२२ असार २०८३, सोमबार
जेल गएपछि सन्दीपसँग पहिलो साक्षात्कार

सन्दीपको जेलजीवन : दुब्लो-पातलो शरीर, तेरे नामका सलमानजस्तो 'हेयर स्टाइल' !

पुस २७, २०७९
सन्दीपको जेलजीवन : दुब्लो-पातलो शरीर, तेरे नामका सलमानजस्तो 'हेयर स्टाइल' !

बकपत्रका लागि सोमवार जिल्ला अदालत काठमाडौं ल्याइँदा नेपाली क्रिकेट टीम पूर्वकप्तान सन्दीप लामिछाने पहिलाभन्दा निकै दुब्लो अवस्थामा देखिए ।

खरानी कलरको फुल स्वेटर, ट्राउजर, खरानी कलरकै अफ ज्याकेट र कालो जुत्ता लगाएर उनी अदालतमा उपस्थित भएका थिए ।

इजलास नम्बर १४ मा बकपत्रका क्रममा उनी आफ्ना आमाबुवासँगै बसेका थिए । परिवारसँगको भेटघाटले पनि हुनसक्छ उनी हँसिलो मुद्रामा देखिन्थे ।

बलिउड फिल्म ‘तेरे नाम’मा सलमान खानले बनाएको जस्तै हेयरस्टाइल थियो । लामो समयदेखि कपाल र दाह्री नकाटेको प्रस्टै देखिन्थ्यो ।

पातला जुँगा लामा-लामा भएका थिए । बेला–बेलामा आमालाई अँगालो हालेर गफ गरिरहेका देखिन्थे भने कति बेला बुवलाई अंगालो हालेर कुराकानी गर्थे ।

बकपत्र सकिएपछि बेलुका ५ बजे अदालत परिसरबाट बाहिर निस्कँदा बुवासँग अंकमाल गरेर केन्द्रीय कारागारको सेतो पिकअप भ्यानमा बसेका थिए ।

बुवा चन्द्रनारायण लामिछानेले आँखाभरी आँसु लिएर छोरालाई बिदाइ गरे । आमाले पनि आँसु थाम्न सकिनन् ।

छोरामा मानसिक समस्या देखिएको भन्ने समाचार सुनेर चिन्तित बनेका बुवाआमा छोरालाई भेटेपछि ढुक्क भएका देखिए । बुवा चन्द्रनारायणले आफ्नो छोरा स्वस्थ रहेको प्रतिक्रिया दिए ।

‘अवस्था तपाईंहरूलाई नै थाहा छ, अरू त के भनौं,’ चन्द्रनायरायणले भने ।

सन्दीपकी आमाले भने प्रतिक्रिया दिन चाहिनन् ।

सँगै दाजु मोहनलाल लामिछाने पनि थिए । उनले देशको नाम राखेको व्यक्तिलाई समस्या पर्दा राज्यले नहेरेको गुनासो गरे ।

‘भाइले देश विदेशमा नेपालको नाम चिनायो, अहिले सोधीखोजी गर्न समेत कोही पनि आउँदैनन्,’ मोहनलालले लोकान्तरसँग भने ।

बाहिर आएजस्तो स्वास्थ्य समस्या भने नरहेको भन्दै उनले 'भाइ फिट नै छ' भन्ने प्रतिक्रिया दिए ।

कुनै स्वास्थ्य समस्या छैन– जेलर पाण्डे

सन्दीपमा मानसिक समस्या देखिएको भन्ने कुरा सत्य नभएको केन्द्रीय कारागारले जनाएको छ ।

केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले उनलाई अहिलेसम्म कुनै पनि समस्या नभएको बताए ।

‘अहिलेसम्म कुनै त्यस्तो समस्या आएको देखिएको छैन,’ जेलर पाण्डेले लोकान्तरसँग भने, ‘उहाँमा समस्या देखियो भन्नलाई त डाक्टरले प्रमाणित गरेको हुनुपर्‍यो नि ! अहिलेसम्म कुनै पनि डाक्टरले प्रमाणित गरेका छैनन् ।’

