकिएको थियो । तर, पछि स्थगित गरी एक हप्तापछाडिलाई सारिएको हो ।
कांग्रेसमा ४ मंसिरको चुनावबाट जितेका ८९ मध्ये ५३ जना पुराना र ३६ जना नयाँ अनुहार छन् । जसमा महिला १९ जना छन् ।
संसदीय दलको बैठकले २५ पुसमा बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा मर्यादित पोशाकमा उपस्थित हुन पनि सांसदहरूलाई निर्देश गरेको छ ।