जेलर पाण्डेका अनुसार केन्द्रीय कारागारमा आइसकेपछि एकचोटि उनी रुघा लागेर बिरामी परेका थिए । त्यसबाहेक अरू कुनै पनि समस्या नआएको उनले बताए ।

केन्द्रीय कारागारभित्रै ३० बेड क्षमताको अस्पताल छ । कुनै जटिल समस्या देखिएको खण्डमा मात्र बाहिर विशेषज्ञ चिकित्सककोमा रिफर गर्ने गरिएको जेलर पाण्डेको भनाइ छ ।

जेलर परिवारका सदस्यले कुनै पनि समस्या नहरेको बताइरहँदा सन्दीपका कानून व्यवसायीले भने मनोपरामर्श दिइँदै आएको बताए ।

कानून व्यवसायीलाई उद्धृत गर्दै मनोपरामर्शबारे जिज्ञासा राख्दा जेलर पाण्डेले भने, 'बाहिर उहाँ स्टार खेलाडी हो । त्यो स्तरको सेवा सुविधामा रहेको व्यक्ति जेलमा आउँदा केही अप्ठ्यारो महसूस गर्नु वा सामान्य समस्या देखिनु त स्वाभाविकै हो ।'

निगरानीका लागि एक प्रहरी

सन्दीपमाथि प्रत्यक्ष निगरानीका लागि कारागार व्यवस्थापनले एकजना प्रहरी खटाएको छ ।

डिप्रेसनमा गएर आफैंलाई हानी नोक्सानी पुर्‍याउने कुनै गतिविधि नगरून् भनेर निगरानीका लागि प्रहरी खटाइएको कारागार स्रोतको दाबी छ ।

‘बाहिर सेलिब्रिटीले भएर बसेको व्यक्ति जेलमा बस्नु पर्दा आफैंलाई हानी नोक्सानी पुर्‍याउने गतिविधि गर्न सक्छन् भनेर प्रहरी खटाइएको हो,' स्रोतले भन्यो ।

पछिल्लो समय परिवारका सदस्य र उनका कानून व्यवसायीले २ जना मनोपरामर्शदातालाई पठाएर काउन्सिलिङ गराइरहेका छन् । कारागारभित्रै चिकित्सकहरूले पनि उनलाई नियमित मनोपरामर्श दिने गरेका छन् ।

‘उहाँ बाहिर देख्दा हँसिलो देखिए पनि भित्रको अवस्था जेल आएपछि बदलिएको छ, त्यसले पनि मानसिक रूपमा तनावमा रहेको भन्ने देखाउँछ नि,’ सन्दीपका एक वकिलले लोकान्तरलाई भने ।

सन्दीपको दैनिकी : टीभीमा क्रिकेट हेर्ने र दैनिक पत्रपत्रिका पढ्ने

सन्दीपले जेलभित्रै नेपाल लगायत देश विदेशमा हुने क्रिकेट खेलहरू हेरिरहन्छन् ।

पछिल्लो समय नेपालमा चलिरहेको ‘नेपाल टी २० लीग’ पनि उनले हेर्ने गरेका छन् ।

‘जेलभित्र टिभी हेर्ने व्यवस्था पनि छ । त्यसको उपभोग सबै कैदीबन्दीले गर्छन् भने उहाँ (सन्दीप लामिछाने)ले नगर्ने भन्ने त कुरै भएन,’ जेलर ईश्वरीप्रसाद पाण्डेले लोकान्तरसँग भने । 

उनका अनुसार जेलभित्र खेल खेल्नका लागि मैदान, घाम ताप्ने ठाउँ र लाइब्रेरीको पनि व्यवस्था गरिएको छ।

आजभोलि सन्दीपको दैनिकी बिहान पत्रपत्रिका पढ्ने, दिउँसो घाम ताप्ने, क्रिकेट खेल्ने र क्रिकेट हेर्ने गरेर बितिरहेको छ ।

उनले पछिल्लो समय केन्द्रीय कारागारमा योगाभ्यास पनि गर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्